आदिवासी

दशैं मान्न अस्वीकार गरेको कारण झूण्डाई मारिएका राम्लिहाँङ र रिदामको स्मृति सभा सम्पन्न

लण्डन,
दशैं मान्न अस्वीकार गरेको कारण झूण्डाई मारिएका राम्लिहाँङ आठपहरिया र रिदाम आठपहरियाको १५७ औं स्मृति सभा सम्पन्न भएको छ ।

युकेको आसफोर्डमा भेला भई साँस्कृतिक सहिदद्धय आठपहरियाको सम्झना र सम्मानमा स्मृति सभा हिजो ११ अक्टोबरका दिन गरिएको थियो । सहिदद्धयको फोटोमा खदा र पुष्पगुच्छा चढाएर सम्झना गरिएको थियो ।

स्मृति सभा एवं अन्तरक्रियात्मक कार्यक्रममा अध्येता लाहाङ चेम्जोङ, ज्ञानु फूरुम्बो, सुरेन्द्र थेवे, पदम चाम्लिङ, विश्वास दीप तिगेला र गणेश पुनले आआफ्नो विचार राखेका थिए ।

दशैं परित्याग तथा मौलिक चाड संचेतना मञ्चको आयोजनामा भएको सो कार्यक्रमको प्रमुख अतिथि गणेश पुन रहनु भएको थियो । वक्ताहरुले चरणगत अभियानमा लाग्नुपर्ने विचार ब्यक्त गरे । स्वयं आफैले बाँध्यता वा कुनैपनि कारणले दशैं मनाउन परेपनि आफ्नो बालबच्चाहरुलाई चाहि दर्शैको प्रभाव नदिन आग्रह गरेका छन । बच्चाहरुलाई दशैंको प्रभाव पर्न नदिने हो भने दोस्रो पुस्ता पछि स्वतः दशैंको प्रभाव नरहने विचार ब्यक्त गरे ।

दशैं टिकाकै दिन धनकुटाको चुलिबनमा सहिदद्धयको मूर्तिमा सम्मान ब्यक्त गर्ने कार्यक्रम रहेको छ । दशैं टिकाको दिन कतिले टिका लगाईरहेका हुन्छन भने केही चाहि टिका लगाउन नमान्ने, दशैं मान्न नमान्ने सहिदको सम्झनामा स्मृतिसभा गरिरहेको भेटिन्छ ।

मञ्चले अपिल समेत जारी गरेको छ । हेर्नुहोस जस्ताको तेस्तै ।

दासी मनोबिज्ञान बनाउने, रिणमा डुबाउने, औपनिवेशिक दशैं त्यागौं,
दशैंको प्रभावमुक्त पहिलो पुस्ता निर्माण अभियानमा सहभागी बनौं ।”

अपिल

यस बर्ष पनि दशैं भित्रि सकेको छ । हिन्दु चाड दशैं संस्कृति गैर हिन्दुहरुमाथि लामो समय देखि लादिएको कारण गैरहिन्दुहरु पछाडी परेका छन, शोषण र दमनमा परेका छन् । साँस्कृतिक औपनिवेशको आयाम प्रत्येक्ष र अप्रत्येक्ष भयानक र भयावह स्थितीमा रहेको छ, त्यसैले हिन्दु औपनिवेशीकरणबाट मुक्ति पाउनको निमित्त गैरहिन्दुहरुले मुख्य चाड दशैंलाई परित्याग गर्दै, आआफ्नो मौलिक संस्कृतिको चाडलाई प्राथमिकता दिन आवश्यक छ ।

नेपालमा बहूदल भित्रिएसँगै शुरु भएको दशैं बहिष्कार तथा परित्याग अभियानबाट महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् । ति उपलब्धिहरुको रक्षा गर्दै अझ सिर्जनात्मक हिसाबबाट अघि बढौं । दशैंको एकहोरो विरोध, बहिष्कारले मात्र निकास निस्कन्दैन त्यसैले ससानो कामबाट ठूलो परिवर्तन गर्न सकिन्छ । दशैं परित्याग छोटो समयमै सबै गैरहिन्दुहरुबाट सम्भव नहोला तर नयाँ पुस्तामा दशैंको प्रभाव नदिने हो भने हाम्रो समाजमा गढेर बसेको दशैं संस्कृति स्वतः हट्दै जानेछ त्यसैले, यसै पटक बालबच्चा केन्द्रीत चरणगत अभियानको निमित्त आब्हान गरिन्छः

पहिलो चरण अन्तर्गतः १. जसले दशैं छोडीसके, निरन्तर बहिष्कार र परित्यागमा छन सो कार्यलाई निरन्तरता दिन आग्रह गर्दै बाँकीलाई पनि दर्शै परित्यागको शुरुवातलाई अपिल गर्ने । २. दशै परित्याग तथा बहिष्कार प्राविधिक रूपबाट गर्न नमिल्ने वा नसक्नेले कम्तिमा आफ्ना ससानो नानीहरूलाई चाहि टिका नलगाई दिने, दशैको प्रभाव उनीहरुमा पर्न नदिने । वि.स. २०४६/४७ मै यो अभियान चलाएको भए दशैंको प्रभाव नपरेको एक पुस्ता बनि सक्थ्यो । ३. छोरी चेलीहरुलाई दशैं बखत नआउन र नबोलाउन भनी अगावै जानकारी गराउने र आआफ्नो चाड चासोक तङनाम, उधौली, उभौली, लोसार लगायतहरुमा भेटघाट गर्ने । ४. राज्यद्धारा सिमान्तकृत गैरहिन्दु आदिवासी, दलित, मुस्लिमहरुले रिण काढेरै दशैं मनाउनाले उनीहरु झनै प्रतिदिन गरिब बन्दै गएको परिपेक्ष्यमा कम खर्चिलो तरिकाले दशैं तथा आआफ्नो चाड मनाउन आग्रह गर्नेे । ५. दशैं टिकाको दिन विश्वब्यापी रुपमा आआफ्नो ठाँउमा जेजति सकिन्छ भेला भएर दशै मान्न अस्वीकार गरेबापत झूण्डाई मारिएका साँस्कृतिक सहिद राम्लिहाँङ र रिदामाको स्मृतिसभा गर्ने । ६. दशै चाड हिन्दु नेपालीहरुको हो, सबै नेपालीको होइन त्यसैले दशैको शुभ कामना कार्ड बनाउन आवश्यक महसुश भएमा “दशैंको शुभ कामना” मात्रै भन्ने, “नेपालीहरुको महान चाड” भनेर गल्ति नगर्ने । ७. मौलिकताको मर्मलाई ख्याल गर्दै दशैंको विकल्पको रुपमा आआफ्नो चाडपर्वको विकास गरि साँस्कृतिक औपनिवेशबाट बचाउनको निमित्त सम्बन्धित जातिय उत्थान संस्थाहरुलाई आग्रह गर्ने, आवश्यकता भएमा सहयोग गर्ने । ८. दशैं बखत हिन्दु साथीको डियुटी÷सहयोग गरिदिने जसको कारण उसले मज्जाले आफ्नो चाड मनाओस र आफ्नो चाडमा हिन्दु साथीलाई डिउटीको लागि आग्रह गर्ने ।

दीर्घकालिन योजना अन्तर्गतः ९. सबै धर्म र संस्कारलाई समान मान्यता र समान अवसर प्रदान गर्न नेपाल सरकारलाई निरन्तर दबाब दिने । १०. यो बर्ष अभियानको नारा बालबच्चा केन्द्रीत तयः “दासी मनोबिज्ञान बनाउने, रिणमा डुबाउने, औपनिवेशिक दशैं त्यागौं, दशैंको प्रभावमुक्त पहिलो पुस्ता निर्माण अभियानमा सहभागी बनौं ।”

दशैंमा हजारौ, लाखौ संख्यामा पशुपंक्षिका बलि चढाउदा रगतले धर्ति सिँचिन्छ जुन बौद्धमार्गीहरुको निमित्त असह्य पीडाको कुरा भएकोले ति मारिएका पशुहरुले मुक्ति पाउन भनेर हेलम्बु, नारकोटे गाँउको थोकतेन दोङाक छलिङ गुम्बामा प्रत्येक बर्ष नवरात्रीको दिन ञ्युङ्ने कर्मको पुजा गरिने कार्यको सम्मान गरौ, अनुकरण गरौ । सहिदद्धयको जन्मभूमि धनकुटा चुलिबनमा प्रत्येक बर्ष हुने स्मृतिसभामा सहभागी बनौं, देशविदेशमा पनि विभिन्न माध्ययमबाट गरिन्दै आएको स्मृति सभालाई अझ ब्यापक बनाऔं । दशै मान्न अस्वीकार गरेबापत झूण्डाई मारिएका साँस्कृतिक सहिद राम्लिहाँङ र रिदामाको स्मृतिसभा दशैं टिकाकै दिन आयोजना गर्न हार्दिक अपिल गर्दर्छौ ।

– दशैं परित्याग तथा मौलिक चाड संचेतना मञ्च
direct.letter@gmail.com
११ अक्टोबर २०२४ तद्नुसार २५ असोज २०८१

Related Articles

Back to top button