आदिवासी

मगर समुदायमा दशैंबारे प्राज्ञिक बहस : बहिष्कारको निर्णय र सामाजिक अभ्यासबीचको अन्तर अध्ययन गर्न जोड

काठमाडौं । मगर समुदायमा दशैंको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध र यसको बहिष्कारसम्बन्धी निर्णयको प्रभावबारे काठमाडौंमा प्राज्ञिक बहस सम्पन्न भएको छ। असोज २५ गते कलंकीस्थित नेपाल मगर संघको भवनमा आयोजित “आदिवासी मगर दृष्टिकोणमा दशैं के हो ? के होइन ?” विषयक कार्यक्रममा सहभागी अध्येताहरूले सांस्कृतिक विषयमा निर्णय लिँदा गहन अध्ययन र समुदायको वास्तविक अभ्यासलाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा नेपाल मगर संघले वि.सं. २०४८ मा दशैं परित्याग गर्ने निर्णय गरेको भए पनि मगर समुदायमा त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको विषय उठाइएको थियो। वक्ताहरूले संस्थागत निर्णय र समुदायको व्यवहारबीच देखिएको अन्तरका कारण पहिचान गर्न अनुसन्धान आवश्यक रहेको बताएका थिए।

बहसमा नेपाल मगर संघका संस्थापक सदस्य तथा पूर्वमन्त्री एम. एस. थापामगर, डा. भोजविक्रम बुढामगर, डा. कमल थापामगर, डा. लालबहादुर पुनमगर र प्रा. डा. चित्रबहादुर बुढाथोकीमगरले विभिन्न दृष्टिकोणबाट विश्लेषण प्रस्तुत गरेका थिए। याक्थुङ लिम्बु समुदायका अध्येता डा. क्षितिज सुब्बा र डा. धिरेन्द्र नाल्बोले पनि सांस्कृतिक अभ्यास र चाडपर्वसँग सम्बन्धित तर्क राखेका थिए।

छलफलमा विशेषगरी गण्डकी प्रश्रवण क्षेत्रका मगर समुदायमा दशैंसँग पितृ तथा पुर्खापूजा, प्रकृतिपूजा, भूमिपूजा, कोतपूजा र थान परम्परा जोडिएको विषय उठाइएको थियो। सराय, सोरठी, मारुनी र घाँटुजस्ता नाचगान तथा भेजा, गुम्ष्ठा र गाउँला प्रणालीसँगको सम्बन्धलाई पनि अध्ययनको विषय बनाउनुपर्ने धारणा प्रस्तुत गरिएको थियो।

रोजगारीका लागि बाहिर गएका परिवारका सदस्य घर फर्किने, आफन्तसँग भेटघाट गर्ने र सामूहिक खानपान गर्ने अवसरका रूपमा समेत दशैंको सामाजिक भूमिका रहेको वक्ताहरूको भनाइ थियो। दशैं परित्याग गर्ने निर्णय गर्दा यस्ता सांस्कृतिक र सामाजिक अभ्यासको विकल्पबारे पर्याप्त ध्यान नदिइएको तर्क पनि बहसमा प्रस्तुत भयो।

दशैंको टीका त्यागेका कतिपय परिवारमा समेत पाहुना बोलाउने, आफन्तकहाँ जाने र खानपान गर्ने अभ्यास कायम रहेको विषय उठाउँदै सहभागीहरूले चाडपर्वलाई धार्मिक पक्षबाट मात्र बुझ्न पर्याप्त नहुने बताएका थिए। उनीहरूले यससँग जोडिएका ऐतिहासिक, राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धको समेत अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए।

डा. सुब्बा र डा. नाल्बोले लिम्बु समुदायमा दशैंको प्रवेश, बहिष्कारका अभियान र त्यसपछि पनि निरन्तर रहेका सामाजिक अभ्यासबारे विचार प्रस्तुत गरेका थिए। तिहारका अवसरमा नाचगान तथा संस्थाका लागि आर्थिक स्रोत जुटाउने गतिविधिले सांस्कृतिक स्वीकार्यतामा पारेको प्रभावबारे पनि उनीहरूले चर्चा गरेका थिए।

कार्यक्रममा आदिवासी संघसंस्थाको नीतिनिर्माणमा राजनीतिक दलहरूको प्रभाव, समुदायसँगको परामर्श र स्वतन्त्र प्राज्ञिक बहसको अवस्थाबारे समेत प्रश्न उठाइएको थियो। आवश्यकता पहिचान तथा समुदायको वास्तविक अवस्थाको प्रारम्भिक अध्ययन नगरी गरिएका निर्णय कार्यान्वयनमा कठिनाइ आउन सक्ने धारणा सहभागीहरूले राखेका थिए।

माघे संक्रान्ति मनाउने निर्णयले स्वीकार्यता पाउनु र दशैं परित्याग गर्ने निर्णय पूर्ण रूपमा कार्यान्वयन नहुनुका कारणको तुलनात्मक अध्ययन गर्नुपर्ने विषय पनि उठाइएको थियो। प्रा. डा. बुढाथोकीमगरले माघे संक्रान्तिको हिन्दु पात्रो तथा परम्परासँगको सम्बन्ध उल्लेख गर्दै धार्मिक पहिचान र व्यवहारबीचको सम्बन्धमाथि प्रश्न गरेका थिए।

अध्येताहरूले आदिवासी अध्ययन पद्धतिबाट समुदायका मौलिक परम्परा, राज्यसत्ताको प्रभाव र समयसँगै भएका सांस्कृतिक परिवर्तनको अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए। दशैंमा आदिवासी संस्कृतिबाट समावेश भएका अभ्यास र राज्यसत्ताबाट विस्तार गरिएका प्रचलन छुट्याएर अध्ययन गर्नुपर्ने धारणा पनि प्रस्तुत भएको थियो।

कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष रक्षबहादुर रैकामगरले मगर प्राज्ञिक परिषद्मार्फत यस्ता बहसलाई निरन्तरता दिने, अनुसन्धानमा ध्यान केन्द्रित गर्ने तथा पुराना निर्णय र नीतिको समयसापेक्ष पुनरावलोकन गर्ने बताएका थिए।

कार्यक्रमको विषय प्रवेश तथा सञ्चालन मगर प्राज्ञिक परिषद्का सदस्य–सचिव डा. विष्णुकुमार सिङ्जालीले गरेका थिए।

दशैं बारेको विभिन्न अभियान अन्तर्गत अपिल:

Related Articles

Back to top button