समाचार

यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।



सो अवसरमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री, डा विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि तथा पशुपक्षी एवं वन तथा वातावारणमन्त्री, डा दीपक साह श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिनुभएको थियो ।

यसैगरी, रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने हाल प्रधानमन्त्री शाहले आफैँ सम्हाल्नुभएको छ । राष्ट्रपति पौडेलले आजै बिहान शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ठ श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

Related Articles

Back to top button