नझरेका फूलहरूले गर्यो पवित्र सुब्बा सम्मान साँझ

२६ मार्च, इटहरी । नझरेका फूलहरूद्वारा सुप्रसिद्ध गायिका एवम् अभिनेत्री पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान-२०८२’ प्रदान गरिएको आयोजक केपी घिमिरेले जानकारी दिएका छन् ।
सुनसरीको इटहरीमा चैत १५ गते आइतबार आयोजित सम्मान समारोहको प्रमुख अतिथि साहित्यकार मनु मन्जिल रहेका थिए ।
नझरेका फूलहरूले प्रदान गर्ने स्रष्टा सम्मानको यो शृङ्खला पनि आफ्नो नियमित कार्यक्रम अन्तर्गत गरिएको घिमिरेको भनाइ छ । कार्यक्रमको सभापति गीतकार सङ्घ नेपालका आजीवन सदस्य किरण टी.लिम्बू , विशिष्ट अतिथि सञ्चारकर्मी लक्ष्मी मादेन, समाजसेवी राजेश श्रेष्ठ, व्यवसायी सूर्य भट्टराई, साहित्यकार पुरन याक्खा लगायत रहेको बताइएको छ ।
पवित्र सुब्बा सम्मान साँझमा गायिका भूमा अधिकारी र गायक कृष्णराजा श्रेष्ठले सुब्बाका गीतहरू प्रस्तुत गरेका थिए । सम्मान ग्रहण पश्चात् गायिका सुब्बाले समेत आफ्ना लोकप्रिय गीतहरू सुनाएकी थिइन् ।
इटहरी सेन्ट्रल प्लाजाको चौथो तलामा रहेको होटल बरण्डामा सम्पन्न सम्मान साँझ समारोहमा सर्जकहरू राजु केसी, जेबि थुलुङ, मणि गुरुङ, रामप्रसाद खरेल, गीताप्रसाद श्रेष्ठ, दुर्गा पराजुली, कविता पाँचकोटी, मोहन तिम्सिना, लक्ष्मीप्रसाद पराजुली, प्रदीप रेग्मी, श्रीप्रसाद पोखरेल, सुविद गुरागाईँ, अभिनेत्री एवम् भिडियो निर्देशक कला सुब्बासहित धरान,विराटनगर, सुन्दरहरैँचा, पथरी, उर्लाबारी, दमक, बराहक्षेत्र, मिक्लाजुङ, बेलबारी, इनरुवा, रामधुनी, धनकुटा, सङ्खुवासभा तथा इटहरीका स्रोता-दर्शकको सहभागिता रहेको थियो ।
गीतकार एवम् कवि केपी घिमिरेको आयोजनामा नझरेका फूलहरूले विगत एघारवर्षदेखि स्रष्टा सम्मान, प्रस्तुति र पलेँटी शृङ्खला सञ्चालन गर्दै आइरहेको छ ।




