केम्पटन पार्कमा १७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, पासा पुचः गुथि यूकेलाई दुई प्रमुख उपाधि
लन्डन, ३० अगस्ट २०२६। बेलायतमा नेपाली कला, संस्कृति, भाषा र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित १७औँ नेपाली मेला आइतबार लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न भएको छ।
“हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने मूल नारासहित तमु धीं एसोसिएसन यूकेले नेपाली राजदूतावास लन्डनको सहकार्यमा आयोजना गरेको मेलामा बेलायतका विभिन्न क्षेत्रबाट आएका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
मेलाका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे थिए। आयोजक तमु धीं यूकेका पदाधिकारी, बेलायती स्थानीय निकायका प्रतिनिधि, विभिन्न सामाजिक तथा जातीय संस्थाका अगुवा, व्यवसायी, कलाकार, सञ्चारकर्मी तथा सर्वसाधारणको कार्यक्रममा उपस्थिति थियो।
औपचारिक समारोहमा बोल्ने वक्ताहरूले नेपाली मेलाले बेलायतमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायलाई एउटै थलोमा जोड्नुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पुर्ख्यौली पहिचानसँग परिचित गराउन महत्त्वपूर्ण योगदान पुर्याएको बताए।
मेलाको मुख्य आकर्षण विभिन्न समुदायले प्रस्तुत गरेका मौलिक सांस्कृतिक झाँकी, परम्परागत वेशभूषा, बाजागाजा र नृत्य थिए। सहभागी संस्थाहरूले नेपालको भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक विविधता झल्काउने प्रस्तुतिसहित मैदान परिक्रमा गरेका थिए।
लाखे, मारुनी, घाटु, कौरा, सोरठी, साकेला, धिमे तथा विभिन्न नेपाली लोकनृत्यले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। परम्परागत गरगहना र वेशभूषामा सजिएका बालबालिका, युवा तथा ज्येष्ठ नागरिकको सहभागिताले नेपाली संस्कृति पुस्तान्तरण भइरहेको सन्देश दिएको थियो।
पासा पुचः गुथि यूकेलाई एम्बासडर र एनआरएनए कप
यस वर्षको झाँकी तथा सांस्कृतिक प्रतियोगितामा पासा पुचः गुथि यूके उत्कृष्ट घोषित हुँदै प्रतिष्ठित एम्बासडर कप र एनआरएनए कप दुवै जित्न सफल भएको छ।
पासा पुचः गुथिले सापारु, घिन्ताङघिसी, धिमे नाच तथा नेवार समुदायको मौलिक संस्कृति र परम्परा समेटिएको आकर्षक प्रस्तुति दिएको थियो। संस्थाको प्रस्तुतिमा प्रयोग गरिएका परम्परागत बाजा, वेशभूषा र सामूहिक नृत्यले निर्णायक तथा दर्शकहरूको विशेष ध्यान तानेको थियो।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रस्तुति दिने अन्य समूहलाई पनि आयोजक र अतिथिहरूले नगद पुरस्कार, कप तथा प्रमाणपत्र प्रदान गरेका थिए। पुरस्कार वितरण समारोहले बेलायतमा रहेका नेपाली संघसंस्थालाई आफ्नो संस्कृति संरक्षण र प्रदर्शन गर्न थप प्रोत्साहित गरेको सहभागीहरूले बताएका छन्।
मेलास्थलमा नेपाली खाना, पोशाक, गरगहना, हस्तकला, सामाजिक सेवा, परोपकारी संस्था तथा विभिन्न व्यवसायका दर्जनौँ स्टल राखिएका थिए। मःम, सेलरोटी, चाउमिन, छोयला र सेकुवालगायत परिकारका स्टलमा दिनभर भीड लागेको थियो। स्वास्थ्य, शिक्षा, पर्यटन, रेमिट्यान्स तथा व्यावसायिक सेवासम्बन्धी जानकारी दिने स्टलहरू पनि मेलामा राखिएका थिए।
बालबालिका तथा परिवारका लागि मनोरञ्जनात्मक गतिविधिको व्यवस्था गरिएको थियो। कलाकारहरूको सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष मनोरञ्जनले कार्यक्रमलाई साँझसम्म उत्सवमय बनाएको थियो।
मेलाको बचत बाढीपीडितलाई
यस वर्षको नेपाली मेला सांस्कृतिक उत्सवमा मात्र सीमित नरही मातृभूमिमा परेको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता प्रकट गर्ने माध्यमसमेत बनेको छ। तमु धीं यूकेले मेलाबाट हुने सम्पूर्ण मुनाफा नेपालका बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरेको जनाएको छ।
कार्यक्रममा नेपालको पछिल्लो बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरिएको थियो। सहभागी संघसंस्था तथा सर्वसाधारणलाई पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न आह्वानसमेत गरिएको थियो।
तमु धीं यूकेले नेपाली राजदूतावास लन्डनसँगको सहकार्यमा सन् २००९ देखि नेपाली मेला आयोजना गर्दै आएको छ। बेलायतमा नेपाली समुदायद्वारा आयोजना हुने प्रमुख सांस्कृतिक कार्यक्रममध्ये एकका रूपमा स्थापित मेलाले नेपाली संस्कृति बेलायती बहुसांस्कृतिक समाजमा परिचित गराउनुका साथै विभिन्न नेपाली समुदायबीच एकता, सहकार्य र सद्भाव बढाउँदै आएको छ।
आयोजकले मेलालाई सफल बनाउन सहयोग गर्ने राजदूतावास, सहभागी संघसंस्था, स्वयंसेवक, प्रायोजक, व्यवसायी, कलाकार, सञ्चारकर्मी तथा दर्शकप्रति आभार व्यक्त गरेको छ।




