सैँतिस वर्षदेखि व्यवसायिक कृषिमा रमाउँदै थारू

ठाकुरबाबा (बर्दिया), २९ वैशाखः यहाँको बढैयाताल गाउँपालिका–८ फूलपुरका–६८ वर्षीय किसान ईश्वरीप्रसाद थारूले कृषि पेसाबाटै वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ ।
विगत ३७ वर्षदेखि मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आउनुभएका उहाँले माटोमै आर्थिक समृद्घिको सम्भावना देखेपछि कृषि पेसालाई मुख्य आयस्रोत बनाउनु भएको हो । उहाँका अनुसार एक बिघा जमिनमा वार्षिक रूपमा धान करिब ३५ क्विन्टल, आलु १८० क्विन्टल र तरबुजा १५० देखि १६० क्विन्टलसम्म उत्पादन गर्नुहुन्छ । त्यसैगरी, नौ कट्ठा क्षेत्रफलमा लगाइएको काँक्राबाट मात्रै वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गर्नुहुन्छ ।
एक बिघा १० कट्ठामा गरिएको कृषि व्यवसायबाट वार्षिक करिब १३ लाख रुपैयाँ आम्दानी हुने र करिब पाँच लाख रुपैयाँ लागत लाग्ने उहाँको भनाइ छ । उहाँले चार वर्षअघि सुरु गर्नुभएको तरबुजाखेती पहिलो वर्षमै सफल भएपछि थारूले यसलाई निरन्तरता दिनुभएको हो ।
अग्र्यानिक उत्पादन भएकाले ग्राहकहरू सिधै बारीमै आउने र स्थानीयसहित छिमेकी बाँके जिल्लाबाट समेत अवलोकनका लागि आउने गरेका छन् । राष्ट्रपति पुरस्कारबाट सम्मानित किसान थारूले खुला सिमानाका कारण भारतीय तरकारी सस्तोमा भित्रिँदा स्वदेशी उत्पादनले उचित मूल्य नपाउने समस्या रहेको उल्लेख गर्नुभयो ।
उहाँले किसान लक्षित अनुदान, प्राविधिक सहयोग तथा आयात नियमनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । युवाहरू विदेशिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको धारणा राख्नुभो । हाल उहाँले पाँचदेखि सात जनासम्मलाई दैनिक ज्यालादारीमा रोजगारी दिँदै आउनुभएको छ ।




