यलम्बरका सन्तानहरुले चुकाएको त्यो अवसर – विश्वास दीप तिगेला
अहिले सामाजिक संजालहरुमा दुई प्रकारको किरात यलम्बर सवंतको प्रयोग गरेको पाइन्छ । एउटा यलम्बर सवंत ३८०३ र अर्को ५०८४ । किरात सन्तति हुनुमा गर्व गर्ने विद्धत समुहले संविधानसभाबाट संविधान लेखनको काम जारी रहेको बखत पूर्वमा किरात÷खम्बुवान र लिम्बुवान राज्यको अपेक्षा गरेका थिए र तिनै पूर्वमा मुख्य रुपमा बसोबास गर्ने किरातहरुले आफ्नो प्रदेशमा किरात सवंत चलाउन पाँउ भनेर तत्कालिन संविधानसभाका सभामुख, प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्ष दलका नेता लगायतलाई ज्ञापन पत्र बुझाए ।
ज्ञापनपत्र किरातजन्य संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा र किरात सुनुवार सेवा समाजका अध्यक्ष एवं पदाधिकारीहरुको नेतृत्वमा बुझाएका थिए ।
त्यो बेलाका उर्जावान विद्धत किरातहरुले अब किरात सवंतलाई प्रमाणिकरण गर्नुपर्छ भनेर लागे, कहाँबाट गणना शुरुवात मान्ने त भन्ने विषयमा केन्द्रीत भए । लगभग ति ज्ञापनपत्र बुझाउनु लगतै अब तथ्यपरक बनाउने पहल शुरु भयो । त्यो बेला ३ कुरामा केन्द्रित थिएः क. प्रदेश १ मा यलम्बर सवंत सरकारी कामकाजीको रुपमा लागु गराउने । ख. यलम्बर संवतको गणनाको विन्दु निर्धारण गर्ने र, ग. किरातजन्य संस्थाले आआफ्नो तरिकाले पुकार्ने येले तङ्बे, येले दोङ, येले थोचे आदिलाई समग्ररुपमा किरात यलम्बर सवंत र छोटकरीमा येले सवंत भन्ने सहमति थियो ।
सन् २००९ देखि २०१२ सम्ममा पटकपटक सभासम्मेलन, विचार गोष्टि र एक पटक अन्तर्राष्ट्रिय सम्मेलन पनि भयो र लगभग तथ्यपरक सवंतको नजिक ल्याईपुरयायो । सबै किरातजन्य संघसस्थाहरु किरात सन्ततिहरु उत्साहित थिए तर विट मार्ने काम केही बाँकी रहयो त्यो चाहि तत्कालै गणनाको आधार भेटिएको सवंतलाई अर्को अकाट्य नभेटिए सम्मको लागि प्रचलन गर्दै जाने भन्ने सहमति त्यहिबेला गरेको भए यो बेला धेरै अगाडी पुगिसकेको हुने थियौ । र, त्यै बेला किरात यलम्बर फाउन्डेसन स्थापना गरिनु राम्रो कार्य भएपनि अझ किरातजन्य संस्थाहरुको प्रतिनीधिहरु मात्र नभएर मुख्य पदाधिकारीहरुलाई सहभागी गराउन सकेको भए राम्रो हुनेथियो र फाउन्डेसनले बेलाबखत विचार अन्तरक्रिया गर्दै आएको भए प्रभावकारिता बढ्दै जाने थियो । जुन कुरा नहुनुको कारण अहिले अगाडी बढ्नु पर्नेमा पछाडी फर्केको चिन्ताजनक अवस्था छ । किरात यलम्बर सवंत भन्ने सहमति उल्टाएर अहिले राई यायोख्खाले येले दोङ मात्र भन्छ भने लिम्बुहरु येले तङ्बे मात्र भनिरहेको देखिन्छ त्यस्तै गरि जुन सवंतको गणना भेटिएको छैन त्यै ५०८४ (सन २०२४) भनेर उल्टो गईरहेका छन । यसरी विगत १३ बर्ष विवाद र अन्यौलताले छोप्यो र अगाडी बढने अवसरबाट चुक्यो ।
त्यहि बेला गणनाको विन्दु भेटिएको सवंत ३८०३ निक्र्यौल गरेर गएको भए अहिले किरात क्यालेण्डर विकासमा धेरै अगाडी गईसकेको हुनेथियौ । किरात क्यालेण्डर विकास हुनुभनेको किरातहरुको अप्रत्येक्ष शक्ति र प्रभाव धेरै बढ्ने थियो र अहिलेको प्रदेश न १ को नामाकरणमा ऐतिहासिक मात्र होइन तथ्यपरक ऐतिहासिकको आधारमा दाबी गर्न सकिन्थ्यो र सम्भवत नामाकरण भईसक्थ्यो सायद । अफसोच, किरातजन्य संस्थाका नेतृत्वहरुको अदुरदर्शिताले अहिले राई, लिम्बु, सुनुवार, याख्खाहरु आआफै पछाडी फर्किएका छन । तङ्बेले दोङको अस्थित्व स्वीकार नगर्ने र अर्कोले अकोको अस्तित्व स्वीकार नगर्ने, अनि गणनाको आधारै नभएको सवंतलाई नै प्रयोग गर्ने ।
फाउन्डेशन मार्फत योगदान गर्न चाहाने बौद्धिक युवाहरुलाई पनि निरुत्साहित गर्ने काम भयो र अन्ततः किरातहरु लगभग २० देखि २५ बर्ष पछाडी धकेलिएको छ । सवंतको क्यालेण्डर निर्माण गर्नु चानचुने कुरा होइन अब त्यो जोस र हिम्मत कसले लिने? जसले जोस र हिम्मत लिएका थिए उनीहरुलाई सहयोग गर्नुको सट्टा निरुत्साहित गर्ने काम अहिलेका चुम्लुङका नेतृत्व, राई यायोख्खाको नेतृत्व, याख्खा छुम्मा र सुनुवार सेवा समाजका नेतृत्वले गरिरहेका छन । हिजो त्यहि संस्थाका अध्यक्षहरुले पहल गरेको गोष्ठि सेमिनारहरुबाट आएको उपलब्धिलाई अहिलेको नेतृत्वले बेवास्त गर्नु गैरजिम्मेवारी भएन र? यो काम समग्र किरात समुदायलाई अगाडी बढाउने माङ्गेना हो । यो काम सामान्य पनि होइन ।
अहिलेका किरातजन्य संस्थाका नेतृत्वहरुले दुई कुरा गर्नसक्नु पथ्र्यो । पहिलो सवंत गणनाको आधार भेटिएकोलाई अहिले प्रयोग गरेर जाने भनेर निर्णय गर्नुपथ्यो । दोस्रोकुरा चाहि गणनाको आधार भेटिएको सवंत पनि चित्त बुझ्दो भएन भने कम्तिमा अझ प्रमाणित सवंत भेट्टाउनको निमित्त किरातजन्य संस्थाहरुबीच कार्यदल बनाएर छलफल र बहस गर्नु र गराउनु पर्दथ्यो । न आफैले जान्ने न अग्रजहरुले खोजी दिएको कुरा मान्ने रबैयाले किरातहरुलाई पछाडी धकेली रहेको छ अर्थात अगाडी बढ्न खोज्नेलाई तगारो लगाई दिने काम गरिरहेको छ ।
येले तङ्बे ५०८४ कुनैपनि कोणबाट किरातहरुको प्रथम राजा यलम्बरले शासन शुरु गरेको दिनबाट गणना गर्दा पुग्दैन । किन की किरात काल भनेको सिर्फ ४ बंश अगाडीको शासक हो । हामीलाई थाह छ १३ पुस्ता शाह वंशले २४० बर्ष शासन गरयो भने शाह बंश अधि मल्ल वंश, मल्ल वंश अघि लिच्छिवी वंश र लिच्छिबी वंश अघि किरात वंश । यो संघीय गणतन्त्र सन् २०२४– २००८ मा १६ बर्ष, शाहकाल २००८ – १७६८ मा २४० बर्ष, मल्लकाल १७६८ – १२०० मा ५६८ बर्ष, लिच्छिबीकाल १२००– ३०० मा ९०० बर्ष र किरातकाल ३००– ईसापूर्व ८०० मा ११०० बर्ष हुन्छ । यसलाई आधार मान्ने हो भने राजा यलम्बरले शासन शुरुगरेको ३१२४ लगभग पुग्दछ तसर्थ ३८०३ चाहि यसको नजिक हुन जान्छ ।
येले तङ्बे भनेर जसले वि.स. २०४८ ताका पहिलो पटक शुरु गरयो उनी स्वयं गणनाको विन्दु खोज्ने सभा, समिनारमा सहभागी थिए । यदाकदा नेपाली इतिहासमा ५ हजार बर्ष अधि काठमाडौंमा किरात शासन थियो भनिएको आधारमै किरात सवंत ५०८४ चलाउनु सहि हुदै होइन र ३८०३ नै अन्तिम र सत्य पनि भन्न सकिन्दैन तर कुरा यति हो गणनाको आधार चाहि छ । भविश्यमा अर्को आधार भेटिन पनि सक्छ त्यतिन्जेल सम्म अहिले प्राप्त भएकोलाई लिएर अगाडी जादै गरौ, बैज्ञानिक क्यालेण्ड र त्यो क्यालेण्डरमा आफ्नै विशेषताहरु विकास गर्दै जाऔ भन्ने कुरा हो तर अहिले आआफै पछाडी फर्किएको अवस्था देखिन्छ जुन दुःखद कुरा हो ।
क्यालेण्डर अर्थात पात्रो भनेको पृथ्वीले सूर्यलाई लगाउने चक्करको गतिको हिसाव अर्थात पृथ्वीलाई चन्द्रमाले लगाउने चक्करको गतिको हिसाव हो वा यी दुबै चक्करको गतिको हिसाब हो, गणित हो । यो सौर्यमण्डलका ८ वटा ग्रहहरु कुनकुन स्थानमा रहेको बेला जन्मेको हो, सो ग्रहहरुको स्थान (पोजिसन) ले जन्मने बच्चामा प्रभाव हुने गरेको बैज्ञानिक तथ्यहरु छन् । क्यालेण्डर र ज्योतिष आपसमा परिपूरक हुन्छन । संसारको जुनसुकै धर्मका क्यालेण्डर यीनै २ ग्रहहरुकै गतिको आधारमा र ज्योतिष ८ ग्रहकै आधारमा हुने गर्दछ । त्यसैले ग्रहको गतिको हिसाब हामी जो कसैले गर्नु वान्छानिय हुन्छ । तसर्थ किरातहरुले पनि ग्रहहरुको स्थान (पोजिसन) पत्ता लगाउनु अर्थात शुभ र अशुभ समय पत्ता लगाउन आफले हिसाब गर्नु अपरिहार्य छ ।
अन्तमा, जसरी प्रदेश न १ मा कामकाजीको निमित्त किरात क्यालेण्डरको सपना थियो त्यसलाई अझ शसक्त बनाउनु पर्दछ । सबैले किरात यलम्बर सवंत अर्थात किरात येले सवंत भनेर एकरुपता ल्याउनु पर्दछ । गणनाको आधार नभेटिएको, तथ्य नभेटिएको ५०८४ प्रयोग नगरि कम्तिमा गणनाको बिन्दु भेटिएको ३८०३ लाई प्रायोग गर्न शुरु गरौ । अड्किएर नबसौ, पुरानै ५०८४ मा बस्नु त झनै वैज्ञानिक हुदैन । ५०८४ लाई नै माया गरेर गणनाको विन्दु खोज्नेक्रममा ३८०३ फेला परेको हो, ताकी दुई बेग्लाबेग्लै सवंत होइनन् । यदि किरातजन्य संस्थाहरुलाई ३८०३ मान्य छैन भने तुरुन्त कार्यदल बनाउ र खोज शुरु गर, अड्केर नबस र अड्काएर नराख । अडकाएर, पर्खाएर कति राख्ने एकबर्ष?, ५ बर्ष? २० बर्ष वा सयबर्ष? त्यसैले जे भेटियो अहिले त्यसैलाई टेकेर अघि बढौ भोली अकाट्य प्रमाण भेटिए नयाँलाई लिएर जाउ तर गणनाको आधार नै नभेटिएको सवंत चाहि नचलाऔ । किरात यलम्बर सवंतको नयाँ बर्षको शुभ कामना ।
१ माघ २०८०