मनोरञ्जन

युकेको आशफोर्डमा ‘सुम्निमा साँझ २०२६’ हुँदै, नेपालबाट आएका तीन चर्चित कलाकारहरुको प्रस्तुति रहने

आशफोर्ड (केन्ट) — कला, भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बेलायतमा प्रतिष्ठित सांस्कृतिक कार्यक्रम ‘सुम्निमा साँझ २०२६’ आगामी २४ अक्टोबर शनिबार आशफोर्डमा आयोजना हुने भएको छ।

किरात राई यायोक्खा युकेको भगिनी संस्था ‘किरात राई सांस्कृतिक कलाकार संघ युके’ को आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपालबाट आएका तीन चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

‘कला र संस्कृति हाम्रो पहिचान, सुम्निमा साँझ सांस्कृतिक अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा नेपालका चर्चित गायिका पार्वती राई र गायक रोशन राई को विशेष लाइभ सांगीतिक प्रस्तुति रहनेछ। त्यस्तै, लोकप्रिय अभिनेत्री पशुपति राई को पनि विशेष उपस्थिति रहने आयोजक संघले जानकारी दिएको छ।

मौलिक संस्कृतिको प्रवर्द्धन

कार्यक्रममा किरात राई समुदायको पौराणिक मिथक तथा सुम्निमा-पारुहाङको कथामा आधारित मौलिक गीत, कविता र साकेला लगायतका सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिने संघले जनाएको छ। किरात राई समुदायको मौलिक भाषा, भेषभूषा र सांगीतिक विविधता झल्कने यस विशेष साँझले बेलायतमा रहेका किरात राई समुदायलाई आफ्नो जरा र पहिचानसँग जोड्ने सेतुको काम गर्ने अपेक्षा गरिएको छ।

विशिष्ट व्यक्तित्वहरूको उपस्थिति

कार्यक्रममा किरात राई यायोक्खा बेलायतका अहिलेक कार्यकारी अध्यक्ष मेजर रिटायर्ड भुपजित राई प्रमुख अतिथिका रूपमा रहनेछन् भने किरात राई यायोक्खा नेपालका भूतपूर्व अध्यक्ष डा. सुमाया राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्। यसका साथै किरात राई यायोक्खाका प्रारम्भिक कार्यसमिति अध्यक्षहरु, सदस्यहरू, विभिन्न भाषिक संस्था, स्थानीय संघ-संस्था तथा आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकले बताएको छ।

किरात राई सांस्कृतिक कलाकार संघ युकेका अध्यक्ष डिल्लीराम राईको अध्यक्षतामा आयोजना हुने कार्यक्रम संयोजक तथा सल्लाहकारमा किराया युकेका वरिष्ठ उपाध्यक्ष सुमनचन्द्र राई भएको छ त्यसैगरी कलाकार संयोजकमा बि.सी. राई र पर्वत राई रहनुभएको छ।

कार्यक्रम स्थल, समय र प्रवेश शुल्क

आगामी शनिबार, २४ अक्टोबर २०२६ का दिन दिउँसो ४:०० बजे देखि सेन्ट साइमन स्टक क्याथोलिक चर्च, ब्रुकफिल्ड रोड, आशफोर्ड TN23 4EU मा कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति £१५ प्रवेश शुल्क तोकिएको छ, जसमा खाना र खाजाको व्यवस्था समावेश गरिएको आयोजकले जनाएको छ।

निमन्त्रणा

किरात राई समुदायको मौलिक भाषा, भेषभूषा र सांगीतिक विविधता झल्कने यस विशेष सांगीतिक साँझमा उपस्थित भइदिन आयोजकले बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ। नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समर्पित यस कार्यक्रमले प्रवासमा रहेका नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।

-भुमिराज राई

Related Articles

Back to top button