आदिवासीसमाचार
Trending

आन्दोलनकारीहरूले ग्लाेबल आईएमई बैंक घेराउ गर्दै

माघ १५ गतेदेखि ताप्लेजुङ छिर्ने बाटोमा अनिश्चितकालीन यातायात बन्द

२७ जनवरी, विजयपुर । मुक्कुमलुङ/सेमुक्तगाेक (पाथीभरा) क्षेत्रमा केबुलकार निर्माणकाे विराेध गर्दै आएका आन्दोलनकारीहरूले ग्लाेबल आईएमई बैंक घेराउ गर्ने भएका छन् । साेमबार पूर्व र काठमाडौं रहेका शाखाहरू शान्तिपूर्ण धर्ना दिँदै विराेध गर्ने कार्यक्रम तय भएको छ ।

केबुलकार निर्माण गर्ने कम्पनी पाथीभरा देवी दर्शन प्रालिका मुख्य शेयर हाेल्डर रहेका चन्द्र ढकाल आइएमई ग्लाेबल बैंकका अध्यक्ष एवम् संस्थापक हुन् । नेपालका दर्जन ठाउँमा बन्न लागेको केबुलकारमध्ये ढकाल समूहले सात ठाउँमा अनुमति पाएकाे छ  ।

माघ ८ गते बटम स्टेसनका लागि डाेजर चलाउन थालेपछि सङ्गठित भएका आन्दोलनकारीमाथि माघ १२ गते बेलुकी सशस्त्र प्रहरीले कुटपिटसँगै गाेली प्रहार गरेको थियो । जहाँ पाँच जना सख्त घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते तीन जनाकाे काठमाडौंमा उपचार भइरहेको छ । सुरक्षाकर्मीतर्फ पनि २१ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

मुक्कुमलुङ/सेमुक्तुगाेक् पवित्र मुन्धुमी स्थल भएकोले साँस्कृतिक र राजनीतिक प्रतिरोध भइरहेको अभियन्ता एवम् पहिचानवादी माेर्चाका नेता जेन्टल लाओतीले बताए । उनले साेमबार लिम्बुवान क्षेत्र र सङ्घीय राजधानी काठमाडौंमा रहेका बैंककाे शाखाहरूकाे घेराउ गर्ने कार्यक्रम रहेको जनाए ।

त्यस्तै, जसपा नेपाल धरानका उपाध्यक्ष सुमन चेम्जोङले साँस्कृतिक आन्दोलनमा सम्पूर्ण समुदाय, वर्ग र क्षेत्रलाई सहभागी हुन अपिल गरे । उनले केबुलकार निर्माणकाे कार्य खारेजी नभएसम्म आन्दोलन नराेकिने बताए ।

यसैगरी, संयुक्त सङ्घर्ष समितिले माघ १५ गतेदेखि ताप्लेजुङ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्द गर्ने घाेषणा गरेको छ । जसअन्तर्गत, मेची लाेकमार्ग, तमाेर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू पर्छन् ।आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै तल्लाे फेदीबाट उपकरण र सुरक्षाकर्मी फिर्ता नभएसम्म, दाेषीउपर कार्वाही र केबुलकार निर्माणकाे कार्य नराेकिएसम्म आन्दोलन जारी रहने बताएको छ । मुक्कुमलुङ संयुक्त संघर्ष समितिलगायत घटकहरू विगत साढे पाँच वर्षदेखि आन्दोलनरत रहेको छ ।

Related Articles

Back to top button