सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ। फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ। यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ ।

यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो। विश्वकपको उद्घाटन खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ। उद्घा टन खेलमा कतारले खेल्नेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

जसमा स्थानीय समयअनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राति १० बजे चौथो खेल हुनेछ। यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राति १० बजे हुनेछन। प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा हुनेछ । फाइनल स्थानीय समयअनुसार र साँझ ६ बजेदेखि सुरु हुनेछ । कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् ।