✍️ कृष्णकुमार हेम्ब्या
मंसिरमा नयाँ अन्नबाली पाकेपछि गाउँको रौनक फेरिन्छ । आमाहरुले नयाँ धान भुटेर बनाएको नामस्याको स्वाद बेजोडको हुन्छ । यहीँ समयमा माछाका हूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओह्रालो झरेर चासोक तङ्नाम उधौलीको सङ्केत गदर्छन् ।
हामी जेमा आश्रित छौं, त्यसैलाई श्रद्धाकासाथ पुज्ने हाम्रो विशिष्टता हो । हामी मूलतः प्रकृतिमा विश्वास राख्दछौं । मानव उत्पादन गर्ने मुख्य तत्व वीर्यसमेत अन्नपातको रसबाट बनेको यथार्थलाई मनन गरेर नै हामी मठमन्दिर, मूर्तिभन्दा ढुङ्गा माटो, वनजंगल, खोलानाला, हावापानीजस्ता प्रकृतिका अन्तर्निहित गुण र शक्तिको खुलेआम पूजा गर्दछौं । हामीले मान्दै आएका विद्यमान केही सांस्कृतिक चाडहरुमध्ये चासोक तङ्नाम उधौली प्रमुख हो । अन्य किरात समुदायमा यस चाडलाई, खम्बूराई साकेला, सुनुवार फोलष्याँदर र याख्खाहरुले चासुवा भनेर मनाउँदछन् ।
◾️याक्थुङ मुन्धुमले के भन्छ ?
परापूर्वकालदेखि खेतीपाती गरेर आफ्नो जीवान गुजरा गर्ने हामी आफूले लगाएको अन्नबालीहरु भित्राउनअघि जीवन–जगतको सृष्टि र तिनको संरक्षरण गर्ने तागेरानिङ्वाफुङ र पुर्खाहरुलाई पाकेको नयाँ अन्न चढाई उनीहरुबाट अनुमति लिएर मात्र नयाँ खाने चलन छ । नयाँ अन्न नचढाई खाएमा गाँड निस्कने, आँखा कान दुख्ने बौलाउनेजस्ता अनेकौ रोगहरु लाग्नसक्ने मुन्धुममा पाइन्छ ।
मुन्धुमअनुसार हाम्रा पूर्खा सावा येत्हाङहरु जंगलका बिभिन्न कन्दमूल खानाले अनेकौ रोगको सामना गर्नुपर्योे । समस्याबाट मुक्त पाउन उनीहरुले सर्वशक्तिमान तागेरानिङ्वाफुङ माङको सरण लिए । अन्ततः तागेरानिङ्वाफुङको कृपाले पेना, ताक्मा, तुम्री, पारामा राङ्घामा, लिङ्घामाजस्ता बीउँविजन पाएपछि तिनका चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माले काठको खन्ती र अङ्कुसेको सहयोगले भस्मे फाडेर ती बीउँ छरी अन्न फलाईन । त्यसपछि नै सावा येत्हाङहरुले खेतीपाती गर्न सिके र त्यो उन्नत अन्नले गर्दा रोगव्याधीवाट छुट्कारा पाउनुका साथै उनीहरुको हरेक क्षेत्रमा उन्नती हुनथाल्यो ।
खेती गरेर अन्न उत्पादन गर्न सिकाउने चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माको उपकारी कामदेखि अति प्रभावित सावा येत्हाङहरुले उनको सम्मानार्थ पाकेको अन्न पहिला उनलाई चढाएपछि मात्र आफूहरुले खाने वाचा गरे । त्यसैबेलादेखि नै याक्थुङ समुदायमा चासोक (न्वागी) गर्ने परम्परा थालनी भएको मुन्धुममा वर्णन गरिन्छ । वास्तवमा यो चाडको सम्वन्ध हाम्रा पूर्खाहरुले माटो आवाद गरेको कृषि युग थालनीको पर्व पनि हो ।
◾️चासोक पूजा कि चासोक तङ्नाम
याक्थुङ लाजेमा याक्थुङवाहरु नयाँ अन्न पाकेपछि खासगरी सामूहिक भन्दा घरघरमा अनिवार्य न्वागी पूजा गर्दछन् । न्वागीलाई याक्थुङ भाषामा चासोक भनिन्छ । थुमअनुसार विधिमा सामन्य भिन्नता रहेपनि सबैले येवा फेदाङमाहरुको संलग्नतामा पेना, वत्छा, ताक्मा, तुम्री, पारामा राङ्घामा, लिङ्घामा, क्यावो, सिगेक्वा आदि पाकेका अन्नहरु घरभित्रै माङथान बनाएर केराको पातमा राखि युमा, थेवा, ताम्भुङ्ना तक्सङ्वा, थुङ्दाङ्मा, फाक्मुरा आदि इष्टमाङहरुलाई चढाईन्छ । यसमा पेनाथी, सामस्या, सिगेक्वाखरेङ्जस्ता परिकारहरु पनि चढाईन्छ । फेदाङ्माले माङथानमा राखिएको यावो परिवारका सदस्यहरुलाई फर्काएर हाङवामाङवापछि पूजाको समापन हुन्छ ।
पूजाको समापनपछि आमन्त्रित दाजुभाइ छरछेमिकीहरुबीच अन्नबाली सप्रोस्, रोगव्याध नलागोस, दीर्घायू तथा सुख समृद्धिको शुभकामना आदनप्रदान गरिन्छ । नयाँ अन्नबाट तयार भएको खानपिनपछि सामन्य गफसफ, नाचगान, हाँस ठट्टाहरु गरेर रमाइलो गरिन्छ ।
अहिले फेदाङमाहरुको अभाव, आफ्नै व्यस्तता र खासगरी मान्छेहरुबीच विचारमा आएको परिवर्तन कारण सामूहिक पूजा गरेर उत्सवका रुपमा मनाउने प्रचलनको विकास भइसकेको छ । खासगरी शहरमा बसोवास गर्नेहरुका खेती गर्ने जमिनको अभाव र गाउँमा पनि कतिपयले कृषिको पेशा छोड्दै गएकाले आफै अन्नपात उत्पादन नगरेपछि घरमा पूजा गर्नुभन्दा कुनै माङहिम वा सांस्कृतिक स्थलहरुमा भेला भई सामूहिक पूजा गर्न चलन बढ्दो छ । सामूहिक पूजाकै लागि भेला हुन थालेपछि त्यो रमाइलो भेटघाटमा खाने पिउने, मनोरञ्जनजस्ता सामूहिक क्रियाकलापहरुले राम्रो अवसर पायो र यसलाई महत्पूर्ण चाड (तङ्नाम) का रुपमा लिइएकाले नै चासोक तङ्नाम भनेर मनाइन्छ ।
◾️ क्रान्तिको प्रतीक र जातीय पहिचान
हाल मानवले प्राप्त गरेको सफलता र विकासको आधार कृषिबाट भएको हो । सत्य कुरा के हो भने मान्छेले जस्तोसुकै प्रविधिको विकास गरेपनि अन्नपानीको अर्को विकल्प हुन सक्तैन । त्यही कारण कृषि युगको थालनी भएको यो घटनाक्रम चासोक तङ्नामलाई एक महत्वपूर्ण उत्सवका रुपमा पनि लिइन्छ ।
चासोक तङ्नामलाई दशैंतिहारजस्तो सामान्य चाडका रुपमा मात्र हेर्न मिल्दैन । यो त जातीय पहिचानसँग जोडिएर आएको पुख्यौंली विरासत हो । इतिहासलाई नछली हेर्ने हो भने संसारको प्राय: सबै ठाउँमा जमिनको आवाद जनजातिहरुले गरे । त्यसपछि मात्र गैर जनजातिहरु अरुले आावाद गरेको जमिनमा क्रमश बसाइँ सर्दै आएका छन् । हाम्रै देशमा, एक डेढ सय बर्ष पहिलेसम्म बाहुनहरु कृषि तथा मजदुरजस्ता कामहरु गर्दैनथे । उनीहरुको कार्य विभाजनमा समेत त्यहीँ भनिएको छ । खास कुनै धर्ममा भन्दा श्रममा आस्था राख्ने प्रकृतिवादी जनजातिहरु आदिम युगदेखि प्रकृतिका पुजारी थिए । संघर्षमय जीवन वनजंगलमा, खोलानाला र खेतबारीमा बित्थ्यो । बर्ष भरिको हावाहुण्डरी, असिनापानी, भेलबाढी, किराफट्याङ्रा आदि जंगली जनवारहरुबाट जोगाएर बाली पाकेपछि उनीहरु त्यही अन्न निधारमा र अन्नको बोटको फूल र पात शिरमा सिउरेर खुशीयाली मनाउँदै एकअर्कामा शुभकामना आदनप्रदान गर्थे । अहिले पनि किरातहरु दशैँमा टीका जमरा लगाउने तथा बाली पाके पछि चासोक गर्ने चलन छ । तर कामै नगर्नेहरु पूजाको नाममा बाह्रै महिना अन्न पोलेर नास गरिरहेकाछन् । पछिल्लो समय किरात धर्मको नाममा हाम्रै समुदायका केही आगोमा अन्न पोल्न थालेका छन् ।
◾️‘किरात’हरुको साझा चाड
हाल नेपालको पूर्वाञ्चलमा बसोवास गर्दै आएका आदिवासी जनजातिमूलका राई, सुनुवार, याख्खा र याक्थुङ सगौरव किरातका सन्तान हौं भन्दछन् । किरातहरुको पूर्खा, विकासकाल, संस्कृति धेरै विषयमा विद्धानहरुको राय मिलेको पाईदैन । आफुलाई किरात भन्ने चार समुदायको भाषा, लिपि, रहनसहन तथा संस्कृतिका आधारभूत धेरै विधिहरुमा भिन्नता पाईन्छ । यति हुँदाहुँदै पनि यो चाडलाई आफूहरु किरात हौं भन्ने राई, लिम्बू, याख्खा र सुनुवार सबैले एउटै समयमा भब्यताकासाथ मनाउने भएकाले किरात चाड पनि भनिन्छ । विचारणीय पक्ष के छ भने माङहरुलाई पूजागर्दा अपनाइने विधिहरुमा लिम्बू र याख्खाहरुको मात्र मिल्न आउछ । राई र सुनुवाहरुको आआफ्नै तरिकाले पूजाआजा गर्ने चलन छ ।
के मात्र भन्न सकिन्छ भने, कुनै समय यी चारै जातिहरुका भूगोल र संस्कृहिरु साझा थिए होलान् । समय र विकासको क्रम सँगै सबैले आफ्ना समुदायमा आफै सुहाउदो समाज र संस्कृतिको निर्माण गरे । तर अहिले खास गरी काठमाडौं उपत्यकामा बस्ने चारै जातका किरात मंसिर पूर्णिमा दिन ललितपुरस्थित सानो हात्तिवनको माङहिममा भेला भएर भव्यताका साथ यो चाड मनाउँदछन् । निश्चयदनै यस्ता सामूहिक मान्ने चाडहरुले किरात वन्धुहरुवीच आपसमा सद्भाव र भातृत्वलाई सदृढ गर्नमा अत्यन्तै ठूलो भूमिका खेलेको छ ।
◾️आखिरमा
चासोक तङ्नामले सांस्कृतिक र सामाजिक महत्वका महत्व बोकेकाले हाम्रो जनजीवनमा यसको महत्वपूर्ण र अविच्छिन्न सम्वन्ध रहिआएको छ । एकातिर यस चाडले जातीय पहिचान र संस्कृतिक गौरव बढाउने काम गरेको छ भने अर्को यसले अन्य समुदायबीच सामाजिक सदभाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा ठूलो भूमिका निर्वाह गरेको छ ।