धनकुटा महेन्द्र पार्कको स्थानीय नागरिकहरू आफैले पुनर्निर्माण गरे

१५ नोभेम्बर २०२० । वि सं २०१२ सालमा तत्कालीन धनकुटा गौंडा प्रशासनले बैज्ञानिक शैलीमा मिलाएर खुल्ला सभा हल निर्माण गरेको धनकुटाको सल्लेरीको सिरानमा भग्नावशेषका रूपमा रहेको पार्कलाई स्थानीय नागरिकहरूले उनीहरूकै सक्रियता र पहलमा हालै पुनर्निर्माण गरेका छन् । सो पार्कलाई स्थानीय मानिसहरू महेन्द्र पार्कका नाममा चिन्दछन् ।

वि सं २०१३ सालमा तत्कालीन राजा महेन्द्र धनकुटा दौडाहा गर्ने तयारीको शिलशिलामा धनकुटा गौंडाका तत्कालीन वडाहाकिम रङ्गनाथ उप्रेतीको निर्देशनमा उक्त पार्क निर्माण भएको मानिन्छ ।

सो पार्कमा राजा महेन्द्रले दौडाहाका क्रममा मन्त्रिपरिषदको वैठक राखेको र सोही पार्कको बाटो हुँदै पूर्वको शिक्षाको ज्योतिका रूपमा रहेको धनकुटा इन्टर कलेज समेत उद्घाटन गर्दै बजार परिक्रमा गरि मूलघाटको बाटो हुँदै धरानतर्फ झरेको स्थानीय जेष्ठ नागरिकहरूले बताएका छन् ।

सो पार्कमा राजा बीरेन्द्र तथा राजपरिवारका अन्य सदश्यहरू, पूर्व राजा ज्ञानेन्द्र लगायत विभिन्न मुलुकका राजदूतहरू पनि घुम्न पुगेको सो पार्कको रमणीयताबाट आकर्षित भएको स्थानीय बुढापाकाहरू बताउँदछन् ।

सो पार्क द्वन्द्वका कारण पूर्ण रूपमा क्षतविक्षत भएको र अवशेषसम्म पनि निमिट्यान्न हुन लागेको अवस्थामा इतिहासकार ठाकुरप्रसाद बरालको पूर्ण सक्रियता र संयोजन, पत्रकार राजेश्वरबहादुर श्रेष्ठ, मूर्तिकार श्रीकृष्ण श्रेष्ठ र शहीदपुत्र मनोजनारायण श्रेष्ठ समेतको सक्रियतामा सो पार्कको पुनर्निर्माण भएको हो छ ।

सो कार्यका लागि दुर्गा पोख्रेल (पीएचडी) (अमेरिका) रू ५०,०००|, मिलन दाहाल रू २,५००|,ज्योतिराम पोख्रेल ५,०००|, चन्द्रदिप यादव रू १,०००|, नरेन्द्रजङ्ग वस्नेत ५,०००|, सोमन्त घिमिरे(जापान),५,५४५|, तीर्थप्रसाद मिश्र,(पीएचडी) रू २५,०००| ,पिताम्बर भट्टराई रू ५,५४५|, सीताराम पराजुली रू ५,००५|, लोकेन्द्र राया रू २५,०००|, रूद्रप्रसाद पोख्रेल (धरान) ११,१००|, विश्वासदिप तिगेला (वेलायत) ५,००१|, डा गोपालबहादुर भट्टराई रू ५,७००| समेत १३ जनाबाट आर्थिक सहयोग वापत रू १,५१,४०२| प्राप्त भएको थियो ।

त्यसैगरी द्रोणप्रसाद गुरागाईले रू १०,१२०| बरावरको चून र ज्ञानबहादुर थापाले रू ५,०००| बराबरका गेट निर्माण प्रयोजनका लागि अन्य निर्माण सामग्री उपलव्ध गराउनु भएको थियो । सो पार्क पुरानै प्रविधि चून, सुर्की इटाको प्रयोग गरि बनाइएको छ ।

कतिपय युवालाई पुरानो प्रविधिको ज्ञान दिलाउन, इतिहासको संरक्षण गर्न, सो प्रविधिलाई प्रोत्साहन गर्न र आम सहभागिताबाट मात्र पनि कतिपय कार्य गर्न सकिन्छ । राम्रो काम जनताले मात्र पनि गर्न सक्छन् भन्ने कुराको उदाहरणका रूपमा प्रस्तुत गर्न यो कार्य गरिएको कुरा पार्क निर्माण संयोजनकर्ता इतिहासकार बरालले बताए ।

सो पार्कमा पुनर्निर्माण भएपछि स्थानीय पर्यटकहरूको चहल पहल बढेको छ । धनकुटेलीहरू यस पार्कलाई धनकुटाको पहिचान, गौरव तथा शानका रूपमा मान्दछन् र पुनर्निर्माण भएपछि खुसी भएका छन् ।