आदिवासी

बोलिभियामा पहिलो आदिवासी राष्ट्रपति

सन् २००६ को जनवरी २२ मा बोलिभियाले पहिलो आदिवासी राष्ट्रपति पाएको थियो । २००५ मा भएको चुनावमा विजयी वामपन्थी नेता इभो मोरालेसले २००६ को जनवरी २२ देखि बोलिभियाको शासनसत्ता सम्हालेका हुन् ।

गरिबी अन्त्य गर्ने र बहुराष्ट्रिय कम्पनीहरूको प्रभाव रोक्ने प्रमुख चुनावी एजेन्डा अघि सारेका मोरालेस ५४ प्रतिशत मतसहित निर्वाचित भएका थिए । १९५९ को अक्टोबर २६ मा जन्मिएका मोरालेस १९८६ मा राजनीतिमा प्रवेश गरेका थिए । उनी २००६ देखि २०१९ सम्म बोलिभियाका राष्ट्रपति थिए ।

राजनीतिमा प्रवेश गर्नुअघि उनी कोका कृषक थिए । आफ्नो शासनकालमा गरिबीविरुद्ध विभिन्न कार्यक्रम ल्याएका गरेका मोरालेसले बोलिभियाको अर्थतन्त्रमा उल्लेखनीय सुधार गरेका थिए । जसका कारण उनी गरिब र आदिवासीमाझ लोकप्रिय थिए । तर राष्ट्रपतिको कार्यकाल दुई पटकमा सीमित रहेको व्यवस्था हटाउने प्रयासका कारण उनी विवादमा फसेका थिए ।

२०१६ मा भएको जनमतसंग्रहमा बहुमत जनताले कार्यकालको सीमा हटाउने प्रस्तावको विपक्षमा मत दिएका थिए । त्यसपछि संवैधानिक अदालतमार्फत राष्ट्रपतीय कार्यकालको सीमा हटाउने निर्णय गराउन सफल मोरालेस चौथो कार्यकालका लागि निर्वाचित भए । तर चुनावमा अनियमितता भएको दाबी गर्दै विपक्षी दलहरूले प्रदर्शन चर्काएका थिए । त्यसका साथै, सेना र प्रहरी प्रमुखले पनि राजीनामा दिन आह्वान गरेपछि उनी पद छाड्न बाध्य भएका थिए ।

Source: ८ माघ २०८०, कान्तिपुर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button