युकेमा किरात धर्मालम्बीहरूको धार्मिक भेला सम्पन्न

– टेक माबोहाङ्,
अक्सफोर्ड, बेलायत | १८ अप्रिल २०२६, शनिवार किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा बेलायतको अक्सफोर्डस्थित १७गेग् तङ्ङेन साम्यो चुम्लुङ् (१७औँ वार्षिक धार्मिक भेला) भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाको वार्षिक गतिविधि प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष राजेन्द्र खिम्दिङ्ले गर्नु भएको थियो। कार्यक्रमको समुद्घाटन नेपालका १६ औँ राष्ट्रिय विभूति माहागुरु फाल्गुन्नद लिङ्देन तस्विर साथै गुरु–गुरुआमा पामाङ मामाङ्हरूको तस्बिरमा प्रमुख अतिथि संरक्षक तथा शब्दिगुरु तेज मेन्याङ्बो ज्युको हस्तबाहुलीबाट फूल माल्यार्पण गरी तीन पटक सेवा अर्पण पश्चात गरिएको थियो।
उपाध्यक्ष नन्दा चेम्जोङ्ले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण धार्मिक अनुयायी, पदाधिकारी तथा अतिथिहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफल बनाउन सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कार्यक्रमको सञ्चालन सचिव ज्ञानु फुरुम्बो ‘चरपे’ले गर्नु भएको थियो भने सह–सञ्चालन सहसचिव निराज माबोहाङ् (टेक) ले गर्नु भएको थियो।
संस्थाको वार्षिक प्रतिवेदन सचिव ज्ञानु फुरुम्बो ‘चरपे’द्वारा प्रस्तुत गरिएको थियो। आर्थिक प्रतिवेदन सहकोषाध्यक्षद्वय कुमुद नेम्बाङ र मनिस सेर्माको सहयोगमा कोषाध्यक्ष हर्क आङ्देम्बेले प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी माङ्हिम गतिविधिबारे माङ्हिम अध्यक्ष लोचन चोङ्बाङ क्याकले जानकारी गराउनु भएको थियो। साथै सल्लाहकार डा कमला आङदेम्बे आफ्नो संस्थाको सबल दुर्वल पक्षको विचार पेस गर्नु भएको थियो भने सदस्य मिलन मादेन र राज कुमार नुगोले माङ्हिम निर्माणको अवस्था स्थिति वारे प्रश्न गरेका थिए र प्रस्तुत प्रतिवेदनहरू सभाबाट तालीसहित अनुमोदन गरिएको थियो।
सभामा कुल ११ वटा एजेण्डामाथि छलफल तथा निर्णय गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा उपाध्यक्षहरू केबाहाङ चेम्जोङ, तिल लावती तथा लाल लिङ्देनले आफ्नो भनाइ राख्दै रचनात्मक सल्लाह सुझाव दिनु भएको थियो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष राजेन्द्र खिम्दिङ्ले बेलायतमा रहेर पनि किरात धर्मावलम्बीहरूले धार्मिक सेवा, भक्ति र संस्कारलाई निरन्तरता दिइरहेको उल्लेख गर्नु भयो। साथै वर्तमान धर्मगुरु साम्यो थाकु सेइङ् आत्मानन्द लिङ्देन तथा गुरुआमा सांबा पवित्रहाङ्मा लिङ्देन ज्युहरूको धार्मिक उपदेश र निर्देशन अनुरूप विश्व शान्ति तथा मानव एकतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो।
यसैसँग कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।




