अक्सफोर्ड युनिभर्सिटीको स्थापना आजभन्दा लगभग हजार बर्ष पहिले सन् १०९६ मा भएको थियो । यो बिश्वको अति प्रतिष्ठित युनिभर्सिटी हो र अहिले यहाँ ३९ वटा कलेज र ४ वटा हलहरु रहेका छन् । यहाँ भएका हलहरु कलेजभन्दा थोरै सानो र अलिक कमि बजेटमा चल्ने गरेका छन् ।
यहाँका सबैभन्दा पुरानो कलेजलाई ‘युनिभर्सिटि कलेज’ भन्ने गरिन्छ र त्यस्को स्थापना सन् १२४९ मा विलियम अफ डरहामले गरेका थिए । त्यसपछि बनेका अन्य कलेजहरुमा क्रमशः बेलावेल कलेज र मर्टन कलेजहरु नै हुन् । तथापि ती कलेजहरुको स्थापना भएको मिति ठेक्कै यकिन छैनन् तर लगभग सन् १२६३ वा १२६४ तिर भएका हुनुपर्छ भन्ने विश्वास गरिन्छ ।
अक्सफोर्ड युनिभर्सिटीको सबैभन्दा नयाँ कलेज चाहिँ बेलायतको धनाढ्य ब्यापारी दाजूभाइ द्वय डेभिड रुबेन र साइमन रुबेनले ८० मिलियन स्टर्लिङ पाउन्ड चन्दा दिएर खोलेका ‘रुबेन कलेज’ नै हो र त्यस्को स्थापना सन् २०१९ मा भएको थियो ।
अनि मैले यहाँ उल्लेख गर्न खोजेको कुरो भने अक्सफोर्ड युनिभर्सिटीको सबैभन्दा प्रतिष्ठित शिक्षण संस्था ‘क्राइस्ट चर्च’ को हो । क्राइस्ट चर्च बाहेक यहाँ भएका अन्य सबै शिक्षण संस्थाहरुलाई कलेज भनेर पुकारिन्छ तर यसलाई कलेज भनिदैन । किनभने यसको एउटा फरक इतिहास छ । अझै अन्य कलेजहरुको तुलनामा क्राइस्ट चर्चलाई ऐतिहासिक भव्यता र दृश्य आकर्षणको हिसाबले सबैभन्दा सुन्दर एबम अति नै प्रतिष्ठित मान्ने गरिन्छ ।
अक्सफोर्ड युनिभर्सिटीको मुटु जस्तै मानिने यिनै विश्व विख्यात शिक्षण संस्था क्राइस्ट चर्चको स्थापना भने सन् १५२५ मा लर्ड चान्सलर कार्डिनल थोमस ओल्सीले गरेका हुन् । तर उनले कलेज खोल्दा यसको नाम ‘कार्डिनल कलेज’ राखेका थिए । र, तत्कालिन समयमा उनी ‘आर्क विसोप अफ योर्क’ को काम गरिरहेका थिए ।
कार्डिनल ओल्सीको आर्क विसोप अफ योर्क काम सकिएपछि राजा हेनरी आठौंले कार्डिनल कलेजलाई राम्ररि सुधार गरेर ल्याए । तर उनले केबल कलेजको अवस्थालाई मात्र सुधारेनन् कलेजको नाम नै परिवर्तन गरेर ‘राजा हेनरि आठौं कलेज’ राखे ।
धार्मिक परम्परा अनुसार पारपाचुके गर्न नपाउने बेलायती राजपरिवारको नियमलाई भङ्ग गर्दै रानी क्याथरिनलाई पारपाचुके गरेको राजा हेनरिले आफ्नो दिमागलाई पुनः एकचोटी भुटे र सन् १५४६ मा यसको नाम परिवर्तन गरेर फेरि ‘क्राइस्ट चर्च’ राखे । उनले अझै ‘चर्च’ शब्दलाई प्राथमिक्त्ता दिएर छायामा पर्नबाट बचाउनको लागि नामको पछाडि कलेज शब्दलाई पुच्छर झुन्डाउन चाहेनन् । र, क्राइस्ट चर्च मात्र भन्ने उक्त्त परम्परा अक्सफोर्ड युनिभर्सिटीमा अध्यवधिसम्म जिवितै रहिआएको छ ।
हुनत अक्सफोर्ड युनिभर्सिटीको क्राइस्ट चर्च मात्र नभएर त्यहाँ भएका अन्य धेरै कलेजहरुको नाम पनि इसाइ धर्म सम्बन्धि जोडिएर राखिएका छन् । तर तिनै नामहरुको बिषयमा स्कूलरहरुले खास्सै बिरोधाभास प्रकट गरेका पाइदैनन् । कालान्तरमा ‘क्विन्स कलेज, अक्सफोर्ड’ देखि स्नातकोत्तर गरेका उपयोगिताबादको पिता जेरेमी बेन्थनले भने ठूलै बिरोध गरेका थिए र उनले लन्डनमा खोलेको युनिभर्सिटीको नाम भने युनिभर्सिटी कलेज लन्डन (युसिएल) राखे ।
तिनै क्राइस्ट चर्चको मूख्यद्वारको छानोमा एउटा ठूलो एबम भव्य गुम्बज बनाइएर राखिएको छ । जस्लाई अक्सफोर्डको भाषामा ‘टम टावर’ भन्ने गरिन्छ । टम टावरको डिजाइन बेलायतको चर्चित आर्किटेक सर क्रिस्टोफर रायनले गरेका हुन् । उनी ‘अल सोल्स कलेज अक्सफोर्ड’ मा अध्ययन गरेका पूर्व बिधार्थी हुन् र उनैले भ्याटिकन, रोमको सेन्ट पिटर्स ब्रासालिका गुम्बजको नक्कल गर्दै लन्डनको सेन्ट पौल क्याथेड्रल र टम टावर अक्सफोर्ड डिजाइन गरेका थिए ।
अक्सफोर्ड युनिभर्सिटीको धेरैजसो कलेजहरुमा अन्डर ग्राजुएटको पढाइ हुने गर्दछ । तर अल सोल्स कलेज लगायत केहि कलेजहरुमा पोस्ट ग्राजुएटको मात्र पढाइ हुन्छ । तैपनि अल सोल्स कलेजमा भने हरेक बर्ष लगभग ४ देखि १० जना बिधार्थीहरुले मात्र अध्ययन गर्न सुवर्ण अवसर पाउने गर्छन । ती बिधार्थीहरु कि त अक्सफोर्ड वा होइन भने क्याम्ब्रिजदेखि ग्राजुएट गरेका हुन्छन् । त्यसैले यो मात्र एउटा यस्तो कलेज हो । जहाँको प्रवेश परिक्षा विश्वको सबैभन्दा कडा परिक्षा हो भनेर मान्ने गरिन्छ ।

क्रिस्टोफर रायनले डिजाइन गरेको टम टावरको छातीमा अहिले पनि एउटा ठूलो घडि देख्न सकिन्छ । उक्त्त घडि २९ मे १६८४ देखि आजसम्म हरेक बेलुकि ९ बजेर ५ मिनेट जाँदा बज्ने गर्छ । तर त्यसरि घडिले आवाज निकाल्दा १ सय १ चोटि बज्ने गर्छ । किनभने सन् १६८४ त्यहाँ अध्ययन गर्ने बिधार्थीहरु जम्मा १ सय १ जना थिए र उनीहरु सबैजना त्यो समयभित्र युनिभर्सिटीभित्र छिरि सक्नु पर्ने कर्फ्यु आदेश थियो । त्यसपछि मूख्य ढोका बन्द हुन्थ्यो । तत्कालिन समयमा उनिहरुले ग्रिनविच मेन टाइम (जिएमटी) मा ९ बजेर ५ मिनेट जाँदा अक्सफोर्डमा ९ बज्छ भन्ने मान्यता राखेका थिए । त्यसैले सोहि प्रचलन अहिलेसम्म चलि आएको छ ।
हरेक बर्ष १ सय ३० देखि १ सय ३३ जनाको हाराहारीमा अन्डर ग्राजुएट बिधार्थीहरु भर्ना हुन पाउने क्राइस्ट चर्चको मूख्य द्वारदेखिभित्र पस्ने बितिक्कै एउटा ठूलो चतुरभुज प्रकारको प्राङ्गण (टम क्वाड) दृश्यवलोकन गर्न मिल्छ । जस्को लम्वाइ २ सय ६४ र चौडाई २ सय ६१ फिट रहेको छ । अक्सफोर्ड युनिभर्सिटीमा भएको अन्य कलेजहरुको तुलनामा सबैभन्दा ठूलो प्राङ्गण यो नै हो । र, यिनै प्राङ्गणको दायाँ बायाँ चतुरभुज भवनहरुमा बिधार्थीहरु बस्ने कोठाहरु रहेका छन् ।
टम क्वाडदेखि थोरै अगाडि बढेर दाहिनेतिरको ढोकामा हेर्ने बितिक्कै ठूल्ठूला अक्षरमा लेखिएका ‘नो पिल’ भन्ने साइन देख्न सकिन्छ । क्राइस्ट चर्चको ढोकामा देखिने नो पिल भन्नाले साधरणतय रवर्ट पिललाई बुझाउँछ ।
आखिर सर रवर्ट पिल को हुन् ?
बेलायती सेनामा लेफ्टिनेन्टसम्म भएका त्यसपछि राजनीति गरेर गृह मन्त्री, अर्थ मन्त्री हुँदै प्रधानमन्त्री भएका रवर्ट पिल यिनै क्राइस्ट चर्चका पूर्व बिधार्थी हुन् । उनी सन् १८२९ मा गृह मन्त्री थिए र त्यसबेला उनैले संसदमा क्याथोलिक मुक्त्ति बिधेयक प्रस्तुत गरेका थिए । जस्लाई यहाँका बिधार्थिहरुले ठूलो बिरोध गरेर त्यस ढोकामा ‘नो पिल’ भनेर लेखेका थिए । उनैले गृह मन्त्री छँदा लन्डन मेट्रो पोलिटियन शक्त्तिका श्री गणेश गरेका हुन् । कालान्तरमा उनको सिदान्त विश्वव्यापिकरण भएको हुनाले सर रवर्ट पिललाई अहिले आधुनिक बेलायती प्रहरीहरुको पिता (फादर अफ मोडर्न ब्रिटिश पोलिसिङ) भन्ने गरिन्छ ।
नो पिल ढोकादेखि ठीक एकतला माथि बिधार्थीहरुले खाना खाने स्थान एउटा ठूलो डाइनिङ हल रहेको छ । साधरणतय अक्सफोर्डको भाषामा त्यस डाइनिङ हललाई (ग्रेट हल) भनेर चिन्ने गरिन्छ । भान्सा कोठाको नजिकै रहेको ग्रेट हलको निर्माण सन् १५२० मा भएको थियो । यस्को निर्माण भैसकेपछि सन् १८७० सम्म यो युनिभर्सिटीको सबैभन्दा ठूलो हलको उपाधि हासिल गरेको थियो । अन्तत ‘केवल कलेज’ मा यो भन्दा थोरै ठूलो अर्को हल बनेपछि यस्को मर्यादा क्रम खस्केर दुई नम्वरमा झरेको थियो ।
यो ग्रेट हलको आफ्नो छुट्टै इतिहास छ । यहाँ राजा हेनरि आठौंको पार्लियमेन्ट कोठा देखि जेके रोलिङको सर्वाधिक लोकपृय चलचित्र ‘ह्यारी पोर्टर’ सम्म छायाङ्कन गरिएको स्थान हो । यिनै ग्रेट हलको दायाँ बायाँ भित्तामा यहाँ अध्ययन गरेका प्रतिष्ठित व्यक्त्तित्वहरु जस्तै बेलायती राजा एडवार्ड सातौ, नेदरल्याण्डका राजा विलियम दोश्रा पाकिस्थानको प्रधानमन्त्री जुल्फिकर अलि भुट्टो चर्चित लेखक लुइस क्यारोल, दार्शनिक जोन लक र बैज्ञानिक रबर्ट हुक नोवेल पुरस्कार बिजेताहरु द्वय मार्टिन रायल र जोन गर्डनहरुका तस्विरहरु मज्जाले देख्न सकिन्छ ।
अहिलेसम्म बेलायतको इतिहासमा जम्मा ५८ जना प्रधानमन्त्रीहरु भैसकेका छन् । जसमध्ये अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका पूर्व बिधार्थीहरु ३१ जना छन् । र, तिनै ३१ जना मध्ये १३ जना चाहिँ यिनै क्राइस्ट चर्चका पूर्व बिधार्थीहरु हुन् ।
सन् २०२३ देखि क्राइस्ट चर्चको डिन डाक्टर सारा फुटले सम्हालेकी छिन् । हुनत उनले ‘न्युहाम कलेज क्याम्ब्रिज’ देखि विधावारिधि गरेकी हुन् । क्राइस्ट चर्च खोलेको लगभग ५ सय बर्षको इतिहासमा उनैले पहिलो महिला डिन नियुक्त्त हुने सौभाग्य प्राप्त गरेकी छिन् ।
अहिले अक्सफोर्ड युनिभर्सिटीको कुलपति भने कन्जरभेटिभ दलका पूर्व नेता लर्ड विलियम हेग छन् । बेलायती राजनीतिबाट सधैको लागि सन्यास लिएपछि सन् २०२४ देखि उनी कुलपतिमा आसिन छन् । उनले भने ‘म्यागडलन कलेज अक्सफोर्ड’ मा अध्ययन गरेका थिए ।
लर्ड हेगभन्दा अगाडिका कुलपति लर्ड क्रिष्टोफर प्याटरन हुन । हङकङका पूर्व गभर्नर सम्म भएका लर्ड प्याटरनले सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरेर बेलायत फिरेपछि २००३ देखि २००२४ सम्म लगभग २१ बर्ष अक्सफोर्ड युनिभर्सिटीका कुलपति भएर सेवा प्रदान गरेका थिए र उनी ‘बेलावेल कलेज अक्सफोर्ड’ का पूर्व बिधार्थी हुन् ।
– अक्सफोर्ड ।
२४ अगस्ट २०२५




