लेख

किरात याक्थुङ चुम्लुङ युकेको अगामी कार्यदिशा

- विजय लुम्फुङवा लिम्बु

संयुक्त अधिराज्य बेलायतको ११ औं महाधिवेश भर्खरै सम्पन्न भएको छ । जसले कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित गरेको छ । नेपाल र लिम्बुवान देखि ७ समुन्द्रपार टाढा बिदेशी भुमिमा याक्थुंग लिम्बुहरुको एकमात्र प्रतिनिधि मुलक संस्थाको महाधिवेशन हुन गइ रहँदा आगामी युके चुम्लुकको नेतृत्वमा को को आउने वाला छन् ? अध्यक्ष, उपाध्यक्ष र महासचिवका प्रत्यासीहरु छन् को को भन्ने मात्र चासो नभएर अब आउने नेतृत्वले कस्तो कार्यदिशा र जिम्मेवारहरु निर्वाह गर्नु पर्दछ भन्ने पनि बहस भई रहेको थियो । यसले याक्थुङ लिम्बुहरुमा भएको बृदी भएको सचेतनाको संकेत गर्दछ । त्यसरी नै अध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न पदहरुमा एक भन्दा धेरै व्यक्तिहरुले दिएको उम्मेद्घारीलाई हेर्दा याक्थुङ लिम्बुहरुमा नेतृत्व विकास र सामाजिक जिम्मेवारीको चेतना राम्रो रहेको ठहर्छ । बहुसाँस्कृतिक समाज र मुलुकको रुपमा विकास भई रहेको संयुक्त अधिराज्य बेलायतमा नयाँ किरात याक्थुङ चुम्लुङ युकेको नेतृत्वले लिनु पर्ने कार्यदिशा बारे केहि कुरा राख्न चाहन्छु ।

बहुसाँस्कृतिक समाजमा याक्थुङ लिम्बुहरुको पहिचान
बेलायत बहुसाँस्कृतिक समाजको रुपमा विकास भई रहेको छ । बेलायतको सन्दिर्भमा एशियली मुलक, त्यस पछि दक्षिण एशियाली , त्यस पछि नेपालीहरुको भीडमा याक्थुङ लिम्बुहरुको पहिचानलाई कायम राख्न आगामी किरात याक्थुङ चुम्लुङ युकेले भुमिका निर्वाह गर्नु पर्दछ । यो एक चुनौती पनि हो । होस्ट नेशन बेलायतको संस्कार र संस्कृतिमा सम्मिलनीकरण (एशिमिलेशन) हुनबाट जोगाउन, अनि हामीलाई अत्यन्तै प्रभाव पारि रहेको नेपाली संस्कृतिको नाममा हिन्दु संस्कार र संस्कृतिबाट हाम्रो संस्कार र संस्कृतिलाई जोगाउन पनि युके चुम्लुङले स्पष्ट रुपमा बहुसाँस्कृतिक नितीलाई अबलम्बन गर्नु पर्दछ । त्यसको अर्थ अन्य समुदायको विविध संस्कार र संस्कृतिलाई सम्मान गदै याक्थुङ लिम्बु संस्कार र संस्कृतिलाई प्रवर्दन गर्नु पर्दछ ।

मातृभुमि प्रति जिम्मेवार
याक्थुङ लिम्बुहरु संसारको जुन सुकै कुनामा रहे पनि लिम्बुवान (मातृभुमि) प्रति सधै सम्बन्ध कायम रहि रहन्छ । किरात याक्थुङ चुम्लुङ युकेले मातृभुमिमा भई रहेको पहिचानको आन्दोलन, साँस्कृतिक अतिक्रमण विरुद्धको आन्दोलन, भाषिक आन्दोलन र कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनलाई आर्थिक भौतिक र नैतिक सहयोग गर्नु पर्दछ । हाम्रा यी सवालहरुलाई राजनैतिक सवालको नाममा चुम्लुङको भुमिकालाई गौण बनाउनु हुदैन । यसो गर्दा मातृभुमि प्रति हामीले गरेको गद्दार ठहर्छ । हामी के स्पष्ट हुनु पर्दछ भने हाम्रा सवालहरु राजनैतिक सवालहरु नै हुन् । यी सबै अधिकार र सवालहरु अन्तराष्ट्रिय कानुन र सन्धिहरुबाट मान्यता प्राप्त नै छन् । यस कुरामा याक्थुङ चुम्लुङ युकेले समन्वयकारी भुमिका निर्वाह गर्नु पर्दछ ।

समावेशी र विविधतालाई स्वीकार
याक्थुङ लिम्बुहरुको समाज आफैमा विधिता युक्त समाज हो । थाकथलो, धर्म, लिङ्ग र पुस्तौती खाडल जस्ता विविधताहरु छन् । बेलायत स्थित् याक्थुङ लिम्बु समाजमा पुर्व गोर्खा सैनिक महानुभवहरुको अत्यन्त ठुलो योगदान छ । गोर्खा सैनिकको छविको ओज र तापको फाइदा अहिले पनि सम्पुर्ण नेपाली समुदायहरुले लिई रहेको छ । तर अहिले गैर सैनिक थाक्थुङ लिम्बुहरुको आगमन पनि बेलायतमा बृदि हुदै गई रहेकोले उनीहरुको सहभागीता र सबलिकरणमा पनि ध्यान दिनु पर्दछ । संस्था भित्र मामा र भान्जाभान्जीहरुको पुस्तौनी खाडललाई पुर्ने कार्य गर्नु पर्दछ । याक्थुङ लिम्बुहरुमा विविध धर्म मान्नेहरु छन् उनीहरु सबैमा चुम्लुङ प्रतिको अपनत्व कसरी विकास गर्न सकिन्छ सो कुरा सोच्नु पर्दछ । त्यसरी नै महिला, एलजीविटीक्यु, युवाहरुको सहभागितालाई बृद्धि गर्नु पर्दछ । उनीहरुको सहभागिता बढाउन मदत गर्ने खालका कार्यक्रमहरु सन्चालन गर्नु पर्दछ ।

बेलायत स्थित् थाक्थुङ लिम्बुहरु प्रति जिम्मेवार किरात याक्थुङ चुम्लुङ युकेको सार्वभौमसत्ता युके स्थित् याक्थुङ लिम्बुहरुमा रहनु पर्दछ । सिमीत नेतृत्वको एकलौटी बनाउनु हुदैन । सबै थाक्थुङ लिम्बुहरुले अपनत्व ग्रहण गर्न सक्ने बनाउनु पर्दछ । यसको लागि विधान, नीति नियम र कार्यक्रमहरुको निर्माण र कार्यान्वयनमा समस्त याक्थुङ लिम्बुहरुको सहभागिता हुन सक्ने वातावरण बनाउनु पर्दछ । शाखा चुम्लुङहरुको नेतृत्व र क्षमता विकासमा ध्यान दिनु पर्दछ । चुम्लुङ देनको विकास योजना निर्माणमा चन्दा दाता र शाखा चुम्लुङहरुको सहभागिता बढाउनु पर्दछ ।

चुम्लुङ देनको विकास र योजना निर्माण

किरात याक्थुङ चुम्लुङ युकेले खरिद गरेको जग्गाको विकास र योजना निर्माण नयाँ कार्यसमितीको एक महत्वपुर्ण जिम्मेवार हुनेछ । जग्गा खरिदमा चन्दा दाताहरुको लगानीलाई सुरक्षित गर्नु, जग्गामा चुम्लुङको कानुनी हैसियत कायम राख्नु र चुम्लुङ देनको मास्टरप्लान निर्माणमा युके वासी याक्थुङ लिम्बुहरुको सहभागितालाई प्राथमिकता दिनु पर्दछ । चुम्लुङ देनलाई चुम्लुङ मार्फत नै विकास र सन्चालन गर्नु वर्तमान कार्य समितीको कार्यभार हो ।

चुम्लुङको विधानको संशोधन र कार्यान्वयन
कुनै पनि संस्था विधान अनुसार चल्नु पर्दछ । विधानलाई सबै शाखाहरुमा अभिमुखिकरण गर्न विधानलाई सबै युके वासी थाक्थुङ लिम्बुहरुको पहुँचमा पु¥याउनु पर्दछ । सदस्यता निर्माण बन्ने प्रकृयालाई अनलाईन बनाउनु पर्दछ । विधानमा निर्वाचन सम्बन्धी प्रकृयालाई प्रत्यक्ष निर्वाचनको बदलामा प्रतिनिधि मुलक निर्वाचन प्रणाली अपनाउँदा उत्तम हुन्छ । यसपालीको प्रत्यक्ष निर्वाचनमा धेरैले मत दिन पाएनन्, करिब २९०९ सदस्य रहेकोमा करिब ९४३ सदस्यहरुले मात्र मतदान गर्न पाए । यसकारण पनि प्रतिनिधि मुलक निर्वाचन प्रकृया अपनाउँदा युकेमा सामाजिक र भौगोलिक अवस्थामा सहज हुन्छ । विधान पास गरेर मात्र हुन्न, कार्यान्वयन नगरे सम्म विधान कागजको टुक्रा मात्र रहन्छ । चुम्लुङको विधानलाई कार्यान्वयन गर्न गराउने जवापलदेहिता केन्द्रिय कार्य समितीले लिनु पर्दछ ।

अन्तमा, बेलायत निवासी याक्थुङ लिम्बुहरुलाई एकताबद्द बनाउदै प्रवाशमा मौलिक पहिचानलाई संरक्षण र सम्बद्र्यन गर्न किरात याक्थुङ चुम्लुङ युकेको भुमिका अहंम हुन्छ । यो भुमिकालाई निर्वाह गर्न बर्तमान नेतृत्व सफल होस् भन्ने कामना गर्नु पर्दछ सबैले । युके चुम्लुङको इतिहासमा पहिलो चोटी महिला नेतृत्व निर्वाचित् भएको छ , यसैले पनि हिजोको भन्दा फरक र सबै युके वासी याक्थुङ लिम्बुहरुलाई अपनत्व महसुस हुने गरि चुम्लुङको गतिविधि हुनेछ भनेर हामी सबैले विश्वास गर्नु पर्दछ , युके चुम्लुङलाई शुभकामना ।
नोगेन् ।

(लेखक किरात याक्थुङ चुम्लुङ नेपालका पुर्व केन्द्रिय सदस्य हुन् )

Related Articles

Back to top button