आदिवासीसमाचार

‘तङ्सिङ्’ले जित्यो सर्वाेत्कृष्ट चलचित्र अवार्ड

५ सेप्टेम्बर, काठमाडौं । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड प्राप्त गरेको छ । २७ सेप्टेम्बर २०२६ मा बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न महोत्सवमा ‘तङ्सिङ्’लाई सर्वोत्कृष्ट लघु चलचित्र घोषणा गरिएको हो ।

याक्थुङ लिम्बू समुदायको मौलिक सांस्कृतिक विश्वास, मातृभाषा र पितृलोकसँग सम्बन्धित कथ्यलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘तङ्सिङ्’ले यसअघि दोस्रो याक्थुङ सिने इन्टरनेशनल अवार्डमा समेत सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरिसकेको छ । त्यस्तै, पाँचौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ मा उत्कृष्ट चलचित्रका रूपमा प्रदर्शन भएको थियो ।

सागर केरुङको लेखन तथा निर्देशन रहेको चलचित्रले मातृभाषा नजान्ने व्यक्तिलाई पितृलोकमा लैजाने वा नलैजाने विषयमा उत्पन्न द्वन्द्वलाई कथाको मुख्य आधार बनाएको छ । याक्थुङ–लिम्बू समुदायको मौलिक सांस्कृतिक दर्शन र मृत्यु संस्कारसँग जोडिएको विषयलाई चलचित्रले कलात्मक रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।
यसैबीच, ‘तङ्सिङ्’ लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (LIFF) २०२६ का लागि समेत छनोट भएको छ । कथा मण्डलाको आयोजनामा आगामी अक्टोबर ८ देखि १० गतेसम्म पाल्पाको तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा आयोजना हुने महोत्सवमा ‘तङ्सिङ्’ प्रदर्शन गरिनेछ । निर्देशक सागर केरुङलाई चलचित्र प्रदर्शनपछिको प्रश्नोत्तर (Q&A) सत्रमा सहभागी हुने अवसरसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएसँगै ‘तङ्सिङ्’ले एकै वर्षमा नेपाल तथा विदेशका विभिन्न चलचित्र महोत्सवमा आफ्नो उपस्थिति र उपलब्धि थप बलियो बनाएको छ । लिम्बू भाषामा निर्माण भएको चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त गरिरहेको पहिचानलाई याक्थुङ चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा याक्थुङ मुन्चइत चोक सयङले निर्माण गरेको ‘तङ्सिङ्’को छायांकन युवराज राईले गरेका हुन् । सम्पादन पर्शु थलङ, निर्माता नरेन्द्र सुब्बा र स्वर्गीय मीना सुब्बा रहेका छन् । शृङ्गार तुलसा लिम्बू तथा कला अमर तुम्बापोको रहेको छ ।
चलचित्रमा लक्ष्मी योङहाङ, नाम्बिन सेर्मा, रत्ना लिङ्देन लावती, पूर्ण सेलिङ, सलमान थलङ, इन्दु तुम्सा, मनु थक्लुङ, मीना लिम्बू, हाङमा थेबे, बिपना आङ्बुहाङ ‘सुहाङमा’, आशा राई नेम्बाङ, नरेश वनेम, याम लिम्बू ‘नेयोङ’, सीता राई नेम्बाङ, तीर्थ मादेम्बा, राम तिलिङ, भवानी विक्रम नेम्बाङ, नरेन्द्र सुब्बालगायतले अभिनय गरेका छन् ।

लिम्बू भाषामा निर्माण भएको ‘तङ्सिङ्’ले प्राप्त गरेको निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानले मातृभाषामा चलचित्र निर्माणको सम्भावना, सांस्कृतिक कथ्यको शक्ति तथा आदिवासी समुदायका मौलिक ज्ञान–परम्परालाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्ने सम्भावनालाई समेत उजागर गरेको छ ।

Related Articles

Back to top button