धनकुटामा एमालेद्वारा मतदातालाई धन्यवाद ज्ञापन

धनकुटा, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यमा पार्टीका उम्मेदवार राजेन्द्र कुमार राई विजयी भएको अवसरमा मतदाताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
पार्टीले जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बुको अध्यक्षमा पत्रकार सम्मेलन मार्फत जारी प्रेस विज्ञप्ति जारी गरेको छ ।
देशमा उत्पन्न असामान्य परिस्थितिका बीच २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनकुटाबाट एमालेका उम्मेदवार राजेन्द्र कुमार राईलाई अत्यधिक मत दिएर विजयी गराएकोमा सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरिएको छ।
विज्ञप्तिमा निर्वाचनलाई सफल बनाउन अहोरात्र खटिने पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरिएको छ। साथै निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउने मुख्य निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक तथा सञ्चारकर्मीप्रति पनि आभार प्रकट गरिएको छ।
त्यस्तै, निर्वाचन प्रतिस्पर्धामा सहभागी अन्य उम्मेदवार तथा राजनीतिक दलप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबैको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ।
एमालेप्रति देखाइएको विश्वास र भरोसालाई शिरोधार्य गर्दै धनकुटेली जनताको विकास र समृद्धिको चाहना पूरा गर्न लागिपर्ने सांसद राईले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।




