स्थानीय

धनकुटा सुमो दुर्घटना अपडेट : मृतक महिलाको खुल्यो पहिचान

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बन्चरेमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ८ः१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमोको ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

घाइते हुनेहरूमा चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, धनकुटा–४ की ४० वर्षीया धनमाया राई, उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा, ३३ वर्षीया पुनम लिम्बु, उनकी २ वर्षीया छोरी आरध्या लिम्बु, धनकुटा–४ का २६ वर्षीय आइन्द्र लिम्बु, धनकुटा–३ का २७ वर्षीय भवानी लिम्बु, ४७ वर्षीय हेमबहादुर लिम्बु, धनकुटा–४ का ३० वर्षीय अबिन लिम्बु र धनकुटा–३ का २१ वर्षीय आशिष लिम्बु रहेका छन्।

घाइतेमध्ये आशिष लिम्बुको अवस्था गम्भीर रहेको छ भने खगेन्द्र खत्री, धनमाया राई, न्युहाङ सुब्बा, आरध्या लिम्बु, आइन्द्र लिम्बु, भवानी लिम्बु, हेमबहादुर लिम्बु र अबिन लिम्बुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। पुनम लिम्बुको अवस्था सामान्य रहेको छ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १८ जनाको प्रहरी टोली खटिएको थियो।

सडकमा आवागमन अवरुद्ध नभएको र दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Related Articles

Back to top button