अन्तर्राष्ट्रिय

बाइडेन र सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उहाँहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत हुनुभएको छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घन्टाको वार्ताका क्रममा उहाँहरूले हात मिलाउनुभयो र ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा टहलिनुभयो ।

चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेबार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउने बारेमा पनि उहाँहरू सहमत हुनुभएको छ ।

चीन र ताइवानको ‘पुनःएकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राख्नुभयो ।

सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन । यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो ।

यद्यपि सन् २०११ देखि नै सीलाई चिनेको उल्लेख गर्दै बाइडेनले क्यालिफोर्नियाको फिलोली एस्टेटमा पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ ।” द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढरूपमा प्रस्तुत हुँदै गएको चीनसँग ‘जोडदार’ तर ‘जिम्मेबारीपूर्वक’ प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो ।

“हामी कुनै पनि फोन उठाउन सक्छौँ, सिधै फोन गर्न सक्छाँै र हाम्रो कुरा तुरुन्तै सुनिनेछ भन्नेबारेमा उहाँ र म सहमत भएका छौँ”, राष्ट्रपति बाइडेनले भन्नुभयो ।

उहाँका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका–चीन सैन्य सञ्चार पुनःस्थापना गर्न ‘आलोचनात्मकरूमा महत्त्वपूर्ण’ थियो । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो ।

दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का साथै आगामी महिना दुबईमा हुने कोप२८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button