समाचार

मिक्लाजुङमा साहित्यिक कार्यक्रम सम्पन्न

२० अप्रिल, मिक्लाजुङ : मोरङको मिक्लाजुङमा कृति विमोचन, विमर्श र रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

मिक्लाजुङ गाउँपालिका मोरङको आर्थिक सहयोग र मिक्लाजुङ साहित्य समाजको नेतृत्वमा प्रकाशन भएको स्थानीय २० बालबालिका र देशका विभिन्न ४५ जना सर्जकहरूका बाल साहित्य सम्बन्धी लेख, रचना समावेश भएको कृति ‘मिक्लाजुङ बाल मधुरस’ कृति विमोचन गरिएको हो ।

उक्त कृति गाउँपालिकाका प्रमुख बबि कुमार राईसहित स्थानीय बाल सर्जकहरूले विमोचन गरेका छन् ।

कृति विमोचनसँगै स्थानीय बाल सर्जक साइप्रिय बराल, सक्षम निरौला, रितु बराइली, शलिना नेपाल र अङ्कित भण्डारीले कविता वाचन गरे ।

कार्यक्रममा बालबालिका र बाल साहित्य सन्दर्भमा मिश्र बैजयन्ती, टीका आत्रेय र रमेशचन्द्र अधिकारीले बहस गरे ।
साथै, कार्यक्रममा विवश बलिभद्र कोइराला, पराजित पोमु र रुमानी कुलुङले कविता वाचन गरे ।

कवि कोइरालाले मेरो बालाई लागेको थियो, गाउँमा के छ ? र मलाई एक्लै छाडिदेऊ शीर्षकका कविता वाचन गरे ।

यसैगरी पोमुले काठको घोडा, कोकोमैन्दो, मद्वारा मेरो निर्माण शीर्षकको कविता वाचन गरे भने कुलुङले याद, सोकेसभित्र-सोकेस बाहिर, लोथा, ढुङ्गाको प्रेम शीर्षकको कविता वाचन गरे ।

कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष राईले मिक्लाजुङको कला, साहित्य र संस्कृतिको विकास र प्रबर्द्धनको लागि स्थानीय सरकार लगानी गर्न तयार रहेको बताए ।

आजको बालबालिका भोलिको देशको कर्णधार भएकाले साहित्य समाजले बालबालिका लक्ष्यित कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै बालबालिकाको उज्ज्वल भविष्यको समेत कामना गरे ।

संस्थाका अध्यक्ष गगन योक्पाङ्देनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Related Articles

Back to top button