साहित्य सिर्जना

कलरवले ‘सिलीदुङ’ कृतिउपर विमर्श गर्दै

१ मार्च, विजयपुर । कवि गीलु राताेसकाे ‘सिलीदुङ’ कविता सङ्ग्रहउपर कलरव धरानले विमर्श गर्ने भएको छ । शनिबार कवि र वक्ताहरूकाे उपस्थितिमा धरानमा विमर्श हुनेछ ।

हाेटल पूर्वी स्टारमा बिहान ११ बजे राखिएको विमर्श कवि राताेसकाे कृतिउपर अतिथि वक्ताहरूले बाेल्ने आयोजक कलरवका संयाेजक कवि सुदीप पाख्रिनले बताए । कृति उपर वरिष्ठ कवि कुन्ता शर्मा र पत्रकार एवम् कवि जनकऋषिले बाेल्नेछन् । विमर्श कवि एवम् साँस्कृतिक अभियन्ता अमित थेवेले सहजीकरण गर्नेछन् । कार्यक्रममा कवि राताेसले समेत आफ्ना कविताहरू वाचन गर्नेछन् । यसअघि कृतिकाे परिचर्चा पूर्वकाे पान्थरकाे फेदेन, इलाम, झापाकाे बिर्तामोड र दमक, पाेखरा, चितवनमा भइसकेको छ ।

गत पुस महिनामा सार्वजनिक भएको रातोसको ‘सिलीदुङ’ कवितासंग्रह थेबा–ला पब्लिकेशनले प्रकाशन गरेको हाे । कवि रातोसको यो पहिलो कृति हो । कृतिमा चार खण्डमा गरी ४४ कविताहरू छन् । किरात राई जातिको उधौली चाड मंसिरे पूर्णिमा आसपासमा नाचिने सांस्कृतिक नामलाई लिएर कृतिको नाम ‘सिलीदुङ’ राखिएको कविले बताए ।

दस वर्षे जनयुद्धमा संलग्न गणेशकुमार राई ‘वसन्त’ले आफूलाई कवि गीलु रातोसका रूपमा परिचित गराउँदै यो कृति बजारमा ल्याएका हुन् । सोलुखुम्बुको माप्यादुधकोसी गाउँपालिका–६ वाकुमा ३४ वर्षअघि जन्मी-हुर्केका कवि रातोस खालिङ राई मातृभाषाका लेखक हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button