साहित्य सिर्जनास्थानीय

कवि पराजित पाेमुकाे कवितामा गुञ्जियाे बराहक्षेत्र

३० सेप्टेम्बर, भराैल(सुनसरी) । इतर कविता अभियानका प्रवर्तक कवि पराजित पाेमु शनिबार बेग्लै अवतारमा प्रस्तुत भए । प्रायः जसाे अन्य सर्जक कविहरूलाई स्थान दिइरहने पाेमुले भने सुनसरीको बराहक्षेत्र नगरपालिकामा पहिलोपटक एकल कविता सुनाउने मञ्च पाए ।

स्वर्णिम साहित्य समाजले आफ्नो चाैथाे साधारणसभाकाे अवसर पारेर कवि पाेमुलाई एकल कविता वाचन कार्यक्रममार्फत् श्राेतासमक्ष उभ्याएकाे थियोे । साविक भराैल र हाल बराहक्षेत्र नपाकाे वडा नम्बर तीनकाे सभाहलमा भएको कार्यक्रममा चार दर्जन सर्जक, राजनीतिज्ञ, सामाजिक अभियन्तामाझ ताप्लेजुङे कविले दर्जन बढी रचना सुनाए ।

‘असहमति’ बाट पाठ गर्न सुरु गरेका कवि पाेमुले ‘उपस्थिति’, ‘साधारण मान्छे’, ‘सुधार गृह’, ‘अभिवाज्य पूर्णता’, ‘ओम् मणि पेमे’, ‘राम्रो म’, ‘फिलिङ्गाे फूल’, हिउँ परेको रात’, ‘मद्वारा मेरो निर्माण’ सुनाए । उनलाई कवि वर्षा भण्डारीले ‘माैन प्रेम’, कवि नदी राईले ‘नायुमा’ र कवि सविता फागाे चाेङवाङले ‘अँध्यारोकाे आकृति’ कविता वाचन गरेर साथ दिए । कविताउपर कवि देवान किरातीले समीक्षा गर्दै वैचारिक पक्षमा पाेमुका कविताहरू बलियो रहेपनि कला पक्षमा अझै काम गर्न सकिने भनी टिप्पणी गरे । उनले अहिलेका नयाँ कविहरूमा धैर्यता र साधना गर्ने गुण लाेप हुँदै गएको भन्दै कटाक्ष गरे ।

करिब आठ महिनाअघि दक्षिण काेरियाबाट फिरेका पाेमुका ‘लेप्मुहाङकाे डुङ्गा’ र ‘मद्वारा मेरो निर्माण’ कविता कृति प्रकाशित छ । उनले ३३८ कविहरूका सिर्जना समेटिएको ‘इतर कविता’, ‘भुइँ मान्छेका आवाज’, काेरिया र नेपाली भाषामा प्रकाशित ‘याे मेसिनको सहर’ कविता सङ्ग्रहहरू समेत सम्पादन गरेका छन् ।

कार्यक्रममा सहभागी सर्जक र अतिथिहरू ।

वडा नम्बर तीन अध्यक्ष राजदीप लामाकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि कवि चन्द्र गुरुङ रहेका थिए । प्रमुख अतिथि लामाले साहित्यमार्फत् बराहक्षेत्रका सर्जकहरूले राष्ट्रियस्तरमा नगरपालिकालाई चिनाइरहेकाे भन्दै प्रशंसा गरे । उनले साहित्यकाे विकास र समृद्धिका लागि थप बजेट विनियोजन गर्ने आश्वासन समेत दिए । समाजका अध्यक्ष प्रकाश दिप्साली राईको अध्यक्षतामा भएको कार्यक्रममा कवि गुरुङ, कवि अमित थेवे, शिक्षासेवी केशव पुरी, स्वर्णिम साहित्य समाजका पूर्व अध्यक्ष निरज राई, पूर्व वडा अध्यक्ष रुद्र दाहाल, देवेन्द्र विष्ट लगायतले बाेलेका थिए । त्यस्तै, कालिम्पाेङका कवि विशाल नाल्वाे, रङ्गकर्मीहरू साेनु जयन्ती, प्रज्जवल पराजुली,  कविहरू करुणा राई, छविना लुङ्गेली मगर, इन्दु याेञ्जन, रविन्द्र केदेम, नवराज विष्ट, दीपा मग्राती, सञ्चारकर्मी सुम्निमा चाम्लिङ, त्रिभुवन काफ्ले लगायतकाे उपस्थिति रहेको थियोे ।

साधारणसभामा समाजका अध्यक्ष दिप्सालीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष शारदा निरौला सारुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा कोषाध्यक्ष सारुलाई सङ्गठनका लागि महत्त्वपूर्ण योगदान दिएको भन्दै नगद पाँच हजारसहित सम्मानित गरिएको थियोे । सभालाई सचिव लक्ष्मण कटुवालले सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button