समाचार

प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप विरुद्ध धनकुटा रास्वपा कार्यालयमा पत्रकार महासंघको धर्ना

धनकुटा,१३ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध नेपाल पत्रकार महासंघले धनकुटा स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला कार्यालयमा सांकेतिक धर्ना दिएको छ।

आइतबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म धनकुटा नगरपालिका–७ हुलाक टोलस्थित रास्वपा कार्यालयमा महासंघको आह्वानमा पत्रकारहरूले धर्ना दिएका हुन्।

धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विदुर खवास, पूर्वअध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य रमेशचन्द्र अधिकारी, प्रेस युनियनका अध्यक्ष विनोद घिमिरे, प्रेस चौतारी नेपालका अध्यक्ष नारायण कुमार राई तथा प्रेस सेन्टरका प्रदेश सचिव ईश्वर थापाल गायतले सरकारले सञ्चारमाध्यम माथि हस्तक्षेप गर्ने, सूचनामा अंकुश लगाउने र पत्रकारलाई पक्राउ गर्ने काम गरिरहेको आरोप लगाए।

उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र सञ्चारमाध्यम माथिको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

कार्यक्रममा रास्वपा धनकुटाका सभापति भुवन थापाले पत्रकारहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधनका लागि पार्टीको माथिल्लो निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

Related Articles

Back to top button