चासोक तङनाममा ५ दिन हाक्पारे–ख्याली गाउने–वाईसिएच

– चन्द्रगोपाल,
लण्डन, चासोकको रौनक शुरु भएसंगै याक्थुङ कल्चर एन्ड हेरिटेज (वाईसिएच) यूकेको आयोजनामा घरघरमा गएर हाक्पारे–ख्याली गाउने कार्यक्रम आस्फोर्डमा शुरु गरेको छ ।
गत १८ डिसेम्बर २०२५ का दिन मंसिर पूर्णिमाको दिन गैरआवासिय नेपाली संघ (आईसिसि) का उपाध्यक्ष विश्वास दीप तिगेलाको घरमा हाक्पारे–ख्याली गाउने क्रममा वाईसिएचका संयोजक गणेश इजमले यो कार्यक्रमको आयोजना गर्नुको उद्देश्य चासोकलाई विशेष बनाउने र हाक्पारे–ख्याली जस्ता याक्थुङ सम्पदाहरुको संरक्षण र संवर्धन गर्नु भएको बताए ।
उपाध्यक्ष तिगेलाले गणेश इजमको टिमलाई स्वागत गर्दै भने, चासोकमा हाक्पारे–साम्लो घरघरमा गएर गाएको पहिले कहिल्यै नदेखेको र नसुनेको भएर यो सांस्कृतिक रुपमा ऐतिहासिक कार्यक्रम हो, यो कार्यक्रमको साक्षी बन्नु पाउदा लिम्बु हुनको नाताले अहोभाग्य ठानेको छु । श्रीमती भोजकुमारी तिगेलाले धन्यवाद ज्ञापन गर्नेक्रममा भनिन्, आगामी वर्षहरुमा पनि चासोकमा हाक्पारे–ख्याली गाउने र घरघर पुग्ने कार्यले निरन्तरता पाओस् ।
टिममा वाइसिएचका अध्येताहरु गणेश इजम, जितेन्द्र चेम्जोङ, चरपे फुरुम्बो, सन्तबीर नेम्बाङ, लाहाङ चेम्जोङ लगायत रहेका छन् । यो कार्यक्रम एक ढङगले लिम्बु समाजमा गरिएको परिक्षण पनि हो । यो कार्यक्रम पश्चात लिम्बुहरुले कस्तो प्रतिकृया दिन्छन्, सोही अनुसारले आगामि कार्यक्रम तय गर्ने योजना भएको जितेन्द्र चेम्जोङले बताए ।
याक्थुङ अभियन्ताहरु गत महिना डा. सबिन निङलेखु र झुमा लिम्बुसंगको अन्तरकृया कार्यक्रमको आयोजना गर्दै संस्थालाई औपचारिक रुपमा घोषणा गरिएको थियो ।




