गायक स्वयंको शब्द लेखन र संगीत सिर्जना भएको गीत शसक्त हुन्छ

लण्डन, १३ फेब्रुअरी २०२६ । गायक तथा कलाकार कञ्चन थलङले गायक स्वयंले शब्द लेखी संगीत सिर्जना गरेका गीतहरू अझ सशक्त र प्रभावशाली हुने बताएका छन्।
नेपाली समाचारसँगको कुराकानीमा गायक तथा कलाकार थलङले उक्त धारणा व्यक्त गरेका हुन्। उनी हाल आफ्नो सांगीतिक यात्राको क्रममा लण्डन आइपुगेका छन्। सन् २०१२ मा ‘लिम्बुवान आइडल’ को उपाधि जितेसँगै थलङको सांगीतिक यात्रा औपचारिक रूपमा सुरु भएको हो।
आफैंले शब्द लेखी, संगीत भरी र स्वर दिएका उनका करिब आधा दर्जन गीतहरू कालजयी बनेका छन्। ‘चिसो–चिसो छ मौसम’, ‘यो मौसम बेइमानी’ र ‘सित्तल–सित्तल हावा चल्दा’ बोलका गीतहरू अत्यन्तै लोकप्रिय छन्।
थलङले हालसम्म ४५ भन्दा बढी गीतमा स्वर भरिसकेका छन् भने करिब एक दर्जन म्युजिक भिडियोमा मोडलका रूपमा पनि अभिनय गरिसकेका छन्। साथै, ‘थात्थलो’ नामक चलचित्रमा नायकको भूमिका निर्वाह गरी दर्शकको प्रशंसा बटुल्न सफल भएका छन्। गायक तथा कलाकार भनेर चिनिन रुचाउने थलङको जन्म पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा भएको हो। उनले अब विवाहको तयारी पनि सुरु गरेको जानकारी दिएका छन्।




