
बेलायतको नेपाली साहित्यिक वृत्तमा अहिले एउटा गम्भीर प्रश्न उठ्न थालेको छ-लन्डनस्थित नेपाली राजदूतावासमा आयोजना गरिएको ‘किताब जात्रा युके’ वास्तवमै बेलायतभरिका नेपाली साहित्यकारको साझा उत्सव हो अथवा सीमित व्यक्ति, समूह र घेराको उपस्थितिमा सम्पन्न हुने एउटा औपचारिक कार्यक्रम मात्र ?
‘किताब जात्रा युके’को तेस्रो संस्करण २१ अगस्ट २०२६ मा लन्डनस्थित नेपाली दूतावासमा सम्पन्न भएको समाचार सार्वजनिक भएको छ । भनिन्छ, नेपाली साहित्य, संस्कृति, जीवनशैली र व्यवसायका विविध पक्षलाई समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम हुनु आफैँमा स्वागतयोग्य विषय हो । बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आवश्यक पनि छन् ।
तर मूल प्रश्न कार्यक्रम भयो कि भएन भन्ने होइन ।
प्रश्न हो-कसका लागि भयो ? कसलाई समेटियो ? र कसरी समेटियो ?

कार्यक्रमका सार्वजनिक तस्बिर र विवरण हेर्दा सहभागी र मञ्चमा देखिने अनुहारहरू एउटा निश्चित घेराभित्र सीमित देखिन्छन् । त्यसले स्वाभाविक रूपमा अर्को प्रश्न जन्माउँछ त्यो के हो भने बेलायतमा नेपाली साहित्य सिर्जना गर्ने, साहित्यिक गतिविधि सञ्चालन गर्ने र नेपाली भाषाका लागि योगदान पुर्याउने व्यक्तिहरू यत्तिमै सीमित छन् ?
गत वर्ष देखिएका केही अनुहार यो वर्ष पनि देखिनु आफैँमा समस्या होइन । योगदान गर्ने व्यक्तिलाई दोहोर्याएर बोलाउनु गलत पनि होइन तर प्रश्न प्रतिनिधित्वको सन्तुलन भित्रको हो । एउटै समूह, एउटै वृत्त र उही अनुहार बारम्बार उही मञ्चमा देखिँदा बाँकी साहित्यिक समुदायलाई बाहिर राखिएको अनुभूति हुनु स्वाभाविक हो ।
बेलायतमा दशकौँदेखि नेपाली भाषा र साहित्यका लागि निरन्तर काम गरिरहेका लेखक, कवि, समालोचक, सम्पादक, पत्रकार, प्रकाशक तथा साहित्यिक संस्थाहरू छन् । डायस्पोरामा बसेर नेपाली साहित्यलाई जीवित राख्ने एउटा ठुलो पुस्ता छ । कसैले कविता लेखिरहेका छन्, कसैले आख्यान, कसैले संस्मरण, कसैले यात्रा साहित्य, कसैले समालोचना त कसैले मातृभाषा संरक्षणका लागि काम गरिरहेका छन् ।
अझ नेपाली साहित्यमा पहिचानमूलक लेखन र युद्ध साहित्यलाई स्थापित गर्न योगदान दिने स्रष्टाहरूलाई सम्मान तथा पुरस्कारमार्फत प्रोत्साहन गर्ने संस्था तथा व्यक्तिहरू पनि बेलायतमै छन् । गोर्खा समुदायको इतिहास, सङ्घर्ष, युद्ध, विस्थापन, पहिचान र अनुभवलाई साहित्यको विषय बनाउँदै आएको एउटा महत्त्वपूर्ण धार यहीँ विकसित भएको छ ।
तर प्रश्न उठ्छ-खै: त उनीहरू ? खै: सम्झिएको ? खै: समेटिएको इत्यदी ।
छातीमा हात राखेर बेलायतमा नेपाली मूलका व्यक्तिको पहिचानबारे सोध्ने हो भने धेरै बेलायती नागरिकको पहिलो उत्तर अझै पनि ‘गोर्खाली’को नै आउँछ । पहिले गोर्खा पहिचान सम्झने समाजमा नेपाली साहित्यले गोर्खा इतिहास र अनुभवलाई कसरी आत्मसात् गरेको छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ ।
त्यसो भए नेपाली साहित्यको राष्ट्रिय स्तरको कार्यक्रम हुँदा गोर्खा साहित्य, युद्ध साहित्य, डायस्पोरा साहित्य र पहिचानको साहित्य लेख्ने स्रष्टाहरूलाई किन समान स्थान दिइँदैन ?
बेलायतमा सक्रिय साहित्य विकास परिषद्, अनेसास, बिनेसास, प्रतिभा प्रतिष्ठान, समकालीन साहित्य डटकम, साहित्य सँगालो डटकम, बेलायत वाङ्मय प्रतिष्ठान, बेलायत मुक्तक प्रतिष्ठान, पर्यासाहित्य, काव्य सन्ध्या लगायतका साहित्यिक संस्था तथा समूहलाई समेट्दा आखिर कसको के बिग्रिन्थ्यो ?
बरु कार्यक्रमको गरिमा बढ्थ्यो । प्रतिनिधित्व फराकिलो हुन्थ्यो । बेलायतको नेपाली साहित्यिक समुदायले पनि ‘यो हाम्रो कार्यक्रम हो’ भनेर अपनत्व महसुस गर्ने थियो ।
नेपाली दूतावासले आफ्नो आधिकारिक वेबसाइटमै बेलायतस्थित नेपाली डायस्पोरा र गोर्खा समुदायलाई नेपाल–बेलायत बिचको सांस्कृतिक सम्बन्धको महत्त्वपूर्ण सेतुका रूपमा उल्लेख गरेको छ । त्यसो भए साहित्यको क्षेत्रमा पनि यही समावेशी दृष्टिकोण व्यवहारमा किन देखिँदैन त ? राजदूतावास किन सीमित वर्ग र जातीय घेराका अनुहारमै सीमित देखिन्छ ? यो प्रश्न अब झन् गम्भीर रूपमा उठाउनुपर्ने भएको छ ।
खासमा नेपाली दूतावास कसको हो ? दूतावास कुनै व्यक्ति, समूह, गुट वा निश्चित जातीय वृत्तको होइन । सबैलाई थाहा छ कि -यो नेपाल राज्यको आधिकारिक प्रतिनिधि संस्था हो । त्यसैले यसको सांस्कृतिक तथा साहित्यिक गतिविधिमा पनि नेपालको विविधता र बेलायतस्थित नेपाली समुदायको विविधता प्रतिबिम्बित हुने गरी सञ्चालन हुनुपर्छ ।
तर व्यवहारमा पटक-पटक एउटै सामाजिक, जातीय वा व्यक्तिगत सम्बन्धको घेराबाट आएका अनुहारहरू प्राथमिकतामा परेको अनुभूति हुनु चिन्ताको विषय हो ।
प्रतिनिधित्व भन्नाले एउटै समुदायका केही परिचित अनुहारलाई पटक–पटक मञ्चमा राख्नु मात्र होइन । प्रतिनिधित्व भनेको विविध जाति, क्षेत्र, पुस्ता, पेसा, साहित्यिक धार, संस्था र विचारलाई समान अवसर दिनु हो ।
नेपाल आफैँ विविध जाति, भाषा, संस्कृति र भूगोल भएको देश हो । बेलायतको नेपाली समुदाय पनि त्यत्तिकै विविध छ । यस्तो अवस्थामा दूतावासले एउटा निश्चित सामाजिक वा जातीय वृत्तलाई मात्र नेपाली समुदायको प्रतिनिधि ठान्ने हो भने त्यो नेपालको विविधताको प्रतिनिधित्व होइन; त्यो प्रतिनिधित्वको सङ्कुचन हो ।
प्रश्न कुनै जाति वा समुदायलाई हटाउने होइन । प्रश्न हो-सबैलाई समान रूपमा समेट्ने कि एउटै घेरालाई मात्र निरन्तर प्राथमिकता दिने ?
दूतावासको पहुँच सम्बन्ध, निकटता र व्यक्तिगत चिनजानका आधारमा निर्धारण हुने हो कि योगदान, क्षमता र प्रतिनिधित्वका आधारमा ? यसको स्पष्ट जवाफ आवश्यक छ ।
सूचना कसरी पुग्छ ? छनोटको मापदण्ड के हो ?
यदि कार्यक्रम साँच्चिकै बेलायतको नेपाली साहित्यको साझा उत्सव हो भने यसको सूचना सबै साहित्यिक संस्था, साहित्यकार, लेखक, पत्रकार तथा सम्बन्धित सञ्चारमाध्यमसम्म समान रूपमा पुग्नुपर्छ कि पर्दैन ? अतिथि र सहभागी छनोटका स्पष्ट र पारदर्शी मापदण्ड हुनुपर्छ कि पर्दैन ?
कसलाई किन बोलाइयो ? कसलाई किन बोलाइएन ? कुन आधारमा वक्ता छनोट भए ? कुन आधारमा सम्मान वा प्रस्तुति दिइयो ? यी प्रश्न सोध्नु कसैको व्यक्तिगत अपमान होइन । यी प्रश्न संस्थागत पारदर्शिता, जबाफदेहिता र समान प्रतिनिधित्वका प्रश्न हुन् ।
दूतावासको सांस्कृतिक कार्यक्रम कुनै निजी क्लबको वार्षिक जमघट होइन । पत्रकारको सहभागिता र सार्वजनिक खर्चबारे पनि प्रश्न उठ्छ । अर्को गम्भीर प्रश्न पत्रकारिता र सार्वजनिक खर्चसँग सम्बन्धित छ ।
नेपालबाट बेलायत आउने पत्रकारहरू विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने, यात्रा गर्ने वा अन्य खर्च व्यवस्थापन हुने अवस्था छ भने त्यसबारे सार्वजनिक चासो हुनु स्वाभाविक हो । यहाँ कसैमाथि आरोप लगाउन खोजिएको होइन तर प्रश्न स्पष्ट छ ।
यदि कुनै पत्रकार वा सञ्चारकर्मीको बेलायत भ्रमण वा सहभागितामा सरकारी, संस्थागत वा सार्वजनिक बजेट प्रयोग भएको छ भने त्यसको स्रोत, उद्देश्य, प्रक्रिया र खर्च पारदर्शी हुनुपर्छ कि पर्दैन ? सरकारी बजेट कसैको व्यक्तिगत सम्पत्ति होइन । त्यो जनताको पैसा हो । त्यसैले सार्वजनिक स्रोतबाट सञ्चालित कार्यक्रमहरूमा जबाफदेहिता र पारदर्शिता अनिवार्य हुन जरुरी छ ।
दुई लाखभन्दा बढी नेपाली भएको देशमा प्रतिनिधित्व यति साँघुरो किन ?
बेलायतमा दुई लाखभन्दा बढी नेपाली रहेको बताइन्छ । यो समुदायभित्र अनेक जाति, क्षेत्र, पुस्ता, पेसा, राजनीतिक चेतना, सांस्कृतिक पृष्ठभूमि र साहित्यिक धार छन् ।
यस्तो विशाल र विविध समुदाय बीच दूतावासले आयोजना गर्ने साहित्यिक कार्यक्रम केही परिचित अनुहारमा मात्र सीमित भयो भने त्यसले स्वाभाविक रूपमा असन्तुष्टि जन्माउँछ ।
पुरानो पुस्ताका स्रष्टा छन्, नयाँ पुस्ताका लेखक छन् । बेलायतमै जन्मिएर नेपाली भाषामा लेख्नेहरू छन् । नेपालबाट आएर दशकौँदेखि बेलायतमा साहित्य साधना गरिरहेका छन् । गोर्खा इतिहास र युद्ध साहित्यमा कलम चलाउनेहरू छन् ।
महिला स्रष्टाहरू छन् । विभिन्न जातीय तथा क्षेत्रीय समुदायबाट आएका साहित्यकार छन् । स्वतन्त्र रूपमा लेख्नेहरू छन् । संस्थामार्फत साहित्यिक गतिविधि गर्नेहरू छन् ।
यी सबै मिलेर बेलायतको नेपाली साहित्य बनेको हो । त्यसैले कुनै एउटा घेरा नै सम्पूर्ण बेलायती नेपाली साहित्य हो भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ । किताब जात्रा ‘केही अनुहार’को जात्रा बन्नु हुँदैन ।
किताब जात्रा राम्रो अवधारणा हो । यसको विरोध गर्नुपर्ने कुनै कारण छैन तर राम्रो कार्यक्रमलाई अझ राम्रो बनाउने प्रश्न उठाउनु विरोध होइन ।
यसअघि भएका कार्यक्रमको इतिहास पनि हेरिनुपर्छ । कति व्यापक थिए, कति स्रष्टा समेटिएका थिए, कसरी कविता कथा र अन्य लेखहरूको सङ्कलित कृति निकालेर नेपाली प्रज्ञा प्रतिष्ठानमा एउटा पुल खडा गरिएको थियो । कति संस्था जोडिएका थिए र त्यस वेला समुदायले कस्तो अपनत्व महसुस गरेको थियो ?
त्यसो त साहित्य कुनै समूहको निजी सम्पत्ति होइन । कवि, या लेखक गाउँबाट आएको होस् वा सहरबाट, नेपालबाट आएको होस् वा बेलायतमै जन्मिएको होस्, पुरानो पुस्ताको होस् वा नयाँ पुस्ताको-यदि उसले नेपाली भाषा, साहित्य र संस्कृतिमा योगदान गरिरहेको छ भने उसको आवाज सुन्ने ठाउँ हुनुपर्छ ।
दूतावासले कसैलाई उपेक्षा गर्ने होइन, सबैलाई जोड्नुपर्छ । सबैलाई इन्भल्व गरए पो इनोभेसनका पलेँटाहरू जन्मन्छन् । दिखियो कि बेलायतको मध्यस्थ कर्ता नै मञ्च मा आजित हुन पाए पछि पुगी गयो जस्तो ।
अरू आते जाते, गोली मार्दे जस्तो ।
त्यसका लागि अब अर्को वर्ष फेरि उही अनुहार, उही घेरा र उही शैली दोहोर्याएर पुग्दैन । किताब जात्रा बेलायतको यात्रा होइन, बेलायतको नेपाली साहित्यको यात्रा बन्नुपर्छ भन्ने हो ।
भविष्यमा यो पनि होला कि ‘खुला सूचना, स्पष्ट छनोट मापदण्ड, संस्थागत परामर्श, जातीय तथा क्षेत्रीय विविधताको सम्मान, पुस्तागत प्रतिनिधित्व र सार्वजनिक खर्चको पारदर्शिता यित्यादी ।’
दूतावासले यदि साँच्चिकै सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्न चाहन्छ भने उसले आफ्ना कार्यक्रमको ढोका फराकिलो बनाउनुपर्छ ।
हामी सम्पूर्ण बेलायतवासी सम्पूर्ण साहित्य संस्थाहरू प्रस्ट छौँ न कि ‘बेलायतको नेपाली साहित्यलाई प्रतिनिधित्व गर्ने अधिकार कसको हातमा छ ?’ र त्यो प्रश्नको उत्तर केही परिचित अनुहारले होइन, सम्पूर्ण नेपाली साहित्यिक समुदायले पाउनुपर्छ । समेटिनु पर्छ अनि मात्र नेपाल दूतावासमा किताब जात्रा गरेको मस्कत आउँला । नत्र भने यो ‘कहीँ नलागेको जात्रा हाँडी गाउँमा’ भने जस्तो देखिएन र ?
– हाल बेलायत




