लेख

महिलालाई पुरुष, पुरुषलाई महिला बनाउन तिस लाख: मिलेमतोमा गलत काम – माधव दुलाल

काठमाडौँ : पश्चिमा धर्मशास्त्र र मिथकहरूका अनुसार ईश्वरले संसार (सूर्य, चन्द्रमा, ताराहरू, नदीहरू, उपत्यकाहरू, रुखहरू, जनावरहरू, खाना आदि) सृष्टि गरे। उनले पुरुष (एडम) को सिर्जना गरे। केही समयपछि, ईश्वरलाई आफूले सृष्टि गरेको पुरुष एक्लो भएको र उसका लागि साथी, सहयोगी चाहिन्छ भन्ने लाग्यो। उनले एडमको सहयोगीका रूपमा र उसलाई मनोरञ्जन प्रदान गर्नका लागि एउटी महिला (ईभा) बनाउने निर्णय गरी सिर्जना गरे।

पश्चिमा धारणा र सांस्कृतिक प्रणाली (इसाई, यहुदी र इस्लाम धर्म)का अनुसार, ईश्वरले पुरुष र महिलाका अलावा कुनै अन्य लिङ्ग बनाएनन्। आज महिला या पुरुष मात्रै हुनुपर्छ भन्ने मान्यता थोपर्ने काम भइरहेको छ, त्यसको मूलमा यही दर्शन छ। यही दर्शन अनुसार संसारभर पुरुष र महिला मात्रै ध्रुव सत्य भए, छन्।

अमेरिका, युरोपतिर पुरुष जन्मेर महिला ठान्नेलाई लिङ्ग परिवर्तन गरेर भए पनि जबरजस्ती महिला बन्न यही दर्शनले काम गरिरहेको छ। पुरुष ठान्ने जन्मजात महिलालाई पुरुष नै बन्नु पर्ने बाध्यता छ।

नेपालमा जस्तो तेस्रोलिंगी (ट्रान्सजेण्डर) को पहिचान स्विकारिँदैन। ट्रान्सफर हुन बाध्य बनाउने विकसित देशहरू यति बेला भने आत्तिन थालेका छन्। जटिल शल्यक्रिया र हर्मोन थेरापीबाट पुरुष या महिला भन्दा बाहिर जान नदिने देशहरू नेपालले दिएको पहिचानलाई सही ठान्न थालेका छन्।

आफू जे हो त्यही पहिचानमा बाच्न पाउनु नै मानव अधिकार हो। जबरजस्ती यहीँ नै अर्थात् पुरुष या महिला नै बन्न बाध्य बनाउनु मानव अधिकार विरुद्ध हुने विदेशीहरूले बल्ल बुझ्न थालेका छन्।

शल्यक्रिया गरेर परिवर्तन हुने र हर्मोन प्रयोग गर्नेहरूको स्वास्थ्य उपचारमा राज्यको खर्च बढ्दै जान थालेपछि हच्किएका हुन् विदेशी। तर, आफ्नो देशमा समस्या हुन थालेको यही संस्कृति नेपालमा प्रयोग गर्न उनीहरू लगानी गरिरहेका छन्। पुरुष या महिला मध्ये एक मात्र बन्न जटिल शल्यक्रिया गराउने देखि हर्मोन थेरापी गराउँदा राज्यलाई नोक्सानी बेहोर्न थालेका तिनै देश त्यही कामका लागि नेपाललाई अनुदान दिइरहेका छन्।

तिनै देशको अनुदानमा सञ्चालित नेपालका गैरसरकारी संस्थाहरू भने जटिल शल्यक्रिया गराउनेदेखि हर्मोन वितरणसम्मको काममा लागेका छन्। र, उनीहरू पुरुष जन्मेर महिलाको अनुभूति गर्नेलाई महिलाकै र पुरुष जन्मेर महिलाको अनुभूति गर्नेलाई पुरुषकै नागरिकता दिलाउन लबिङ गरिरहेका छन्। जुन माग पुरा गर्न नसकिने गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जटिल शल्यक्रिया गराएका १५ जनाले मन्त्रिपरिषद्बाट निर्णय गराएर नागरिकता लिएका छन्। १३ जना पुरुषबाट महिला र दुई जना महिलाबाट पुरुष बनेका छन्। नेपालमा यो सुरुवाती चरण मात्र मान्न सकिन्छ।

सुरुवाती चरणमै समस्या सुनिन थालेको मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्ण कटवालले बताए। ‘जन्मँदा महिला पछि अपरेशनद्धारा पुरुष भएको स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको हुनुपर्छ,’उनले भने,‘मान्यता प्राप्त चिकित्सकहरू भएको हस्पिटलबाट यो मान्छे महिलाबाट पुरुष भएको हो भन्ने प्रमाणित गर्नुपर्छ।’

उनले जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भएर गृह मन्त्रालयमा सिफारिस आउने जानकारी दिए। ‘हाम्रै शाखाले फाइल उठाएर मन्त्रिपरिषद्को निर्णयबाट महिलालाई पुरुष, पुरुषलाई महिलाको नागरिकता दिइएको छ,’उनले भने,‘त्यो त लिङ्ग परिवर्तन भएर तोकिएकै लिङ्ग भयो। त्यो भन्दा बाहेक लिङ्ग राम्रो पहिचान नभएको, दुई वटा लिङ्ग भएको अथवा हुँदै नभएको, शारीरिक रूपमा लिङ्ग पुरुष छ तर, उसको मनोभावना वा आकाङ्क्षा महिलाको छ। त्यस्तालाई अन्यमा राखेर नागरिकता दिने भन्ने हो।’

उनले अन्यको नागरिकता लिन कहिकही मापदण्ड हेर्ने गरिएको बताए। ‘हेर्दा पुरुष छ, महिलाको कसरी दिने भन्ने पनि छ,उहाँहरूको पनि दुई खालको कुरा आएको छ,’उनले अभियन्ताहरूको भनाई उद्धृत गर्दै भने,‘अहिले स्वास्थ्यका हिसाबले पनि महिलालाई पुरुष, पुरुषलाई महिला बनाउँदा तिस लाख रुपैयाँ सम्म खर्च हुने र स्वास्थ्य समस्या आयो भने त्यसको जिम्मा कसले लिने भन्ने खालको कुरा आएको छ।’

मिलेमतोमा गलत काम
विदेशमा मानव स्वास्थ्यमा असर गर्ने पुष्टि भएको हर्मोन नेपालको परिवार नियोजन सङ्घले उपलब्ध गराइरहेको छ। नील हिरा समाज, मितिनी नेपाल, क्वेयर ग्रुपसहितका संस्थाको स्वीकृति लिएर परिवार नियोजन सङ्घले हर्मोन क्लिनिक सञ्चालन गरिरहेको छ।

जन्मँदा पुरुष भएका व्यक्ति महिला जस्तो देखिन र महिला जन्मेका व्यक्ति पुरुष जस्तो देखिन सङ्घको क्लिनिकबाट वितरण हुने हर्मोन प्रयोग गरिरहेका छन्। जुन स्वास्थ्यका लागि पछि गएर घातक भएको नील हिरा समाजका उपाध्यक्ष उमेश पाण्डेले जानकारी गराए।

खुलेआम स्वास्थ्य समस्या निम्तने हर्मोन वितरण गर्ने परिवार नियोजन सङ्घमा एक जना कर्मचारी पठाएर नील हिरा समाजको नेतृत्व वैधानिकता दिन लागेका छन्। शल्यक्रिया गर्न आर्थिक सहयोग मागिदिन कार्यकारी निर्देशक मनिषा ढकाल सक्रिय छिन्। प्राय हरेक महिना देश बाहिर हुने मनिषाले विदेशी हर्मोन ल्याइदिने समेत गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिक बताउँछन्।

अन्य पहिचानमा नागरिकता र पासपोर्ट लिएकी भूमिका श्रेष्ठले दाताकै सहयोगमा शल्यक्रिया गरेर महिला बनेकी छन्। अन्यको नागरिकता र पासपोर्ट लिँदा युएनडिपीको सहयोग लिएर बैंकक टुर गरेकी भूमिकाले शल्यक्रिया गरेपछि अमेरिका सफर गरिन।

विदेशीले दिने पैसामा लोभिँदा पछि आउने स्वास्थ्यको विकराल समस्याबारे स्वयं व्यक्ति सचेत बनेका छैनन् भन्ने उदाहरण भूमिका स्वयं छिन्। आफ्नो र समग्र समुदायको स्वास्थ्यको समेत ख्याल नगरी दाता केन्द्रित अभियान चलाउन कार्यकारी निर्देशक ढकाल अब्बल बनेकी छन्। उनी यसैमा गर्व गरिरहेकी छन्।

त्यति मात्रै होइन, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गणना गर्ने तथ्याङ्क कार्यालयको तयारी रोकाएर सर्वे गर्ने छलफल चलाउन नील हिरा समाज, मितिनी नेपाल लगायतका संस्था सफल भए। नेपालमा हुने सर्वेको छलफल दाताको पैसामा सरकारी अधिकारी सम्मलाई संलग्न गराएर भुटानमा गरे।

अर्का रूक्शाना कपालीले पछिल्ला केही वर्षदेखि तिनै पश्चिमाहरूको रकम लिएर व्यक्तिको अनुभूतिका आधारमा पुरुष भए महिला र महिला भए पुरुषको पहिचान पाउन झगडियाको रोल निभाएका छन्। पुरुष लिङ्गमा जन्मेका रूक्शानाले सर्वोच्च अदालतको आदेशमा शल्यक्रिया विनै महिलाको राष्ट्रिय परिचयपत्र लिएकी छन्।

अरूलाई पनि त्यही महिला या पुरुष नै बन्न वकालत समेत गरिरहेका छन्। जसले गर्दा नेपालको आफ्नो ऐतिहासिक सत्य डगमगाउन पुगेको छ। दाताको सहयोगमा गलत काम हुन थालेपछि अर्थ मन्त्रालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको सर्वे गर्न दिएको झन्डै २७ करोड रुपैयाँ अनुदान रोकेको छ।

एसियाली विकास बैङ्कको अनुदान रकम तीन महिनादेखि मन्त्रालयमा रोकिँदा सर्वेको काम सुरु हुन नसकेको कार्यालयका अधिकारीले स्पष्ट पारे । जनगणनाको नतिजा हालै प्रकाशित भएकाले तत्काल सर्वे आवश्यक नपर्ने जवाफ दिँदै अर्थका अधिकारीले रकम रोकिदिएका हुन् ।

Related Articles

Leave a Reply

Back to top button