समाचार

ताप्लेजुङ छिर्ने बाटोमा अनिश्चितकालीन यातायात बन्द

माग पूरा नभएसम्म बन्द यथावत रहने

२८ जनवरी, धनकुटा । मुक्कुमलुङ/सेमुक्तगाेक (पाथीभरा) क्षेत्रमा केबुलकार निर्माणकाे विराेध गर्दै आएका आन्दोलनकारीहरूले ताप्लेजुङ जाने सबै नाका ठप्प पारेका छन् ।

मङ्गलबार बिहानैदेखि संयुक्त सङ्घर्ष समितिले माघ १५ गतेदेखि ताप्लेजुङ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्द गर्ने घाेषणा गरेअनुरुप नाका ठप्प पारेको हाे । यसअन्तर्गत तमाेर करिडाेर, मेची लाेकमार्ग र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने मार्ग बन्द गरिएको नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले बताए ।

तमाेर मूलघाटस्थित बेलिब्रिज पुल ।

‘ताप्लेजुङको मुन्धुमी स्थल सेमुक्तुगाेक्/मुक्तिफाेमाङ/मुक्कुमलुङ क्षेत्रमा निजी कम्पनीले जबर्जस्ती केबुलकार निर्माण गर्ने क्रममा गत माघ १२ गते सुरक्षाकर्मीले आन्दोलनकारीउपर दमन गरेकाे विराेधमा बन्द गरेका हाैँ,’ अध्यक्ष पालुङवाले बताए ।

ताप्लेजुङ छिर्ने बाटाेमा अनिश्चितकालीन यातायात बन्दका क्रममा तमाेर करिडर ठप्प भएको थियोे । केबुलकार खारेजी आन्दोलनसँग सम्बद्ब सङ्गठनहरूका सय बढी कार्यकर्ताहरूले धनकुटाकाे मूलघाटछेउ हुँदै सुरु हुने तमाेर करिडाेरमा कुनै पनि यातायात सञ्चालन गर्न दिएका थिएनन् ।

पान्थरकाे हेंवा खाेलामा रहेका प्रदर्शनकारीहरू ।

माघ ८ गते बटम स्टेसनका लागि डाेजर चलाउन थालेपछि सङ्गठित भएका आन्दोलनकारीमाथि माघ १२ गते बेलुकी सशस्त्र प्रहरीले कुटपिटसँगै गाेली प्रहार गरेको थियो । शनिबार ताप्लेजुङमा दाेहाेराे झडप हुँदा सशस्त्र प्रहरीको गाेली लागेर आन्दोलनकारीतर्फ छ जना घाइते भएका थिए । जसमा सगुन लाओती, यम बहादुर सुक्वाबा लिम्बु मङ्गल लाओती, धर्मेन पालुङ्वा, धाेजनारायण साँवा, विशाल लिम्बु घाइते भएका थिए । तीमध्ये आन्दोलनकारी सगुन, यमबहादुर र मङ्गलकाे स्वास्थ अवस्था गम्भीर रहेको छ ।

यसैगरी, पहिचानवादी माेर्चाका केन्द्रीय सदस्य एवम् तमाेर करिडोर कमान्डका नेता जेन्टल लाओतीले माग पूरा नभएसम्म बन्द जारी रहने बताएका छन् । गाेली काण्डमा संलग्न प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सशस्त्र प्रहरी इञ्चार्जकाे कार्वाही, घाइतेहरूकाे उपचार, केबुलकार निर्माणका क्रममा तल्लो फेदीबाट उपकरण र प्राविधिक फिर्ता, सशस्त्रका प्रहरीको चेकपोस्ट फिर्ता हुनुपर्ने माग राखेको उनले जनाए ।

Related Articles

Back to top button