समाचार

पालाम सम्बन्धी कृती लिएर आईन बसन्ता सम्बाहाङ्फे

 

२२ अशोज,काठमाडौं ।

याक्थुङ–लिम्बू समुदायको मौखिक परम्परा, लोकसाहित्य तथा लोकवाङ्मयमा महत्वपूर्ण स्थान राख्ने ‘पालाम’ सम्बन्धी अनुसन्धानात्मक कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) विमोचन भएको छ ।

लिम्बू पत्रकार संघ, काठमाडौं उपत्यका समितिको आयोजनामा बिहीबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा मुन्धुमविद् तथा वरिष्ठ साहित्यकार येहाङ लावतीले सो कृति विमोचन गरेका हुन ।

 

विमोचन कार्यक्रममा कृतिमाथि प्राज्ञ यासेली योङहाङले लिम्बू भाषामा र साहित्यकार तथा चलचित्रकर्मी सागर केरुङले नेपाली भाषामा समीक्षा गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, भाषाविद्, प्राज्ञ, कलाकार, पत्रकार तथा याक्थुङ–लिम्बू समुदायका प्रतिनिधिको सहभागिता थियो ।
लेखिका बसन्ता सम्बाहाम्फेले कृतिमा पालामलाई केवल प्रेम वा मनोरञ्जनका लागि प्रस्तुत गरिने लोकगीतका रूपमा मात्र नभई लोकछन्द, लोकलय, प्रस्तुति–परम्परा र सांस्कृतिक अभिव्यक्तिको महत्वपूर्ण विधाका रूपमा अध्ययन गरेकी छन् । कृतिमा पालामको परिभाषा, संरचना, तत्त्व, स्वरूप, प्रकार, सौन्दर्यशास्त्र तथा सैद्धान्तिक आधारलाई अनुसन्धानपरक ढङ्गले प्रस्तुत गरिएको छ ।
याक्थुङ–लिम्बू भाषा, साहित्य तथा सांस्कृतिक अध्ययनमा सक्रिय सम्बाहाम्फेले वि.सं. २०७७ मा पालामसम्बन्धी विषयमा स्नातकोत्तर तहको अनुसन्धान गरेकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुका साथै फेसन डिजाइनमा समेत स्नातक अध्ययन गरेकी छन् । ललितपुरस्थित निर्वाण कलेजकी पूर्वप्राध्यापक सम्बाहाम्फेले ‘थिम्–साक्थिम्’ लगायतका जर्नल, पुस्तक तथा पत्रपत्रिकाको सम्पादनसमेत गरेकी छन् ।

उनले वि.सं. २०६६ मा कुटुम्बसँग सहकार्य गरी ‘निसिम सिगाङ्बा मिक्वाहा’ पालामको अभिलेखीकरण गरेकी थिइन् । ‘नादङ’, ‘तुम्दङ’, ‘फुङ्वामा’, ‘थिबोङ्तुक हिङ्मन’, ‘मिक्वा चुरुरु’ र ‘लुङ्वा तरेबे’ लगायतका पालाम तथा म्युजिक भिडियोमा समेत उनको प्रस्तुति रहेको छ । उनी ‘मोडल हन्ट नेपाल’, ‘फेस अफ मारवाडी’ र ‘आईईसी डिजाइनर्स रनवे’ मा समेत सहभागी भएकी छन् । सम्बाहाम्फे किरात याक्थुङ चुम्लुङ–लिम्बू सांस्कृतिक परिषद्की संघीय सदस्यसमेत हुन् ।


समीक्षक सागर केरुङले कृति लिम्बू भाषा विषयमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन–अध्यापनका लागि उपयोगी हुने बताए । नेपालबाट पहिलोपटक सिक्किम गई लिम्बू भाषामा उच्च शिक्षा हासिल गरेका केरुङले पालामलाई याक्थुङ सौन्दर्यशास्त्र र विश्वदृष्टिकोणसँग जोडेर हेर्नुपर्ने धारणा राखे ।
उनका अनुसार पालामले याक्थुङ सौन्दर्यशास्त्रको व्याख्या गर्छ । याक्थुङ सौन्दर्यशास्त्रका आधारका रूपमा समग्रता, सम्पूर्णता, सामुदायिकता, सह–अस्तित्व र स्वाभिमानलाई लिन सकिने उनको भनाइ छ । पालामले संसारलाई हेर्ने र बुझ्ने याक्थुङ दृष्टिकोणलाई समेत अभिव्यक्त गर्ने उनले बताए ।
‘पालामले सामुदायिक, सम्बन्धमुखी, सांस्कृतिक रूपमा सचेत र स्वाभिमानी याक्थुङ समाजको परिकल्पना गर्छ,’ केरुङले भने, ‘यसले सह–अस्तित्व, सामुदायिकता, मानवीय सम्बन्ध तथा जीवन–जगत्को समग्रताको दर्शन प्रस्तुत गर्छ ।’

 


पालामले मानव, प्रकृति, भू–स्मृति, समुदाय, पूर्वज र संस्कृतिलाई परस्पर अन्तरसम्बन्धित रूपमा हेर्ने विश्वदृष्टिकोण अङ्गीकार गर्ने उल्लेख गर्दै उनले पालाम संवाद, सम्बन्ध, प्रेम, स्मृति, प्रकृति तथा सामुदायिक सहभागितामा जीवन्त रहने बताए । उनका अनुसार पालाम भाषा, संस्कृति, ज्ञान, पहिचान, भू–स्मृति तथा सामुदायिक स्मृतिको संरक्षण, पुस्तान्तरण र पुनःसिर्जनाको माध्यमसमेत हो ।

कार्यक्रममा सम्बाहाम्फे उत्थान संघका उपाध्यक्ष धिरेन्द्र सम्बाहाम्फे, याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति राजेन्द्र कुमार जबेगु ‘हाङ्वासाङ’, संघीय सांसद सचिवालयकी सहसचिव बबिता मिश्र, समालोचक प्रा. डा. कुलराज निरौला, नेपाल आदिवासी जनजाति महासंघका संघीय महासचिव बिमल सारु मगर र किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङलगायतले कृतिमाथि शुभकामना तथा धारणा व्यक्त गरेका थिए ।

 


प्रमुख अतिथि येहाङ लावतीले याक्थुङ–लिम्बू समाजको मौखिक ज्ञान, संस्कृति र परम्परालाई अध्ययन तथा अनुसन्धानमार्फत दस्तावेजीकरण गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा पुस्तक प्रकाशक प्रितिका सम्बाहाम्फे र प्रितम बेघालाई धन्यवादपत्र प्रदान गरिएको थियो । त्यस्तै, पुस्तकको डिजाइन गरेका विवस हेल्लोक लिम्बूलाई पनि सम्मानसहित धन्यवादपत्र प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन मादेनले जानकारी दिए । उनका अनुसार हेल्लोकले हालसम्म सयौं लिम्बू भाषाका कृतिको डिजाइन गरिसकेका छन् ।

 

तस्बिर – निर्मल सुब्बा आशिष

Related Articles

Back to top button