युकेमा आदिवासी चलचित्र महोत्सव २०२६ हुने

लन्डन। “हाम्रो कथा, हाम्रो उत्सव” भन्ने मूल नाराका साथ बेलायतमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव २०२६’ आयोजना हुने भएको छ। नेपाल आदिवासी चलचित्र महासंघ यूकेको आयोजनामा आगामी २७ सेप्टेम्बर २०२६ (आइतबार) अल्डरशटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा उक्त महोत्सव हुन लागेको हो।
बिहान १०:३० बजेदेखि राति ८:०० बजेसम्म सञ्चालन हुने महोत्सवमा बेलायतमा रहेका सम्पूर्ण नेपाली तथा आदिवासी जनजाति संघ-संस्थाहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ। महासंघ यूकेका अध्यक्ष तथा महोत्सवका संयोजक मेजर योगेश कोयू राईले नेपाली मौलिक कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा व्यापक सहभागिताका लागि हार्दिक अपिल गर्नुभएको छ।
महोत्सवमा विभिन्न आदिवासी चलचित्र, वृत्तचित्र तथा लघु चलचित्रहरूको विशेष प्रदर्शनका साथै ‘नेपाली चलचित्र पनोरामा’ समेटिने छ। यसैगरी, उत्कृष्ट चलचित्रहरूलाई सम्मान गर्न ग्रान्ड अवार्ड समारोह, सांस्कृतिक तथा सांगीतिक प्रस्तुति र आमन्त्रित कलाकारहरूसँग रात्रीभोजको समेत व्यवस्था गरिएको छ।
नेपालका विभिन्न समुदायको धनी सांस्कृतिक सम्पदा, झाँकी र जातीय पहिरनको प्रदर्शनलाई विशेष प्राथमिकता दिइने यस कार्यक्रमले आदिवासी भाषाहरू, संस्कृति र कलाको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।
आयोजकका अनुसार कार्यक्रमका लागि विभिन्न श्रेणीका टिकटहरू उपलब्ध गराइएको छ:
साधारण प्रवेश £१५: चलचित्र स्क्रिनिङ र अवार्ड शो प्रवेश।
साधारण प्रवेश + डिनर £५०: चलचित्र स्क्रिनिङ, अवार्ड शो, १ जनालाई रात्रीभोज र सेलिब्रेटीसँग फोटोसुट।
भीआईपी पास £१००: चलचित्र स्क्रिनिङ, अवार्ड शो, आरक्षित भीआईपी सिट, खादा/गम्छा, रात्रीभोज र सेलिब्रेटीसँग फोटोसुट।
भीभीआईपी पास £२००: चलचित्र स्क्रिनिङ, अवार्ड शो, आरक्षित भीभीआईपी सिट, खादा, २ जनाका लागि रात्रीभोज र सेलिब्रेटीसँग फोटोसुट।




