आदिवासी

विश्व शेर्पा संघको तेस्रो महाधिवेशन दार्जिलिङमा सम्पन्न, भाषा र संस्कृति संरक्षणमा जोड

दार्जिलिङ, भारत । विश्व शेर्पा संघको तेस्रो महाधिवेशन सन् २०२६ अक्टोबर ८ देखि १० सम्म भारतको दार्जिलिङमा सम्पन्न भएको छ। विश्वभरका शेर्पा समुदायबीच एकता सुदृढ गर्दै भाषा, धर्म, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले महाधिवेशन आयोजना गरिएको हो।

संघका अध्यक्ष सोम्फुरी शेर्पाले महाधिवेशनपछि जारी गरेको धन्यवाद तथा कृतज्ञता वक्तव्यअनुसार कार्यक्रममा नेपाल र भारतका शेर्पा संघसंस्था तथा किदुगसँगै अन्य २५ भन्दा बढी देशका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरूको सहभागिता थियो।

महाधिवेशनको उद्घाटन धर्मगुरु सङ्गे खेन्पो राङजुङ रिन्पोछेको प्रमुख आतिथ्यमा भएको थियो। समारोहमा विभिन्न खेन्पो, लामा तथा सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

दोस्रो दिन सिक्किम विधानसभाका सभामुख एम. एन. शेर्पाको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा करिब १०–१२ जना शेर्पा युवा, अनुसन्धानकर्ता तथा विद्यावारिधि उपाधि प्राप्त व्यक्तिहरूले अनुसन्धानमूलक शोधपत्र प्रस्तुत गरेका थिए। प्रस्तुतिहरू शेर्पा समुदायको इतिहास, जीवनशैली, पहिचान र सम्पदामा केन्द्रित थिए। सहभागीहरूले समुदायसँग सम्बन्धित अध्ययन, अनुसन्धान तथा अनुभव पनि आदानप्रदान गरेका थिए।

तेस्रो दिन जनप्रतिनिधि भारत छेत्रीको प्रमुख आतिथ्यमा समापन समारोह भएको थियो। लावास्थित पासाङ्बु गुम्बामा धर्मगुरु रिन्पोछे टुल्कु दावा जाङ्बुले नवनिर्वाचित कार्यसमितिलाई शपथग्रहण गराउनुका साथै आशीर्वाद प्रदान गरेका थिए।

अध्यक्ष सोम्फुरी शेर्पाले नवनिर्वाचित कार्यसमितिका तर्फबाट संघलाई विश्वभरका शेर्पाहरूको साझा मञ्च तथा पहिचान, एकता र प्रतिनिधित्वको बलियो आधारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शेर्पा भाषा, धर्म, संस्कृति, रीतिरिवाज र परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु संघको प्राथमिकता रहने उनले उल्लेख गरेका छन्।

शिक्षा, सामाजिक विकास, आपसी सहयोग र समुदायको हितमा काम गर्दै संघलाई प्रभावकारी, समावेशी तथा सबैको विश्वास जित्न सक्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि वक्तव्यमा जनाइएको छ। यसका लागि विश्वभरका नेपाली समुदाय तथा गैरशेर्पा संघसंस्थासँग समेत समन्वय र सहकार्य गर्दै अघि बढ्ने अध्यक्ष शेर्पाले बताएका छन्।

महाधिवेशन सफल बनाउन योगदान पुर्‍याएको भन्दै उनले निवर्तमान अध्यक्ष थेन्डुप शेर्पा, महासचिव आङ जाङ्बु शेर्पा, संस्थापक अध्यक्ष आङ दोर्जी लामा शेर्पा तथा निवर्तमान कार्यसमितिप्रति आभार व्यक्त गरेका छन्। अखिल भारतीय शेर्पा बौद्ध संघका अध्यक्ष दोर्जी पिनासा शेर्पा, महासचिव एन. टी. शेर्पा र उक्त संघको कार्यसमितिलाई पनि उनले विशेष धन्यवाद दिएका छन्।

त्यसैगरी, नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा थिलेन शेर्पा, नेपाल महिला शेर्पा संघकी अध्यक्ष लाक्पाफुटी शेर्पा, शेर्पा युवा संघका अध्यक्ष जाङ्बु शेर्पा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा तथा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका पदाधिकारी र कलाकारहरूको योगदानको स्मरण गरिएको छ।

सिक्किम, दार्जिलिङ, खरसाङ, सोनादा, लावा र कालिम्पोङलगायत क्षेत्रका शेर्पा किदुग तथा स्थानीय संघसंस्थाले अतिथि सत्कार, बसोबास, खानपान र आवतजावतको व्यवस्थापनमा पुर्‍याएको सहयोगप्रति अध्यक्ष शेर्पाले विशेष कृतज्ञता व्यक्त गरेका छन्। स्थानीय समुदायको आत्मीय स्वागत र सहयोगले शेर्पाहरूबीचको आपसी सम्बन्ध, सद्भाव र एकतालाई थप सुदृढ बनाएको उनले उल्लेख गरेका छन्।

Related Articles

Back to top button