प्रवासमनोरञ्जनयुके विशेष

लन्डनमा हुने १७औँ नेपाली मेलाको सम्पूर्ण तयारी पूरा

लन्डन। बेलायतमा आउँदो ३० अगस्ट आइतबार आयोजना हुने १७औँ नेपाली मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक तमुधिं यूकेले जनाएको छ।

आइतबार मिचेटस्थित आफ्नै भवनमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले मेलाको तयारीबारे जानकारी दिएको हो। विगत वर्षहरूझैँ यस वर्ष पनि नेपाली मेला लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा केम्पटन पार्क रेसकोर्समा आयोजना हुनेछ।

मेला संयोजक तथा तमुधिं यूकेका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने मेलामा नेपालको विविध जातजातिका मौलिक कला, संस्कृति, भेषभूषा, परम्परा, रहनसहन झल्काउने झाँकी, गीत, संगीत तथा नृत्य प्रस्तुत गरिनेछ। विशेषगरी लाखे, मारुनी लगायत मौलिक सांस्कृतिक प्रस्तुतीले दर्शकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आयोजना हुने मेलामा बेलायतस्थित ४२ नेपाली संघ–संस्थाले झाँकीमा सहभागिता जनाउनेछन्। आयोजकका अनुसार केही संस्था अझै थपिन सक्ने सम्भावना रहेको बताएका छन। झाँकी तथा नृत्य प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई प्रदान गरिने एम्बासडर कपको पुरस्कार राशि यस वर्ष १५०० पाउण्ड पुर्‍याइएको छ। प्रथम रनरअपले ७०० पाउण्ड र दोस्रो रनरअपले ५०० पाउण्ड प्राप्त गर्नेछन्। विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी एनआरएनए कप विजेताले ५०० पाउण्ड पुरस्कार प्राप्त गर्नेछन्, जुन अघिल्लो वर्षको ३०० पाउण्डभन्दा बढाइएको हो।

मेलामा नेपाली परिकार, पोशाक, हस्तकला तथा अन्य व्यापार, सेवा र च्यारिटीसम्बन्धी ७५ वटा स्टल रहनेछन्। साथै स्वास्थ्य शिविरको पनि गत वर्ष भण्दा थप व्यवस्था गरिएको आयोजकले जनाएको छ।

संयोजक गुरुङका अनुसार मेला आयोजना गर्न करिब ६१ हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ भने ६४ हजार पाउण्ड आम्दानी हुने अपेक्षा गरिएको छ। मेलाको प्रवेश शुल्क वयस्कका लागि ५ पाउण्ड निर्धारण गरिएको छ भने बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कार पार्किङ शुल्क ५ पाउण्ड तथा कोच/बस पार्किङ शुल्क १० पाउण्ड तोकिएको छ। करिब ११०० सवारी साधन पार्क गर्न मिल्ने व्यवस्था रहेको र कार्डमार्फत पनि भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ।

औपचारिक उद्घाटन कार्यक्रम बिहान ११:२० बजे हुने तय भएको छ। कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। साथै नेपाली तथा विदेशी कूटनीतिक व्यक्तित्वहरूको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ।

अध्यक्ष जुमकाजी गुरुङले धन्यवाद दिंदै मेला सफल बनाइदिन सबै सञ्चारकर्मीहरुलाई आग्रह गरे। मेलामा यसपटक कार प्रवेशद्धार र पार्किङ क्षमता वृद्धि गरिएकाले आगन्तुकलाई सहज हुने विश्वास गुरुङले व्यक्त गरे। शुरुताका उल्लेख्य सञ्चारकर्मीहरु सहभागी हुने गरेको स्मरण गर्दै उनले अचेल संख्या घटेको प्रति चिन्ता व्यक्त गरे।

अध्यक्ष गुरुङले एभरेष्ट म्याराथन पूरा गरेर फर्किएका क्याप्टेन लक्ष्यबहादुर गुरुङको अभियानमा सहयोग गर्न पनि आग्रह गरे। उनले संस्थाले सेप्टेम्बर ११ र १२ मा १०० किमी वाक एवं रन आयोजना गर्न लागेको जानकारी समेत दिए। तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए। उनले प्रचार प्रसारमार्फत मेला सफल बनाइदिन सञ्चारकर्मीहरुलाई अनुरोध पनि गरे।

कार्यक्रममा तमुधिं यूके मिडिया सेक्रेटरी एस के गुरुङले सञ्चारकर्मीहरुको परिचयसहित स्वागत गरे भने तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र उपाध्यक्ष कमल कोने गुरुङले सम्मान गरेका थिए। सोही अवसरमा तमुधिं यूकेले नेपालबाट आएका समाजसेवी तथा कलाकारहरु, अल्डरसटबाट निर्वाचित काउन्सिलर उत्तरबहादुर गुरुङ, आमा समूहकी संस्थापक अध्यक्ष तथा एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ लगायतलाई विशेष सम्मान समेत गरेको थियो ।

प्रेस मिट पश्चात दोस्रो चरणमा नेपालबाट आउनुभएको कलाकारहरू लगायत तमु धी युकेका विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिहरूलाई सम्मान गरिएको थियो भने चलचित्र पेनसन पट्टाको सेपटेम्बर १२ प्रिंसेस हल अल्दर्शोतमा रेड कार्पेट प्रीमियर शो हुने जानकारी तमुधी यूके संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन।

Related Articles

Back to top button