लेख

‘कोश टेपा नहर’ को निर्माणले दिएको सन्देश

नेत्र सुवेदी ‘प्रयास’/काठमाडौँ, २६ मङ्सिर : झट्ट सुन्दा नेपालको पूर्व कोशी प्रदेशमा पर्ने कोशी टप्पुजस्तो सुनिने तर नेपालभन्दा बाहिर सार्क सदस्य राष्ट्र अफगानिस्तानको उत्तरी भेगमा निर्माणाधीन मानव निर्मित नदी वा सिँचाइ नहरको नाम हो ‘कोश टेपा नहर’ । लामो समयसम्म शक्ति राष्ट्रको नियन्त्रण र गिद्धे नजरमा परेको र गृहयुद्धबाट जर्जर बनेको मुलुक जहाँ अहिले यसअघि स्वतन्त्रताको माग राखी हतियार उठाएको तालिवान समूह नै सरकार छ र त्यही तालिवान सरकारले अगुवाइ गरी मुलुकको विकास र निर्माणका लागि नमूना काम गरिरहेको हुँदा कोश टेपा नहर निर्माणले चर्चा पनि बटुलेको छ ।

हुन त अन्य मुलुकहरुमा पनि राष्ट्रिय महत्व र प्रतिष्ठाका ठूलाठूला परियोजनाहरु विगतदेखि बन्दै आएका थिए । ती परियोजनाले ती देशहरुको अर्थतन्त्रमा दूरगामी असर छाड्न सकेको पाइन्छ । जस्तो कि ब्लू नाइलको पानी प्रयोग भएको इथियोपियाको द ग्रान्ड रिनास बाँधलाई अफ्रिकाकै सबभन्दा ठूलो जलविद्युत् आयोजना मानिएको छ । यो पानी जम्मा गरेर जलविद्युत् उत्पादन गर्न तयार पारिएको बाँध हो । यसको लम्बाइ एक हजार आठ सय मिटर र उचाइ एक सय ४५ मिटर रहेको भने जलविद्युत् क्षमता छ हजार मेगावाट हुने अनुमान गरिएको छ । सन् २०२२ बाट उत्पादन र उपभोग सुरु भएको उक्त परियोजनाबाट उत्पादित केही विद्युत् विदेश निर्यात पनि भइसकेको छभने पूर्ण क्षमतामा उत्पादन हुनका लागि केही काम अझै पनि बाँकी छ । इथियोपियाले यो बाँध बाँधेर पानीको प्रयोग गरिरहँदा इजिप्ट र सुडानमा भने पानीको समस्या थप गहिरिँदै गएको भए पनि यो परियोजनाले अन्तरराष्ट्रियजगत्मै चर्चा बटुलेको छ ।

चीनको थ्री गर्जेज नहर

अब हाम्रो छिमेकी देश चीनतर्फ हेरौँ । उत्पादनका दृष्टिले सबैभन्दा बढी विद्युत् अर्थात् २२ हजार पाँच सय मेगावाट उत्पादन गर्ने थ्री गर्जेज नहर धेरैले नाम सुनेकै संरचना हो । चीनको हुवे प्रान्तमा पर्ने यो परियोजना सम्पन्न गर्न सन् १९९३ देखि २००६ सम्मको अवधि तथा २.३ खर्ब अमेरिकी डलर खर्च भएको थियो । यो बाँधको लम्बाइ २.३ किलोमिटर र उचाइ एक सय ८५ मिटर रहेको छ । याङ्गसी नदीबाट बाँधिएको यो बाँध निर्माणका बखत थुप्रै ऐतिहासिक कला समेटिएका संरचनाहरु हटाइएका थिए भने यो बाँधमा कुनै समस्या आयो भने ठूलो सङ्ख्याका सहर र गाउँहरु प्रभावित हुने भनेर वातावरणविद्हरुले आशंका व्यक्त गर्ने गरेको भए पनि चीनको विकासका लागि भने यो परियोजना एउटा अमूल्य वरदान साबित भएको छ । आकारका हिसाबले सबैभन्दा ठूलो भनेर लिइने बाँध भनेर जाम्बिया र जिम्बाबेको बीचबाट बग्ने जाम्बेसी नदीमा सन् १९५५ देखि सन् १९५८ सम्मको अवधिमा निर्माण भएको करिबा बाँधलाई चिनिन्छ । फ्रेन्च आर्किटेक्ट आन्द्रे कोयनले डिजाइन गरेको यो बाँधलाई पनि अफ्रिका महादेशकै शानका रुपमा लिन सकिन्छ ।

मानवनिर्मित नदीका रुपमा कोश टेपा नहर

कोश टेपा नहर भने अफगान सरकारले बाह्य सहयोग नलिएरै पाँच वर्षमा सम्पन्न गर्ने गरी काम अगाडि बढाएको सिँचाइ परियोजना हो । सन् २०२२ मार्च ३० मा औपचारिकरुपमा उद्घाटन कार्यक्रममा उपस्थित उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बरादरले परियोजनाको सुरुआत हुनु भनेको नै देशको आत्मनिर्भरताका लागि र खासगरी कृषि क्षेत्रका लागि एउटा महत्वपूर्ण पाइला भएको र परियोजनाको सफल कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए । साथै, उनले हामी आफ्नो कामका लागि अरूमा निर्भर हुन नहुने अभिव्यक्ति दिएका थिए । सोही अवसरमा कृषि सिँचाइ तथा पशु विकाससम्बन्धी कार्यवाहक मन्त्रीले अफगानीहरुको आर्थिक सवालमा अरूकै वर्चस्व रहेको र यसबाट बाहिर आउनुपर्ने, पानीको स्रोत पनि प्रयोग गर्न नसक्दा अरूले प्रयोग गरिरहेको बताएका थिए ।

कोश टेपा नहरकै कुरा गर्दा यो नहर आमुदरिया नदीबाट बाल्क प्रान्तमा बाँध बाधिने र जौजन प्रान्त हुँदै फरेव प्रान्तसम्म पुग्ने २८५ किलोमिटर लामो नहर तयार गर्नका लागि हाल पहिलो चरणको काम भैरहेको छ । यो परियोजना सम्पन्न हुँदा ५० हजार हेक्टरभन्दा बढी जमीनमा सिँचाइ सुविधा पुग्ने र गहुँ र खनिज तेलको आयात घटाउने आशा गरिएको छ । नहरको निर्माण तीन चरणमा सम्पन्न गर्ने गरी काम भैरहेको छ । पहिलो चरणको १०८ किमी लामो नहरको पूर्वाधार बनाउने काम अन्तिम चरणमा पुगेको छ भने दोस्रो र तेस्रो चरणमा गरी बाँकी १७७ किमी नहर पाँच वर्षभित्र सम्पन्न हुने प्रक्षेपण छ । नहर निर्माण सम्पन्न हुँदा जम्मा पाँच लाख ५० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । अन्तरराष्ट्रिय कानुनअनुसार आमु नदीबाट २६ प्रतिशत पानीमा अफगानिस्तानको अधिकार छ र हालसम्म १५ प्रतिशत मात्र प्रयोग भैरहेको छ । बाँकी पानीमा ताजकिस्तान र उज्वेकिस्तानको समेत साझेदारी रहेको छ । वास्तवमा पाँचवटा देशको भूभाग हुँदै बग्ने नदी हो आमुदरिया नदी । सीमावर्ती क्षेत्रमा आइपुग्दा ज्यादा भाग ताजकिस्तान (७२.८ प्रतिशत) मा पर्दछ भने १४.६ प्रतिशत अफगानिस्तानमा र ८.५ प्रतिशत उज्वेकिस्तानमा पर्दछ । आमुदरिया नदीका मुख्य सहायक नदीहरु काफिरनिगन शेरावाद र सुर्हनदरिया रहेका छन् ।

अफगानिस्तानका प्रान्त र सीमावर्ती देशहरु जनाउने नक्सा

अफगानिस्तान विभिन्न आदिवासी समूहहरुको बर्चस्व रहेको र द्वन्द्वबाट प्रभावित मुलुकमध्ये पर्दछ । विभिन्न समयक्रममा अफगानिस्तानमा बेलायत, रसिया र संयुक्त राज्य अमेरिकाले नियन्त्रणमा लिएको इतिहास छ । पाकिस्तान र अफगानिस्तानको बीचमा डेकन लाइनले छुट्याएको छ भने अन्य सीमावर्ती मुलुकसँग पनि बेलाबेला सीमा विवाद हुने गर्दछ । केही दोहोरो भूपरिवेष्ठित मुलुकहरुले समुद्रसम्म पुग्नका लागि अफगानिस्तानको भूभाग प्रयोग गर्नुपर्ने हुँदा सम्बन्ध चिढाउन नचाहेको पनि हुन सक्छ । द्वन्द्वको असर, सार्क सदस्यता, भूपेरिवेष्ठित हुनु, गरिबी र जातीय संरचनाको अवस्था हेर्दा नेपाल र अफगानीस्तानबीच समानताहरु भेटिन्छन् । सन् २०२१ अगस्ट १५ मा सत्ता कब्जा गरेर शक्तिमा आएको तालिबान नेतृत्वको सरकारले कसरी जनविश्वास जित्ने र के कसरी विकास र जीविकामा सहयोगी भूमिका निभाउन सक्छ भन्ने खोजीको फलस्वरुप कोश टेपा नहरको निर्माणले मूर्त रुप पाएको हुन सक्छ ।

कोश टेपा नहर निर्माणको उद्देश्य राख्दा नै अफगानिस्तानभित्रै गहुँको उत्पादन बढाई अहिले जति आयात गर्न परेको छ, त्यसको दोब्बर मात्रामा निर्यात गर्ने लक्ष्य राखिएको छ । यो परियोजना निर्माणमा स्वदेशी स्रोत मात्रै प्रयोग हुने र कसैको आर्थिक प्राविधिक सहयोग नलिने घोषणा पनि गरिएको छ । गरेमा सम्भव छ भन्ने सन्देश दिँदै भविष्यमा गरिने अन्य विकास क्रियाकलापका लागि उत्प्रेरकको काम गर्ने ध्येयका साथ सरकारले यो परियोजनामा ध्यान केन्द्रित गरेको देखिन्छ । यो आयोजना निर्माणका लागि नयाँ पुराना गरी चार हजारभन्दा बढी उपकरण प्रयोगमा छन् भने पाँच हजार पाँच सयभन्दा बढी व्यक्तिहरु काममा संलग्न छन् । परियोजना पूरा भएपछि पनि दुई लाख ५० हजार जति व्यक्तिहरुले रोजगारी पाउने प्रक्षेपण गरिएको छ ।

परियोजनाको बहुपक्षीय उपयोगिता विश्लेषण

ठूलो परियोजनाको रुपमा कोशटेपा नहरलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनेर एकपक्षीय ढङ्गले मात्र हेर्दा अपूरो हुन्छ । यो विकास परियोजनाको भूराजनैतिक तथा आन्तरिक राजनीतिको समेत एउटा सफलताको मापनका रुपमा लिन सकिन्छ । आन्तरिकरुपमा उत्पादन बढाई सबल बन्न सकेमा आन्तरिकरुपमा दिगो शान्ति सम्भव हुन्छ भने भूराजनैतिक सन्तुलनसमेत सहज हुन्छ । देशभित्रका विकास गतिविधिमा बाह्य शक्तिको पकड हुन नदिई साझा एजेण्डाका रुपमा अगाडि बढाइनु पक्कै पनि नेपालका लागि समेत सिक्नयोग्य मोडल नै हो । आर्थिक आयाममा त यो परियोजना आत्मनिर्भरतातर्फको गतिलो पाइला नै हो । भएकै स्रोत साधन एकीकृत गरी प्रष्ट लक्ष्यका साथ खर्च गरिएको छ । करिब १६ अर्ब अफगानी रुपैयाँ त खर्च भैसकेको छ । अहिले निर्माणकै चरणमा र पछि पनि यो परियोजनाले हजारौँ व्यक्तिलाई रोजगारी दिनेनै छ ।

यो परियोजना आफैँमा विकास गतिविधि हेर्न चाहनेका लागि पर्यटकीय गन्तव्य बन्न सक्छ । परियोजनाको सफलताले अन्य धेरै परियोजना बन्ने आधार तयार गर्ने र समृद्धिको मार्ग खोल्ने देखिन्छ । सामाजिक दृष्टिले समेत यो परियोजनाले योगदान गर्न सक्ने नै देखिन्छ । जस्तो कि नहर निर्माण सम्पन्न भइसक्दा खाद्य सुरक्षा, गरिबी निवारण र दिगो विकासमा यसको प्रत्यक्ष योगादान पुग्नेछ भने मानव निर्मित नदीका रुपमा सुख्खा क्षेत्रका बासिन्दाले सफा र सुरक्षित पानी दिगोरुपमा प्राप्त गर्नेछन् भने रोजगारीसँगै आयआर्जन तथा गुणस्तरीय जीवन सम्भव हुनेछ । सामाजिक सद्भाव शान्ति र एकताका साथसाथै समुत्थानमुखी समाज निर्माण हुने र सरकारप्रतिको विश्वास बढेर जाने देखिन्छ । यतिमात्र हैन कि परियोजनाको कार्यान्वयनबाट यहाँको स्थानीय पारिस्थितिक प्रणालीमा समेत परिवर्तन आउनेछ । स्वभाविकरुपमा नहरको निर्माणपछि यसको वरिपरि हरियाली र जङ्गल समेत हुर्कन सम्भव हुन्छ, बसाइ सरेर आउने चराहरुका लागि आकर्षण स्थल बन्न सक्छ । पानीसहितको पारिस्थितिक प्रणाली भनेको तुलनात्मकरुपमा उत्पादनमूलक मानिए पनि साविकमा रहेको घाँसे मैदान रहेको वा मरुभूमि रहेको साविकको प्रणालीमा नकरात्मक असर पर्दछ ।

कोश टेपा नहरको निर्माण अगाडि बढिरहेको छ र साथसाथै यसले विकास निर्माणमा संलग्न उच्च पदाधिकारीहरुलाई प्रस्ट सन्देश के दिइरहेको छ भने राजनीतिक प्रतिबद्धता, प्रविधिको उचित प्रयोग, स्रोतको एकीकृत प्रयोग एवम् विकास क्रियाकलाप बीचमा तादात्म्यता मिलाउन सकेमा ठूला कामहरु पनि समयमा सम्पन्न हुने मार्गमा अगाडि बढ्छन् । काममा सरिक हुनेहरुमा कडा परिश्रम, समर्पण तथा सहकार्यले गर्दा पनि देखिने गरी र अनुभूत हुने गरी परिणाम निस्कन सक्छ । अहिले पनि चीन, उज्वेकिस्तान, ताजिकिस्तान र रसियाबाट गहुँ आयात गरेर जीविका गर्ने अफगानिस्तानले उत्तरी तीन राज्यमा प्रशस्त गहुँ उब्जनी गरेर गहुँ निर्यात गर्न थालनी ग¥यो भने खवर आयो भने अफगानी जनताले त्यहाँको सरकारको गुणगान गाउनेछन् । साथसाथै, नेपालजस्ता मुलुकमा समेत विकासलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कोश टेपा नहरको निर्माण एउटा प्रेरणादायी सिकाइको स्रोत बन्न सक्नेछ । (लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुनुहुन्छ)
–रासस

Related Articles

Leave a Reply

Back to top button