समाचार

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, १० माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमारलाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत (नवौँ) डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेले आवश्यकताको पहिचान तथा लागत अनुमान नगरी उपयोग नहुने सामान खरिद गरेको पाइएकाले निजहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले आरोपीहरुविरुद्ध रू २२ लाख ७८ हजार तीन सय पाँच बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button