१४ जनवरी, विजयपुर । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक पहिचान झल्काउने उद्देश्यले निर्माण भएको सिलाम साक्मा र के:(च्याब्रुङ) काे स्तम्भ धरानमा अनावरण भएको छ । समुदायको महान पर्व कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) काे अवसर पारेर स्तम्भकाे उद्घाटन भएको हाे ।
किरात याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनले मङ्गलबार बालक चाेकमा आयोजित एक कार्यक्रमबीच स्तम्भकाे अनावरण गरे । कियाचुकाे वडा नम्बर १९ समितिकाे अगुवाइमा निर्माण भएको स्तम्भ सडककाे सतहदेखि १५ फिट अग्लो छ । फलामको सिलाम साक्मामा बाँधिएको फाइबरकाे च्याब्रुङ राखिएको छ । सिलामसाक्माको चारकुनाको व्यास ४/४ फिटको रहेको छ । च्याब्रुङको गोलाई १६ इन्च र लम्बाई २८ इञ्चको रहेको सचिव वसन्ती थेबेले जनाइन् ।
कुल ८ लाख ४५ हजार रुपैयाँकाे लागतमा निर्माण भएर अनावरण भएको निर्माण समितिकी कोषाध्यक्ष जायत्रा तेयुङ लिम्बुले जनाइन् । प्रतिमा स्थापना गर्दा सडक छेउको ढलमा स्लाब निर्माण गर्न समितिको २ लाख २५ हजार रुपैयाँ खर्च भएकाे उनले प्रतिवेदनमा उल्लेख गरिन् । १२९ दाताहरूबाट कुल रकम १६ लाख ८६ हजार ६६५ रुपैयाँ सङ्कलन भएको र समितिसँग कुल ६ लाख ५७ हजार १६५ रुपैयाँ बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा समितिसँग मौज्दात रहेको रकमबाट हरियाली सामुदायिक बनमा अर्को सिलामसाक्माको प्रतिमा तथा थप सहयोगबाट वरिपरि मासि बस्ने चौतारा निर्माण गर्ने योजना रहेको बताइएको छ । कार्यक्रममा स्तम्भ निर्माण निर्माण समिति संयाेजक देउमान ताप्मादेनले दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सिलाम साक्मा र के:(च्याब्रुङ) समुदायको साँस्कृतिक पहिचान भएकोले स्तम्भ बनाइएको कियाचु वडा १९ अध्यक्ष प्रेमकुमार इधिङ्गाेले जनाए । वडा १९ याक्थुङ समुदायको बाहुल्य भएको इलाका भएकोले स्तम्भ निर्माण अर्थपूर्ण भएको सल्लाहकार हितराम तिल्लिङले प्रतिक्रिया दिए । उनका अनुसार के(च्याब्रुङ) समुदायको सबैभन्दा महत्त्वपूर्ण साँस्कृतिक बाजा हाे । त्यस्तै, सिलाम साक्मा विशेषत: पेगिफाङहाङ (येबा, साम्बा, फेदाङ्मा)ले तङ्सिङ् अनुष्ठान गर्दा प्रयोग गर्छन् । यद्यपि, याे दुई दशकयता साँस्कृतिक चिन्ह र ब्याज रूपमा प्रयोग गरिँदै आएकाे पनि छ । घर निर्माण गरेपछि धुरीमा राख्नेदेखि सवारी साधन हुँदै ढाकाकाे कपडा, टाेपीमा समेत बुट्टाका रूपमा प्रयोग गरिने लहर व्यापक छ । सिलाम साक्मालाई मृत्युकाे बाटो छेक्ने चिन्हका रूपमा पनि लिइन्छ ।
चुम्लुङ वडा अध्यक्ष प्रेम इधिङगोको सभापतित्वमा भएको समारोह सचिव बसन्ती थेबेले सञ्चालन गरेकी थिइन् । सोही अवसरमा दाताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहमा चुम्लुङ केन्द्रीय समिति, जिल्ला र नगर समितिका पदाधिकारी, धरान ११, १५, १९ र २० का वडा अध्यक्षहरूको विशेष उपस्थिति रहेको सुमन चेम्जोङले बताए ।