धनकुटामा ‘रगतको तर्पण’ माथि बहस

१९ जनवरी, धनकुटा । पश्चिम रोल्पाका कवि प्रेमप्रकाशकृत रगतको तर्पण कविता सङ्ग्रहमा माथी धनकुटामा बहस सम्पन्न भएको छ । कवि उत्तम तुम्सा लिम्बुको सहजकर्तामा वक्ताहरू मुकुन्द प्रयास, के.जी सुब्बा र सावित्रा राई रहेका थिए ।
सङ्ग्रहभित्र भएका कवितामा कविले उठाउन खोजेको विषयवस्तु र भौगोलिक अथवा सांस्कृतिक मिथमा पूर्व र पश्चिमको तात्त्विक भिन्नताबाट विषय चिर्दै सुरु भएको बहसमा नेपाली साहित्यमा यस सङ्ग्रह र कविको स्थान कहाँ र कस्तो स्थितिमा छ भनेर टुंगिएको थियो ।
नयाँपन र फरक स्वादको कृति पूर्वले पढ्न पाएकोमा तीनैजना वक्ताहरूको एक स्वर रहयो । अदृश्य तरिकाले पढिरहेको, सुनिरहेको रोल्पालाई केही हदसम्म बुझ्न पनि सो कृति पढ्नु पर्ने वक्ताहरूको भनाइ थियो ।
‘यस कृतिको सबभन्दा सुन्दर र बकवास पक्ष के छ ?’ उत्तम लिम्बुको अन्तिम प्रश्नको जवाफ दिदै सबै वक्ताहरूले कृति पढन लाएक र पढ्नै पर्नेको सुचीमा राख्दै । बकवास भन्ने कुनै पनि कवितामा नरहेको उल्लेख गर्दै । बरु त्यो बकवासवाला प्रश्न नै बकवास रहेको वक्ताहरूले धारणा राखेेका थिए ।

मिसन पोएट्री मुल आयोजक रहेको उक्त कार्यक्रमको सह-आयोजकमा सम्भव समूह रहेको थियो ।