समाचार

राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैनः सभापति लामिछाने

काठमाडौँ, ३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

रास्वपाले आज यहाँ आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा उहाँले राजनीतिक नियुक्तिको प्रभावलाई अन्त्य गर्न स्वायत्त निकायको स्थापना र स्वतन्त्र रुपमा काम गर्न सक्ने योग्य विज्ञ व्यक्तिको नियुक्ति हुनुपर्नेमा जोड दिनुभयो ।

रास्वपाको अर्थनीति विभाग र उद्योग तथा वाणिज्य विभागद्वारा आयोजित अन्तक्र्रियामा पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिले मुलुकको सुशासनमा प्रभाव पर्ने धारणा राख्नुभयो । रास्वपाले कार्यकर्ता र भातृसंस्थाको भारी नबोक्ने स्पष्ट पार्दै उहाँले पार्टीभित्रै योगदान दिएका आधारमा नियुक्ति माग्ने प्रवृतिको अन्त्य हुनुपर्छ भन्नुभयो ।

क्रेडिट रेटिङ एजेन्सीबारे चर्चा गर्दै सभापति लामिछानेले रु ५० करोडभन्दा माथिको कर्जा रेटिङ गर्ने एजेन्सीहरुको नियमनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “यी रेटिङ एजेन्सीलाई कसले हेर्ने ? त्यसको नियमन गर्ने निकाय को ? यस्ता एजेन्सीमा केही सीमित घराना हावी छन्”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं रास्वपाको उपसभापति स्वर्णीम वाग्लले विदेशी मुद्राको सञ्चितिको सदुपयोगमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वित्तीय नियमनलाई समयअनुकूल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले आधुनिक विश्वमा डिजिटल मुद्रा जस्तै पैसाप्रतिको अवधारणा र यसको नियमनलाई नयाँ शिराबाट बहस हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले केन्द्रीय बैंकको डिजिटल मुद्रा (सिबिडिसी)को भविष्यमा नेपालमा प्रयोगको सम्भावना र तयारीबारे समेत सचेत गराउनुभयो ।

अन्तक्र्रियामा आउँदै गरेको मौद्रिक नीतिबारे बहस गरिएको थियो । अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, इक्रा नेपालका व्यापार प्रमुख वर्षा श्रेष्ठ र पूर्व बैंकर भुवनकुमार दाहाल सहभागी हुनुहुन्थ्यो ।

Related Articles

Back to top button