समाचार

आवश्यक कानुन सक्दो चाँडो ल्याउने पक्षमा छौँ : मन्त्री राई

काठमाडौँ, ५ वैशाख : रक्षामन्त्री मानवीर राईले सरकारलाई काम गर्न सहज हुने आवश्यक सबै ऐन÷कानुन सक्दो चाँडो ल्याउने पक्षमा रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले राख्नुभएको जिज्ञासाको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको तर्फबाट जवाफ दिँदै मन्त्री राईले भन्नुभयो, “प्रधानमन्त्रीले कानुन बनाउने विषयमा बारम्बार निर्देशन दिँदै आउनुभएको छ ।”

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती सेवाको सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सम्बन्धमा उपसमितिले तयार गरेको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलका क्रममा मन्त्री राईले भन्नुभयो, “विधेयकका केही कुरामा हाम्रा विमति छन्, विमति भएका विषयमा केही दिनभित्र समितिले सहमति गरेरै टुङ्गो लगाउँछ ।”

निजामती सेवासम्बन्धी ऐन बनाउने विषय कुनै राजनीतिक विषय नभएर सबैको साझा विषय भएको उल्लेख गर्दै उहाँले अन्तिममा सबै सहमतिमा पुग्नुपर्ने बताउनुभयो । आगामी वर्खे अधिवेशको सुरुआतमै वैशाख १२ गते नै संसद्मा टेबुल गर्नेगरी विधेयकलाई पूर्णता दिनुपर्ने उहाँको भनाइ थियो ।

Related Articles

Back to top button