स्थानीय

धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

धनकुटा, २७ भदौः धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ । निसान मन्दिर पुग्ने मात्र होइन, धनकुटा आउने अधिकांश पर्यटक उक्त घण्टीमा तस्बिर खिचेर फर्कने गरेका छन् ।

सानासाना घण्टीलाई जोडेर बनाइएको यो ‘महाघण्टी’मा करिब ५०० भन्दा बढी घण्टी समेटिएका छन् । यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिनुभयो ।

“निसान मन्दिर पुनर्निर्माणको क्रममा २०७७ सालमा यो महाघण्टीको निर्माण गरिएको हो । मन्दिर परिसरमा रहेका साना घण्टीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि ती घण्टी हटाउने तयारी गरिएको थियो । तर, घण्टी हटाउँदा ऐतिहासिक महत्त्वका पुराना घण्टीसमेत नष्ट हुने अवस्था आएपछि तिनलाई संरक्षण गर्ने विकल्पका रूपमा महाघण्टी निर्माण गर्ने सोच अघि सारिएको हो”, सचिव घिमिरेले भन्नुभयो । उहाँका अनुसार यस महाघण्टीमा १९३१ सालभन्दा अघिदेखिका घण्टीसमेत सङ्ग्रहित रहेका छन् ।

घिमिरेले महाघण्टी निर्माणले पुराना घण्टीको संरक्षण हुनुका साथै मन्दिरको सौन्दर्य र पहिचानसमेत थपिएको बताउनुभयो । सुरुमा घण्टी कसरी व्यवस्थापन गर्ने भन्ने सोचेर काम सुरु गरि।एको भन्दै अहिले यही घण्टी सबैका लागि आकर्षक केन्द्र बनेको तथा मन्दिरको शोभासमेत बढाएको घिमिरेले बताउनुभयो ।

“साना घण्टीलाई एउटै संरचनामा जोडेर बनाइएको महाघण्टी अहिले निसान मन्दिरको छुट्टै पहिचान बनेको छ । धार्मिक तथा ऐतिहासिक महत्वबोकेको मन्दिरमा आउने आगन्तुकका लागि यो घण्टी फोटो खिच्ने आकर्षक गन्तव्यसमेत बनेको छ”, उहाँले भन्नुभयो ।

धनकुटाको निसान मन्दिरको इतिहास पूर्व नेपालको प्रशासनिक तथा सैनिक इतिहाससँग जोडिएको छ । विसं १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएका बेला जङ्गी निसानको स्थापना भएको इतिहास रहेको बताइन्छ । मन्दिरमा अहिले पनि नेपाली सेनाले दैनिक पूजाआजा गर्दै आएको छ । मन्दिरमा नेपाली सेनाकै एक पुजारी रहने व्यवस्था गरिएको छ । धार्मिक आस्थासँगै ऐतिहासिक महत्व बोकेको निसान मन्दिर परिसरमा बनेको महाघण्टीले पुराना घण्टीको संरक्षण मात्र गरेको छैन, मन्दिरको सौन्दर्य र पर्यटकीय आकर्षणसमेत बढाएको छ ।

Related Articles

Back to top button