मनोरञ्जनसमाचार

धरानमा ‘घुम्ती किम्फ’ हुँदै

२१ जनवरी, विजयपुर । नेपालकाे सबैभन्दा ठूलो र लामाे समयदेखि सञ्चालनमा आइरहेको चलचित्र महाेत्सव ‘घुम्ती किम्फ’ धरानमा आजदेखि सुरु हुँदैछ । काठमाडौंबाहिर प्रदर्शनी हुने क्रममा प्रदेश एकमा ‘घुम्ती किम्फ’ चलिरहेकाे सिलसिलामा धरानमा हुने भएको हाे ।

पूर्वाञ्चल रक्सले धरानमा चलचित्र महोत्सव आयोजना गर्ने जिम्मा लिएकाे रङ्गकर्मी इक्सा मादेन लिम्बुले जनाइन् । जनवरी २१ र २२ (माघ ८ र ९ )मा धरानको होटल कञ्चनजंघास्थित लिम्स गार्डनमा ‘काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल’ (किम्फ) आयोजना हुने उनले बताइन् ।

धरानको किम्फमा आदिवासी याक्थुङ लिम्बु फिल्म ‘नुमाफुङ’, राई समुदायको ‘रोङ्गपहामु’ र लघु फिल्म ‘ब्रिटेन लोन्ली गोर्खा’, ‘गड्स बफेलो’, ‘एट एनोदर विन्टर’, नेपाली फिक्सन र ‘कम ओभर फोर अ ड्रिंक्स कान्छी’ देखाइनेछ । महोत्सवमा देखाइने फिल्महरुमाथि अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिने अर्का रङ्गकर्मी तिर्थराज विश्वकर्माले बताइए । मङ्गलबार चर्चित चलचित्र निर्देशक नवीन सुब्बाले फिल्मबारे र रैथाने सङ्गीतकी प्रवर्तक झुमा वनेम लिम्बुले चलचित्रमा सङ्गीतकाे उपस्थितिबारे बहसमा सहभागिता जनाउने कार्यक्रम पनि रहेको छ ।

पूर्वमा यसअघि इटहरी, इलाम र दमकमा महाेत्सव सम्पन्न भइसकेका छन् । सन् २००७ देखि सुरु भएको किम्फले अहिलेसम्म राजनैतिक, साँस्कृतिक, मौसम परिवर्तनदेखि नारीवादलगायतका विभिन्न प्रकारका फिल्महरू देखाउँदै महोत्सव आयोजना गर्दै आइरहेको छ ।

Related Articles

Back to top button