८ डिसेम्बर, कदमतला(पश्चिम बंगाल) । नेपालीहरूकाे उल्लेख्य बसाेबास रहेकाे कदमतलामा पहिलोपटक चासाेक तङ्नाम मनाइएको छ । याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठूलो पर्व मानिने चासाेक तङ्नाम कदमतलामा भव्य रूपमा मनाइएको हाे ।
आइतबार भानुमार्गस्थित रतन गाेयल प्लटकाे मैदानमा कदमतला याक्थुङ साक्थिम सङ्जुम्भाेले आयोजना गरेको कार्यक्रम साहित्यकार एवम् लेखक धनाहाङ सुब्बाकाे प्रमुख आतिथ्यमा भएको थियोे । चर्चित पुस्तक ‘लिम्बुवानका लाेककथा’ का सर्जक दार्जिलिङनिवासी सुब्बाले याक्थुङ पर्वलाई विस्तार गर्न कार्यक्रमले सहयोग गरेको बताए ।
त्यस्तै, सुक्खिम पुङ्वा युमा साम्याे साेसाइटीका अध्यक्ष विजय प्रतापहाङ सुब्बाले याक्थुङ समुदायकाे सदस्य भइसकेपछि याक्थुङ कर्मकाण्ड र युमा धर्मप्रति आस्थावान् हुनुपर्ने धारणा राखे । धरानबाट आएका लेखक एवम् साँस्कृतिक अनुसन्धाता अमित थेबेले मुन्धुम याक्थुङ समुदायको जीवन पद्धति, सामाजिक इतिहास र दर्शनको पुञ्ज भएको भन्दै अध्ययनमा लाग्न युवा पुस्तालाई आग्रह गरे ।
त्यसैगरी, मुन्धुमलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर पछिल्लो समय चर्चामा आइरहेकी सिक्किमकी लेखक सन्ध्या सुब्बा सिङ्जाङ्गाेले मुन्धुमले विश्वदृष्टिकाेण निर्माण गर्न सहयोग पुग्ने बताइन् । प्रकृतिवाद, जीववाद र पितृवाद अनुसरण गरे मात्रै ट्राइबल समुदायमा सूचीकृत हुनुकाे सार्थकता रहने जनाइन् ।
सङ्जुम्भाेका सल्लाहकार एवम् सिलगुढी लिम्बु वेफलेयर साेसाइटीका सचिव अभिराज सुब्बाले सञ्चालन गरेको कार्यक्रममा दिल बहादुर लिम्बुले स्वागत मन्तव्य राखे । साे अवसरमा युनिभर्सिटी अफ ओस्लाे, नर्वेकी रिसर्चर लिन्डा गुस्ताभस्सन, एसके लिम्बु, दुर्गा साम्बा लगायतका व्यक्तित्वहरूकाे समेत उपस्थिति रहेको थियोे ।
चासाेक तङ्नामबारे नर्थ बङ्गाल विश्वविद्यालयमा विद्यावारिधि शाेधार्थी काेमल केरुङ, डुवर्सकी माया शर्मा, अधिवक्ता मिकहाङ्मा साँवाहरूले आफ्नो अनुभव सुनाए ।
त्यसअघि, साक्मुरा वादेम्मा(गालीसराप बगाउने), कुइकुदाप (बाह्य देवीदउता) काे उपासना गरिएको थियोे । जसमा फेदाङ्माहरू नेवले जवेगू थेगिम र ओजाहाङ खेवाले पूजाअर्चना सञ्चालन गरेका थिए ।
कार्यक्रममा सङ्जुम्भाे आबद्ध कलाकारहरूले केलाङ(च्याब्रुङ नाच), या?लाङ(धान नाच) र याक्थुङ भाषामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । परिसरमा याक्थुङ भाषा र सिरिजङ्गा लिपिमा लेखिएका पुस्तक तथा घरेलुु सामग्रीको प्रदर्शनीसँगै साँस्कृतिक चिन्ह सिलाम साक्मा समेत बिक्रीमा राखिएको थियोे ।
सन् १९९३ मा स्थापना भएको सिलगुढी लिम्बु वेफलेयर साेसाइटीका सचिव अभिराज सुब्बाले सङ्जुम्भाेकाे स्थापना गत वर्ष भएको जानकारी दिए । उनले येत्हाङ(आठ राजा) थिवाेङ याक्थुङ(दश राजा) का सन्ततिहरूकाे संस्कार, संस्कृति र सामुदायिक पहिचान संरक्षण गर्न संस्था स्थापना भएको बताए ।
के हाे चासाेक तङ्नाम ?
याक्थुङ समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।
याक्थुङ समुदायकाे जीवनपद्धति अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।याक्थुङ मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनुअघि आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे । जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे ।
यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभुमाङ/युमामाङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेना माङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन युमामाङले उपलब्ध गराइदिए ।
यसरी धान र अन्नका बीउबिजन पाएपछि याक्थुङ जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो ।
मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ ।