समाचार

इरान र अमेरिकी प्रतिनिधिमण्डलबीच नयाँ समाधानका लागि ‘अभूतपूर्व लचकता’ प्रदर्शन

मस्कट, १४ फागुन (रासस/सिन्ह्वा):
इरान र अमेरिकी प्रतिनिधिमण्डलहरूले बिहीबार अप्रत्यक्ष आणविक वार्ताको पछिल्लो चरणमा ‘नयाँ र रचनात्मक विचार र समाधानका लागि अभूतपूर्व लचिलोपन“ प्रदर्शन गरेका छन् ।

ओमानी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक एक विज्ञप्तिमा नयाँ समाधानका लागि दुबै पक्षले ‘अभूतपूर्व लचकता’ देखाएको उल्लेख गरेको छ ।

ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमद बिन हमुद अल्बुसैदीले बिहीबार जेनेभामा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग अप्रत्यक्ष छलफल गर्नुभएको छ ।

बैठकमा इरानको विचार र प्रस्तावका साथै इरानको आणविक कार्यक्रमका प्रमुख तत्वहरू र सबै प्राविधिक र निरीक्षण पक्षबाट अपेक्षित सम्झौता प्राप्त गर्न आवश्यक ग्यारेन्टीको बारेमा अमेरिकी वार्ता टोलीको प्रतिक्रिया र सोधपुछको समीक्षा गरिएको बताइएको छ ।

अल्बुसैदीले भन्नुभयो, “नयाँ विचार र समाधानको लागि वार्ताकारहरूको लचिलोपनका बीच वार्तामा प्रगतिको लागि अनुकूल अवस्था सिर्जना भएको छ । दिगो सुनिश्चितताका लागि समर्थित निष्पक्ष सम्झौतामा पुग्ने प्रयासहरू गहन र रचनात्मक रूपमा जारी छन् ।

बुधबार साँझ अल्बुसैदीले जेनेभामा इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीसँग भेट गर्नुभएको थियो ।
–––

Related Articles

Back to top button