समाचारसाहित्य सिर्जना

चतरामा साहित्यिक जमघट सम्पन्न

'केवाफुङकाे गीत' माथि चर्चासँगै एकल कविता वाचन कार्यक्रम

१७ अगष्ट, चतरा । पछिल्लो समय साहित्यिक गतिविधिका कारण चर्चामा आइरहेको बराहक्षेत्र नगरपालिकाकाे चतरामा शनिबार बृहत साहित्यिक जमघट सम्पन्न भएको छ ।

‘ऐतिहासिक चतरा साहित्यिक जमघट ०८१’ नाम दिइएको कार्यक्रममा कवि राेशन परियारकाे एकल कविता वाचन तथा कवि गगन याेक्पाङ्देनकाे पुस्तकमाथि चर्चा भएको थियोे ।

कवि परियार आफ्नो सिर्जना सुनाउँदै ।

वडा नम्बर दुईकाे सभाहलमा भएको कार्यक्रममा धनकुटाका कवि राेशन परियारले सात वटा कविताहरू वाचन गरे । राेशन परियार जसमा ‘वर्षाैपछि’, ‘चाेकमा’, ‘याद आयो भने’, ‘ए कान्छा !’,अदालतमा मतुवा’,सिक्का र नाेट’‘धन्यवाद’ सुनाए । परियारका थप दुई कविताहरू कविहरू सीताराम चन्द्रवंशी ‘समीर’ले ‘नाेकर’ र सबिना बानियाँले ‘नमस्कार’ वाचन गरेर साथ दिए । ती कविताहरू उपर साहित्यकार प्रहलाद भट्टराई ‘पहरेदार’ले टिप्पणी गर्दै मानवीय संवेदनासँगै शिष्ट शैलीमा व्यङ्ग्य वाणीहरू पाइएको बताए ।

‘केवाफुङकाे गीत चर्चामा कवि याेक्पाङ्दन(बीच), कवि अमित थेबे(बायाँ) र सहजीकरण गर्दै कवि प्रकाश दिप्साली राई । साथमा, कवि छबिना लुङ्गेली मगर समेत ।

कार्यक्रम वडा नम्बर २ अध्यक्ष हाेमप्रसाद गाैतमकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमकाे पहिलाे सत्रमा मिक्लाजुङ माेरङका कवि गगन याेक्पाङ्देनकाे कविता सङ्ग्रह ‘केवाफुङकाे गीत’ उपर चर्चा परिचर्चा भएको थियोे । गत वर्षको चैतमा प्रकाशित भएको पुस्तकबारे प्यानल बहसमा कवि एवम् अनुसन्धाता अमित थेवे र कवि छविना लुङ्गेली मगरहरू सामेल थिए । कवि थेबेले २०८० भरि निस्किएको कविता सङ्ग्रहहरूमध्ये याेक्पाङ्देनकाे कृति अब्बल भएको जनाए । त्यस्तै, आदिवासी याक्थुङ समुदायको मिथकीय विम्बहरूकाे प्रयाेग सँग प्रगतिशील मुद्दाहरूमा कृतिका कविताहरूले बाेलेकाे बताए । त्यस्तै, कवि लुङ्गेली मगरले नारी संवेदना र जीवनउपर लेखिएका कविताहरूले सहजै मन छुने बताइन् । बहसलाई कवि प्रकाश दिप्साली राईले सहजीकरण गरेका थिए । माया पब्लिकेसन्सले प्रकाशित गरेको कृतिमा ३८ कविताहरू सङ्ग्रहित छन् ।

जमघटमा उपस्थित सहभागी तथा साहित्यकारहरू।

कार्यक्रमका प्रमुख अतिथि गाैतमले बराहक्षेत्र पवित्र धामसँगै साहित्यकाे पनि भूमि भएको बताउँदै वडा र नगरले साहित्य र भाषाको विकासका लागि सक्दाे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस वर्षको राताे किताबमा समेत साहित्यका लागि निश्चित बजेट छुट्याएर समावेश गरिएको जनाए ।

उक्त कार्यक्रममा भ्वाइस किड्समा सहभागी भइसकेका बाल गायक राजेश परियारले दुईवटा गीतहरू प्रस्तुत गरे । आयोजक चतरा साहित्यिक मञ्चकी अध्यक्ष दीपा मग्रान्तिकाे अध्यक्षतामा भएको कार्यक्रम सचिव वर्षा भण्डारीले सञ्चालन गरेकी थिइन् । उपाध्यक्ष सुदन बस्नेतले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा सह-आयोजक संस्था स्वर्णिम साहित्य समाजका उपाध्यक्ष शरण लिम्बु, तेह्रथुमकी कवि सुष्मा दाहाल, गजलकार राेमु अधिकारी लगायतले मन्तव्य दिए ।

जमघटमा चर्चित कवि एवम् अनुवादक चन्द्र गुरुङ, कविहरू केजी सुब्बा, विशाल नाल्वाे, सिजन श्रेष्ठ, तिर्थ विश्वकर्मा, सविता फागाे चाेङवाङ लगायतको उपस्थिति रहेको थियोे । मञ्चको स्थापना वि.सं. २०८० मा भएको हाे । स्थापनाकाे छाेटाे अवधिमै मञ्चकाे समूहले पुस्तक चर्चा, सिर्जना वाचन कार्यक्रम आयोजनासँगै नगरकाे साहित्यिक क्रियाकलापहरूमा सक्रिय रहँदै आएको छ ।

Related Articles

Back to top button