जेन-जी सहिदहरूकाे स्मृतिमा उज्यालो नेपाल पार्टीको दीप प्रज्ज्वलन

विजयपुर, ७ सेप्टेम्बर । जेन-जी सहिद दिवसको पूर्वसन्ध्यामा उज्यालो नेपाल पार्टी धरान उपमहानगर समितिले सोमबार साँझ धरानको घण्टाघर चोकमा एक विशेष दीप प्रज्ज्वलन तथा शोक सभा सम्पन्न गरेको छ। भदौ २३ गते मनाइने जेन-जी सहिदहरूको सम्मान र हालैको भोटेकोसी बाढीपीडितहरूको स्मरणमा यो कार्यक्रम आयोजना गरिएको हो ।

सोमबार साँझ घण्टाघर चोकमा भेला भएका पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणले मैनबत्ती प्रज्ज्वलन गरी सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बाढीपहिरोमा ज्यान गुमाएका र प्रभावित भएका नागरिकहरूप्रति सहानुभूति प्रकट गरेका थिए ।
नेताहरूद्वारा शोक सभामा सम्बोधन
दीप प्रज्ज्वलन पश्चात् आयोजित शोक सभालाई पार्टीका शीर्ष स्थानीय तथा केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य जेन्टल लाओतीले देश परिवर्तनका लागि युवा (जेन-जी) पुस्ताले खेलेको भूमिका र उनीहरूको बलिदानको चर्चा गरे ।
त्यसैगरी, सुनसरी जिल्ला उपाध्यक्ष लोक बहादुर राई र धरान उपमहानगर उपाध्यक्ष मुना राईले बाढीपीडितहरूको उद्धार, राहत र पुनर्स्थापनामा राज्यले विशेष ध्यान दिनुपर्ने माग राख्दै पार्टी सधैँ जनताको सुख-दुःखमा साथै रहने प्रतिबद्धता जनाए । कार्यक्रममा उपस्थित सहभागीहरूले सहिदहरूको सपना पूरा गर्न र विपद्को समयमा एकजुट हुन आवश्यक रहेको कुरामा जोड दिएका थिए । कार्यक्रममा उनेपाका प्रदेश, जिल्ला, नगर, वडा तहका नेताहरू सहभागी थिए । कार्यक्रम नगर अध्यक्ष अमित याक्थुङ्बाले सञ्चालन गरेका थिए ।
तत्कालीन ओली सरकारले भदौ २०८२ मा दर्ता नभएका भन्दै फेसबुक, टिकटक लगायतका २६ वटा सामाजिक सञ्जालहरू निष्क्रिय पार्ने निर्णय गरेपछि युवाहरू आक्रोशित भएका थिए ।
समग्र आन्दोलन, देशव्यापी झडप र त्यसको भोलिपल्ट (भदौ २४ गते) सम्म भएका घटनाहरूलाई समेटेर नेपाली सेना र न्यायिक छानबिन आयोगले जारी गरेको अन्तिम प्रतिवेदन अनुसार कुल ७६ जनाले ज्यान गुमाएका थिए ।
आन्दोलनको रापका कारण तत्कालीन सरकार ढल्यो र मुलुकमा शान्तिपूर्ण सत्ता हस्तान्तरण भई युवा पुस्ताको नेतृत्वमा सरकार गठन भयो ।




