अन्तर्राष्ट्रियसमाचार

जी–२० मा सहभागिता रोकिए ‘गम्भीर परिणाम’ हुने रुसको बेलायतलाई चेतावनी

लन्डन, १७ नोभेम्बर। सन् २०२७ मा बेलायतले जी–२० को अध्यक्षता सम्हाल्दा आफ्नो सहभागिताको अधिकार सीमित गर्ने प्रयास भए ‘गम्भीर परिणाम’ हुने रुसले चेतावनी दिएको छ।

याहुमा प्रकाशित द इन्डिपेन्डेन्टको समाचारअनुसार, आगामी वर्ष नोभेम्बरमा म्यानचेस्टरमा हुने शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थितिबारे विवाद उठेपछि मस्कोले सोमबार यस्तो प्रतिक्रिया दिएको हो। युक्रेन युद्धका कारण लगाइएका बेलायती प्रतिबन्धले पुटिनको सहभागिता प्रभावित हुने विषय समाचारमा उल्लेख छ।
रुसी विदेश मन्त्रालयका जी–२० तथा एपेक मामिलासम्बन्धी विशेष राजदूत मरात बेर्दिएभले बेलायतको व्यवहार हेरेर मस्कोले प्रतिक्रिया दिने बताएका छन्। रुसको अधिकारमा हस्तक्षेप भए त्यसलाई बेवास्ता नगरिने उनको भनाइ छ।

बेर्दिएभले पालैपालो अध्यक्षता सम्हाल्ने मुलुकले सदस्यहरूको सहभागिता एकतर्फी रूपमा निर्धारण गर्न नसक्ने दाबी गर्दै टकरावको अवस्था टर्ने आशा व्यक्त गरेका छन्।

युक्रेनमाथिको आक्रमणपछि पश्चिमा देशहरूले रुसलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरे पनि ऊ जी–२० को सदस्य कायम छ। आयोजक राष्ट्रले वार्षिक सम्मेलनमा सबै सदस्यलाई निमन्त्रणा दिने परम्परा छ।

यस वर्ष अध्यक्षता गरिरहेको अमेरिकाले डिसेम्बरमा मियामीमा हुने सम्मेलनका लागि पुटिनलाई निमन्त्रणा दिएको छ। तर उनी स्वयं सहभागी हुने वा प्रतिनिधि पठाउने भन्ने विषयमा क्रेमलिनले पुष्टि गरेको छैन।

विश्व अर्थतन्त्रका प्रमुख विषयमा सहकार्य गर्ने जी–२० मा १९ देशसहित युरोपेली संघ र अफ्रिकी संघ सदस्य छन्।

Related Articles

Back to top button