कृषितर्फ आकर्षित हुँदै भोजपुरका किसान

युवराज विष्ट/रासस
भोजपुर, ४ भदौः जिल्लामा सञ्चालन भएका विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रमले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । कृषि उत्पादनका लागि आवश्यक सिँचाइ पूर्वाधार, उन्नत बिरुवा, कृषि यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग उपलब्ध हुन थालेपछि जिल्लाका किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फउन्मुख हुन थालेका हुन् ।
कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमबाट सुन्तला, अलैँची, तरकारी, खुर्सानीलगायत नगदे तथा व्यावसायिक बालीको क्षेत्र विस्तार हुन थालेको छ । अनुदानसँगै प्राविधिक परामर्श र आवश्यक कृषि सामग्री उपलब्ध हुँदा किसानलाई नयाँ प्रविधि प्रयोग गरेर उत्पादन बढाउन थप हौसला मिलेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभा अन्तर्गतको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ सञ्चालन गर्दै आएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडा यस कार्यक्रममा समेटिएका छन् । यसैगरी सुन्तलाखेती प्रवर्द्धनका लागि पाँच स्थानीय तहका २६ वडालाई समेटेर ‘सुन्तला जोन’ स्थापना गरिएको छ ।
जोन प्राविधिक एकाइ भोजपुरका प्रमुख कौसिला विष्टका अनुसार कार्यक्रमअन्तर्गत किसानलाई अनुदानसँगै खेती प्रविधि, रोग तथा कीरा नियन्त्रण, बगैँचा व्यवस्थापन, सिँचाइ, कृषि यान्त्रीकरण तथा उत्पादनको बजारीकरणलगायत विषयमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा मात्र विभिन्न शीर्षकमा १०९ जना किसानले अनुदान सहयोग प्राप्त गरेका छन् । प्रमुख विष्टले भन्नुभयो, “अनुदानसँगै किसानलाई आवश्यक प्राविधिक ज्ञान र प्रविधि उपलब्ध गराउँदा उत्पादनमा वृद्धि हुनुका साथै व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।”
कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमले पनि जिल्लामा व्यावसायिक कृषिको आधार विस्तार गर्न सहयोग पु¥याएको छ । यस कार्यक्रमअन्तर्गत भोजपुर नगरपालिका–५ की सङ्गीता श्रेष्ठले १०० रोपनी क्षेत्रमा व्यावसायिक तरकारी तथा खुर्सानीखेती गर्दै आउनुभएको छ । उहाँको कृषि उद्यमका लागि कार्यालयले रु चार लाख अनुदान उपलब्ध गराएको थियो भने ५० प्रतिशत लागत साझेदारी किसान आफैँले गर्नुभएको छ । कृषिमा लगानी गर्न आवश्यक पुँजीको अभाव रहेका किसानका लागि लागत साझेदारीमा प्राप्त हुने अनुदानले व्यवसाय विस्तार गर्न सहज भएको उहाँको भनाइ छ ।
तरकारी तथा खुर्सानी खेतीबाट नियमित आम्दानी लिन सकिने भएपछि अन्य किसान पनि व्यावसायिक उत्पादनतर्फ आकर्षित हुन थालेको उहाँ बताउनुहुन्छ ।
सोही कार्यक्रममार्फत जिल्लाका अन्य पाँच वटा कृषि फर्मलाई रु चार/चार लाखका दरले अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ । यसबाट कृषि व्यवसाय सञ्चालन गरिरहेका किसानले उत्पादनका लागि आवश्यक संरचना निर्माण, सिँचाइ, कृषि सामग्री तथा अन्य पूर्वाधार विकासमा लगानी गर्न पाएका छन् ।
भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान हरिप्रसाद प्रधान पनि अनुदानबाट लाभ लिने किसानमध्ये हुनुहुन्छ । उहाँले कार्यालयबाट प्राप्त सहयोगले व्यावसायिक कृषि विस्तार गर्न थप प्रेरणा मिलेको बताउनुभयो ।
गत आवमा अनुदान सहयोगमा पक्की सिँचाइ पोखरी निर्माण गर्नुका साथै करिब २० रोपनी क्षेत्रफलमा ५०० सुन्तलाका बिरुवा खेती विस्तार गर्नुभएको छ ।
“राज्यको अनुदानका कार्यक्रमले हामीजस्ता किसानलाई राहत मिलेको छ”, उहाँले भन्नुभयो, “सिँचाइको व्यवस्था भएपछि बगैँचा विस्तार गर्न सहज भएको छ । पहिले पानीको अभावमा खेती विस्तार गर्न समस्या थियो । अहिले संरचना बनेपछि उत्पादन बढाउने लक्ष्यसहित काम गरिरहेको छु ।”
भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले राज्यका तहबाट सञ्चालन भइरहेका अनुदानका कार्यक्रमले किसानलाई व्यावसायिक बन्न सहयोग पुगेको बताउनुभयो । “अनुदानमा सञ्चालन भएका कार्यक्रमले किसानलाई व्यावसायिक कृषि उत्पादनमा लाग्न टेवा पुगेको छ”, प्रमुख आलेले भन्नुभयो, “किसानले अनुदानको सदुपयोग गरेर उत्पादन र आम्दानी बढाउनेतर्फ ध्यान दिन आवश्यक छ ।”
सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रमले पनि किसानलाई व्यावसायिक उत्पादनमा लाग्न सहयोग गरेको छ । कार्यालयका अनुसार गत आवमा यस कार्यक्रममार्फत ५४ जना किसानलाई अनुदान सहयोग उपलब्ध गराइएको छ । सिँचाइ सुविधा विस्तार भएपछि वर्षामा मात्र निर्भर हुनुपर्ने अवस्थाको अन्त्य हुँदै गएको छ ।
कृषि उत्पादनमा सिँचाइको महत्वपूर्ण भूमिका हुने भएकाले पोखरी, पाइपलाइनलगायत संरचना निर्माणमा दिइएको सहयोगले किसानलाई बाली विविधीकरण गर्नसमेत सहज बनाएको कार्यालयको भनाइ छ । सिँचाइ सुविधा पुगेका क्षेत्रमा एउटै बालीमा मात्र निर्भर नरही तरकारी, सुन्तला, खुर्सानी तथा अन्य नगदेबाली लगाउनेक्रम बढेको छ । अलैँची उत्पादनलाई गुणस्तरीय र व्यावसायिक बनाउन सुधारिएको आधुनिक अलैँची भट्टी निर्माण तथा जडान कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
यस कार्यक्रमअन्तर्गत गत आवमा ३० वटा आधुनिक अलैँची भट्टी वितरण गरिएको कार्यालयले जनाएको छ । परम्परागत भट्टीको तुलनामा आधुनिक प्रविधिको प्रयोगबाट अलैँची सुकाउँदा गुणस्तर कायम गर्न तथा उत्पादनको मूल्य बढाउन सहयोग पुग्ने किसानको भनाइ छ ।
सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ११ वटा कृषि फर्मले अनुदान प्राप्त गरेका छन् । यस कार्यक्रमबाट सिँचाइ पोखरी निर्माण, सुन्तलाका बिरुवा, पाइप वितरण तथा कृषि यान्त्रीकरणमा सहयोग गरिएको छ । सुन्तलाखेतीमा नयाँ क्षेत्र विस्तार गर्नुका साथै पुराना बगैँचाको व्यवस्थापनमा किसानलाई प्रोत्साहन गरिएको कार्यालयले जनाएको छ ।
भोजपुरको मध्यपहाडी क्षेत्रमा सुन्तलाखेतीको राम्रो सम्भावना रहेकाले बगैँचा विस्तारसँगै गुणस्तरीय बिरुवा उत्पादन र रोग नियन्त्रणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको कृषि प्राविधिकको भनाइ छ ।
कार्यालयले सुन्तला नर्सरी सुदृढीकरण, अलैँची नर्सरी स्रोत केन्द्र स्थापना, नमुना सुन्तला बगैँचा विकास, अलैँची बालीको छहारी व्यवस्थापन, कृषि यान्त्रीकरण तथा खाद्यतत्व सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कृषिजन्य तथा रैथाने बालीको प्रशोधन, लेबलिङ तथा बजारीकरण सहयोग कार्यक्रमले पनि स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास गरेको छ । रामप्रसादराई गाउँपालिका–६ मा रैथाने बालीअन्तर्गत कोदोको बिस्कुट उत्पादन सुरु गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोलाई प्रशोधन गरेर नयाँ परिकारका रूपमा बजारमा लैजान सकिने सम्भावना यसबाट देखिएको छ । कोदो, फापर, मकै, कागुनोलगायत रैथाने बालीलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी प्याकेजिङ तथा ब्रान्डिङ गर्नसके स्थानीय उत्पादनले जिल्लाभन्दा बाहिरसमेत बजार पाउनसक्ने सम्भावना रहेको छ ।
चक्लाबन्दीमा आधारित खेती कार्यक्रमले पनि भोजपुरमा व्यावसायिक कृषि विस्तारको आधार तयार गरिरहेको छ । कार्यालयका अनुसार गत आवमै यस कार्यक्रममार्फत १०२ रोपनी क्षेत्रफलमा अलैँचीखेती विस्तार गरिएको छ ।
उक्त क्षेत्रमा ५५ हजार अलैँचीका बिरुवा रोपण गरिएको छ । छरिएर रहेको जमिनलाई एकीकृत गरी व्यावसायिक उत्पादन गर्नसके कृषि लागत घटाउनुका साथै यान्त्रीकरणमा सहजता हुने भएकाले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ ।
सानासाना टुक्रामा खेती गर्दा श्रम तथा उत्पादन लागत बढी पर्ने अवस्थामा चक्लाबन्दीले उत्पादन प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने देखिएको छ ।
कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत सञ्चालित योजनाले युवालाई कृषि व्यवसायमा जोडिन सहयोग पुगेको छ ।
रोजगारीका लागि वैदेशिक मुलुक तथा सहरतर्फ जाने प्रवृत्तिबीच स्थानीयस्तरमै कृषि उद्यम सञ्चालन गरी आम्दानी गर्न सकिने वातावरण निर्माण गर्न यस्ता कार्यक्रम उपयोगी हुने देखिएको छ । कृषिमा आधुनिक प्रविधिको प्रयोग बढेसँगै उत्पादन लागत घटाउने, श्रम अभाव पूर्ति गर्ने र उत्पादकत्व बढाउने सम्भावना पनि बढेको छ ।
कृषि यान्त्रीकरणका लागि उपलब्ध गराइने सहयोगले किसानलाई परम्परागत उपकरणको विकल्पमा आधुनिक उपकरण प्रयोग गर्न प्रोत्साहित गरेको छ । यसबाट खेती गर्न लाग्ने समय र श्रम घट्नुका साथै उत्पादनमा सुधार आउने कार्यालयको भनाइ छ ।
जिल्ला समन्वय समिति भोजपुरका उपप्रमुख अनिशा खड्काले राज्यका विभिन्न निकायबाट प्राप्त अनुदान तथा प्राविधिक सहयोगले किसानलाई व्यावसायिक बन्न टेवा पुगेको बताउनुभयो । कृषि क्षेत्रमा लगानी बढेसँगै किसानको आयआर्जन तथा जीविकोपार्जनमा महत्वपूर्ण सहयोग पुगेको उहाँको भनाइ छ ।
कृषि क्षेत्रमा दिइने अनुदानले तत्कालीन रूपमा उत्पादन सामग्री तथा पूर्वाधार निर्माणमा सहयोग पु¥याए पनि यसको दीर्घकालीन प्रभावका लागि बजार सुनिश्चितता, उत्पादनको उचित मूल्य, भण्डारण, प्रशोधन तथा बजारीकरणमा ध्यान दिनुपर्ने देखिएको छ ।
विशेषगरी सुन्तला र अलैँचीजस्ता नगदेबालीमा मूल्यमा हुने उतारचढाव किसानका लागि चुनौती बन्ने गरेको छ । उत्पादन लागत, ढुवानी खर्च र बजार मूल्यबीच सन्तुलन कायम गर्न नसक्दा किसानले अपेक्षित आम्दानी लिन नसक्ने अवस्था आउन सक्छ । त्यसैले उत्पादनसँगै भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको छ ।
कृषिउपजको सङ्कलन तथा बिक्री केन्द्र स्थापना, चिस्यान केन्द्र, प्रशोधन उद्योग र स्थानीय ब्रान्ड विकास गर्नसके भोजपुरका किसानले उत्पादनको उचित मूल्य पाउनसक्ने सम्भावना छ । स्थानीय तह, कृषि कार्यालय, सहकारी तथा किसान समूहबीच समन्वय गरी सामूहिक उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्नसके कृषि क्षेत्रबाट रोजगारी र आम्दानीका थप अवसर सिर्जना गर्न सकिने यस क्षेत्रको विज्ञहरुको भनाइ छ ।
कृषिमा बढ्दो सरकारी तथा संस्थागत लगानी, किसानको बढ्दो रुचि र स्थानीयस्तरमा उपलब्ध कृषि सम्भावनालाई एकीकृत रूपमा अघि बढाउनसके जिल्लाको अर्थतन्त्रको बलियो आधार बन्नसक्ने देखिन्छ । अनुदानमुखी कार्यक्रमलाई उत्पादनमुखी र परिणाममुखी बनाउन नियमित अनुगमन तथा मूल्याङ्कन आवश्यक रहेको स्थानीय जानकारहरुको धाराणा रहेको छ ।
भोजपुरमा सुन्तला, अलैँची, तरकारी, खुर्सानीलगायत बालीको व्यावसायिक सम्भावना रहेकाले उत्पादनको क्षेत्र विस्तारसँगै गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता छ । रोग तथा कीरा नियन्त्रण, माटो परीक्षण, गुणस्तरीय बिरुवा उत्पादन, जैविक तथा सन्तुलित मलको प्रयोग, आधुनिक सिँचाइ प्रणाली र कृषि यान्त्रीकरणलाई थप विस्तार गर्नसके उत्पादन र उत्पादकत्व बढाउन सकिने कृषि प्राविधिकहरूले बताउने गरेका छन् ।
—




