समाचार

माथिल्लो तमाेर जलविद्युत परियोजना खारेज गर्न स्थानीयकाे माग

मुन्धुमी स्थल जाेखिममा रहेको आराेप

१८ जुलाई, ताप्लेजुङ । माथिल्लो तमाेर हाइड्रोपावर सङ्घर्ष समितिले निर्माणधीन हाइड्रोपावर खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । निर्माणधीन मध्ये जिल्लाकै सबैभन्दा ठूलो क्षमता २८५ मेगावटको हाइड्रोपावर खारेजीको माग गर्दै आज विरोध प्रदर्शन गरेका हुन् ।

फक्ताङ्लुङ गाउँपालिकाका स्थानीयले निर्माणस्थलमै कालो झन्डा सहित विरोध जनाएका छन् । याक्थुङ लिम्बू समुदायको मौलिक संस्कृति, मुन्धुमी स्थलको विनाश हुने भएकाले हाइड्रोपावर निर्माण गर्न नहुने अडानका साथ विगत लामो समयदेखि सङ्घर्ष समितिले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

समितिका अनुसार यसअघि पनि पटक-पटक स्थलगत रुपमा विरोधका कार्यक्रम गरिएको थियो । निर्माण कार्य सुरु गरिएको क्षेत्रमा समितिले कालो झन्डा समेत गाडेर विरोध जनाएका थिए । सो स्थलमा शुक्रबार सहित पाचौं पटक विरोधका कार्यक्रम आयोजना गरिएको समितिका सल्लाहकार सदस्य श्री लिङ्खिमले जानकारी दिए ।

सङ्घर्ष समितिका सल्लाहकार श्री लिङ्खिम सम्बाेधन गर्दै ।

उनले समयमै राज्यले स्थानीयको मागलाई ध्यानमा राखेर निर्माणको कार्य स्थगन नगरे आन्दोलन सशक्त रूपमा अघि बढाउने तयारी रहेको बताए । आन्दोलनरत पक्ष सँग विभिन्न सरोकारहरु सँग पटक पटक जिल्ला प्रशासन कार्यलयमा छलफल बसे पनि टुङ्गोमा पुग्न सकेको छैन ।

कम्पनीले फाक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम र फुङ्लिङ नगरपालिकाको फुरुम्बूको सीमानामा निर्माणको कार्य जारी राखेका छन् ।

 

Related Articles

Back to top button