१२ अगष्ट, चतरा(सुनसरी)। बराहक्षेत्र नगरपालिकाकाे चतरामा साहित्यिक जमघट हुने भएको छ । चतरा साहित्यिक मञ्चले यहीँ भदाै एक गते एकल कविता वाचन तथा पुस्तक चर्चा कार्यक्रम राख्न लागेको हाे ।
वडा नम्बर दुईकाे सभाहलमा आउँदाे शनिबार बिहान ११ बजेबाट सुरु हुने ‘ऐतिहासिक चतरा साहित्यिक जमघट ०८१’ मा धनकुटाका चर्चित कवि राेशन परियारकाे एकल कविता वाचन कार्यक्रम हुँदैछ । उनले दर्जन बढी सिर्जना सुनाउनेछन् । कवि परियारलाई कविहरू सीताराम चन्द्रवंशी ‘समीर’ र ममता घिमिरेले साथ दिनेछन् । त्यस्तै, साहित्यकार प्रहलाद भट्टराई ‘पहरेदार’ले टिप्पणी गर्नेछन् । कार्यक्रम वडा नम्बर २ अध्यक्ष हाेमप्रसाद गाैतमकाे प्रमुख आतिथ्यमा सम्पन्न हुने आयोजक मञ्चकी अध्यक्ष दीपा मंग्रातिले जनाइन् । उनले सिङ्गो बराहक्षेत्र नगरसँगै चतराकाे साहित्यिक गतिविधि बढाउन कार्यक्रम गर्न लागिएको प्रष्ट पारिन् ।
त्यस्तै, साेही दिनकाे अर्को सत्रमा कवि गगन याेक्पाङ्देनकाे कविता कृति ‘केवाफुङकाे गीत’ उपर पनि विमर्श हुने भएको छ । गत वर्षको चैतमा प्रकाशित भएको पुस्तकबारे हुने प्यानल बहसमा कवि एवम् अनुसन्धाता अमित थेवे र कवि छविना लुङ्गेली मगरहरू सामेल हुनेछन् । बहसलाई कवि प्रकाश दिप्साली राईले सहजीकरण गर्नेछन् । माेरङ मिक्लाजाेङका कवि याेक्पाङ्देन र बराहक्षेत्रकै कवि मगर दुवै पाेयट आइडल सिजन एकका अन्तिम चरणसम्म पुगेका सर्जकहरू समेत हुन् ।
कार्यक्रममा बाल गायक राजेश परियारले समेत प्रस्तुति दिने मञ्चकी सचिव वर्षा भण्डारीले जनाइन् । उनले पूर्वका विभिन्न क्षेत्रबाट साहित्यकार, सर्जक र कलाप्रेमीहरूकाे सहभागिता रहने उल्लेख गरिन् । मञ्चको स्थापना वि.सं. २०८० मा भएको हाे । स्थापनाकाे छाेटाे अवधिमै मञ्चकाे समूहले पुस्तक चर्चा, सिर्जना वाचन कार्यक्रम आयोजनासँगै नगरकाे साहित्यिक क्रियाकलापहरूमा सक्रिय रहँदै आएको छ ।
कार्यक्रमकाे सह-आयाेजकका रूपमा स्वर्णिम साहित्य समाज बराहक्षेत्र-२ रहेको छ । त्यस्तै, मिडिया पार्टनरका रूपमा पूर्वी खबर, नानाे खबर र न्यानाे अनलाइन रहेका छन् । त्यस्तै, लिङ्क प्रिन्टिङ प्रेसले डिजाइनमा साथ दिएको छ ।