साहित्य सिर्जना

चाैथाे इलाम साहित्य महाेत्सव चैत एक गते सुरु

८ मार्च, इलाम । ‘पर्यटनका लागि साहित्य’ नारासहित चैत १ र २ गते इलाममा ‘चौथो इलाम साहित्य महोत्सव’ हुने भएको छ ।

महोत्सवमा नेपाल, भारत र बंगलादेशका ख्यातिप्राप्त लेखक, चिन्तक, कवि, कलाकार तथा राजनीतिज्ञ सहभागी हुने इलाम नगर साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । ‘महोत्सवमा कला-सहित्यसँगै राजनीति र समाजका विविध आयाममा बहस हुनेछन्,’ उनले भने, ‘करिब डेढ दर्जन विभिन्न सत्रमा बहस सञ्चालन हुनेछ भने कविता र गजल साँझका कार्यक्रम पनि समावेश गरेका छौं ।’

सार्वजनिक भएको कार्यक्रम तालिका ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्वप्राध्यापक आनन्द कुमारले पर्यावरण र लोकतन्त्रका विषयमा कि नोट प्रस्तुत गर्नेछन् । पहिलो दिन गाउँको सौन्दर्यमा हाङयुग अज्ञात, कला र अध्यात्ममा टीकाराम यात्री, आनी छोइङ डोल्मा र मीन भामबीच बहस हुनेछ । यस्तै, विभेदविरुद्धका आलापमा पत्रकार दीपक सापकोटाले गायक प्रकाश सपुतसँग बहस चलाउनेछन् । कविताको पहिचान सत्रमा श्रवण मुकारुङ, मिश्र वैजयन्ती र अभय श्रेष्ठसँग पत्रकार फणीन्द्र संगमले संवाद गर्नेछन् ।

मुन्धुम र पर्यावरण विषयमा अर्जुनबाबु माबोहाङ, मोहनसिंह थेबे र सन्ध्या सुब्बा सिङ्गेजाङ्गोसँग प्रदीप मेन्याङ्बोले बहस सञ्चालन गर्नेछन् । सामाजिक सञ्जाल र मूल्य संकट शीर्षकमा पत्रकार रमन पौडेलले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग संवाद गर्नेछन् । यस्तै, पर्यापर्यटन अबको बाटोमाथि छविलाल खतिवडा, विष्णु काफ्ले र प्रवीण खालिङसँग पत्रकार गिरिराज बाँस्कोटोको संवाद रहनेछ ।

पहिलो दिन साँझ नवराज पराजुलीको इलाम कविता कन्सर्ट रहने कार्यक्रम तय गरिएको अध्यक्ष थाम्सुहाङले बताए ।महोत्सवको दोस्रो दिन इलामे इलम : पेसा र पैसा सत्रमा कृष्ण पौडेल, योगेन्द्रमान श्रेष्ठ र गायत्री थेगिमसँग टीका छेत्रीको संवाद हुनेछ । युवा सपना र संघर्ष, डिजिटल युग र सर्जकको अलमल, प्राज्ञिक अनुसन्धानमा पहिचानको पृष्ठ, मन्दाकान्त्रा पात्र विमर्श, युद्धदेखि शान्तिसम्म, जीवन फर्केर हेर्दा, इम्बोडिङ डाइभर्सिटी इन साउथ एसिया थ्रु ट्रान्सलेसन, आशा र निराशाको राजनीति लगायत सत्र पनि सञ्चालन हुनेछन् ।

नेता गगन थापा, नारायणकाजी श्रेष्ठ, गोकर्ण विष्ट साथै लेखक खगेन्द्र संग्रौला, कृष्ण खनाल, पत्रकार बसन्त बस्नेत, राजन मुकारुङ, मुनाराज शेर्मा, केन सुवेदी, शैलेन्द्र अधिकारी, चन्द्र गुरुङ लगायत बहसमा सहभागी हुनेछन् ।

इलाम नगर साहित्य कला संस्कृति प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजना रहने महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र रेडपाण्डा नेटवर्कको सहकार्य रहनेछ ।

Related Articles

Back to top button